Aamsanchar

नाफै नाफामा निगम,तेलको मूल्य घटाउन अझै मानेन

Author Image
आइतवार, जेठ ९, २०७३

इन्धन आपूर्तिमा जारी असहजताकै कारण अन्तर्राष्ट्रिय बजार अनुसार मूल्य समायोजन गर्न नसकिएको नेपाल आयल निगमका अधिकारीहरुले बताएका छन्।

उनीहरुको तर्क छ, नाफा भएसँगै निगममाथिको ऋणको ठूलो हिस्सा तिर्ने काम भएको छ जसलाई सकारात्मक रुपमा लिनुपर्छ।

मूल्य समायोजन गर्न नसकिरहेको निगमले आफ्ना कर्मचारीहरुलाई चाहिँ बोनस बाँड्ने कसरत गरिरहेको बताइन्छ।

अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढेसँगै नेपालमा पनि भाउ बढाउने नेपाल आयल निगमले अहिले घट्दा भने मूल्य समायोजन गरेको छैन।

तराई आन्दोलनका बेला नेपाल-भारत सीमा नाकामा उत्पन्न अवरोधका कारण तेल आपूर्तिमा अझै सहजता आइनसकेकोले समायोजन गर्न नसकिएको निगमका अधिकारीहरुको तर्क छ।

निगमका निमित्त नायब कार्यकारी निर्देशक सुशिल भट्टराईले भने, “डिजेल नै भनेजस्तो बजारमा दिन सकिएको छैन भने डिजेलको मूल्य घटाएर फाइदा भएन नि, हामीले खोजेको के हो भने आपूर्ति र वितरण ठिक अवस्थामा आएपछि मात्र स्वचालित मूल्य प्रणाली अनुसार अगाडि बढ्छौँ भन्ने हाम्रो मान्यता हो।”

आयल निगमले पछिल्लो ५ महिनादेखि तेलको मूल्य समायोजन गरेको छैन।

खाना पकाउने ग्यासमा बाहेक पेट्रोल, डिजेल र मट्टितेलमा उसले नाफा कमाउँदै आएको बताइएको छ।

त्यसरी भएको नाफालाई विगतको ३७ अर्ब रुपैयाँ ऋण तिर्नमा प्रयोग गरेको निमित्त नायब कार्यकारी निर्देशक भट्टराईले बताए।

उनले भने, “अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा कमी भएको कारण एउटा मौका नेपाललाई उपलब्ध भयो र हामीले ३७ अर्ब रुपैयाँ ऋणबाट ३३ अर्ब ऋण भुक्तानी गर्न सक्यौँ, त्यो राम्रो भयो नि निगमलाई।”

उनका अनुसार अबको चार महिनामा आयल निगम ऋणमुक्त हुनेछ।

ऋणमुक्त हुने अवस्थामा पुगेसँगै निगमले आफ्ना कर्मचारीहरुलाई बोनस बाँड्ने खबरहरु सार्वजनिक भएका छन्।

त्यसबारे निगमको औपचारिक धारणा चाहिँ आएको छैन।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 53

प्रतिक्रिया (०)

सम्बन्धित खबर