Aamsanchar

 राजारानी क्षेत्र पर्यटकको आकर्षणस्थल 

Author Image
सोमवार, जेठ १७, २०७३

rajarani

 

पथरी (मोरङ) ।

धिमाल जातिको उद्गमस्थल मानिएको र मोरङको ऐतिहासिक राजारानी पोखरी रहेको क्षेत्रमा होमस्टे (घरबास) को व्यवस्था भएपछि पर्यटक आकर्षित हुन थालेका छन् ।

राजारानी होमस्टे व्यवस्थापन समितिका सचिव विष्णुकुमार मगरका अनुसार अहिले पर्यटनको सिजन नभएपनि राजारानीमा भने पर्यटकको अभाव छैन । दैनिक होमस्टेमा बस्न र राजारानी पोखरी हेर्नेको भीड बढदै गएको छ ।

मोरङको लेटाङ–भोगटेनी नगरपालिकाको चुरे क्षेत्रमा अवस्थित राजारानी पोखरी र त्यस आसपासको प्राकृतिक मनोरम दृश्यमा रम्न विराटनगर, धरान, दमक, धनकुटासहित विभिन्न क्षेत्रका पर्यटक पुग्ने गरेका छन् । होमस्टेमा बस्न र पोखरी हेर्नका लागि मात्र नभएर राजारानी क्षेत्रमा पाइने १०० भन्दा धेरै प्रजातिका सुनाखरी, जङ्गली कछुवा, सेतो सर्प, अजिङ्गर र विभिन्न प्रजातिका चरा हेर्न जाने पर्यटक बढेको राजारानी पोखरी संरक्षण समितिका सल्लाहकार डिल्लीमान तामाङले बताउनुभयो ।

उहाँले भन्नुभयो, “पर्यटक बढाउन होमस्टे झन सहयोगी बनेको छ ।” राजारानी पोखरी क्षेत्र ३२ हेक्टरमा फैलिएको छ । यो ठाउँ मोरङ जिल्ला सदरमुकामबाट करिब ४० किलोमिटर उत्तरमा अवस्थित छ ।

मोरङको पथरी शनिश्चरेबाट परिवारसहित घुम्न पुगेकी सम्झना राईले भन्नुभयो, “यहाँको प्राकृतिक मनोरम दृश्यको बारेमा सुनेकी थिएँ त्यही भएर परिवारसहित घुम्न आएकी हुँ । रमाइलो ठाउँ रहेछ ।”

राजारानी पोखरीमा हरेक वर्ष वैशाखमा धिमालको महान् मेला लाग्ने गर्दछ । त्यहाँ झापा, मोरङ र सुनसरीका धिमाल पुग्छन् । धिमाल राजा युद्ध गर्न तल मधेस झरेपछि हार भएको र उनकी श्रीमतीले छोरीसहित पोखरीमा हाम फालेर ज्यान फालेपछि तीनवटा पोखरी राजा, रानी र छोरी पोखरी भनेर नामाकरण गरिएको किम्वदन्ती छ ।

भोगटेनी–४ राजारानीमा पाँचवटा घरमा परीक्षण स्वरुप होमस्टे सुरु गरिएको छ । त्यहाँ बस्नका लागि निश्चित नियम पनि बनाइएको छ । आचारसंहिता लागू गरिएपछि कुनै समस्या नआएको स्थानीय सञ्चालकले बताएका छन् । होमस्टेको व्यवस्थापन गर्ने जिम्मेवारी महिलालाई नै दिइएको छ ।

समितिकी अध्यक्ष ज्ञानीमाया मगर भन्नुहुन्छ, “हाम्रो परम्परागत नाच, रहनसहन, संस्कार र संस्कृतिको विषयमा पनि पर्यटकलाई जानकारी दिने प्रबन्ध गरिएको छ ।” स्थानीय परिकार खुवाउने व्यवस्था गरिएको र बस्नका लागि पर्यटकको चाहनाअनुसारको व्यवस्था भएको उहाँले बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 208

प्रतिक्रिया (०)