Aamsanchar

सुनसरीका तीन गाविस खुल्ला दिशामुक्त घोषणा हुदैं

Author Image
सोमवार, जेठ १७, २०७३

इटहरी।

images

सुनसरी जिल्लाका सम्पूर्ण गाविसलाई यसै आर्थिक वर्षभित्रमा खुला दिसामुक्त घोषित गरिसक्ने अभियानका क्रममा जेठ तेस्रो साताभित्रमा तीनवटा गाविसलाई नियमित रुपमा खुला दिसामुक्त गाउँ घोषणा गरिने भएको छ ।

यस जिल्लाको ३९ वटा गाविसमध्ये खुला दिसामुक्त घोषित हुन बाँकी रहेका १० गाविसमध्ये यही जेठ २३ गते हरिनगरा, २४ गते मध्यहर्साही र २५ गते देवानगन्ज गाविसलाई क्रमशः खुला दिसामुक्त गाविस घोषणा गर्ने अन्तिम तयारी पूरा भएको अभियानकर्र्मी ललिता लम्सालले जानकारी दिनुभयो ।

जिल्लास्थित राजनीतिक दलका नेता स्थानीय गाविस सरसफाइ तथा स्वच्छता समन्वय समिति युएन ह्याविट्याट वेल संस्था ,जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, जिल्ला प्राविधिक कार्यालय एवम् जिल्ला सरसफाइ तथा स्वच्छता समन्वय समिति समेतको टोलीले अनुगमन गरी ती गाविसलाई खुला दिसामुक्त घोषणाको अन्तिम तयारी गरेको हो ।

एक हजार ३२४ घर सङ्ख्या भएको हरिनगराका सम्पूर्ण घर परिवारले चर्पी बनाएर प्रयोगमा ल्याएको पाइएको र मध्यहर्साही गाविसमा बसोबास गर्दै आएका ९९६ घरमध्ये ९९ प्रतिशत घरमा चर्पी बनिसकेको र केही बाँकी रहेका घरले पनि धमाधम चर्पी बनाई रहेकाले घोषणा हुने दिनसम्ममा चर्पी बनाएर प्रयोगमा ल्याइसकिने तयारी भइरहेको छ ।

यसैगरी एक हजार २५५ घरधुरी रहेको देवानगन्ज गाविसमा पनि ९९ प्रतिशत घरले चर्पी बनाएको र केही साझेदारीमा चर्पी प्रयोग हुँदै आएकाले बाँकी केही घरमा पनि चर्पी बनाई सकिने गाविसका सचिव कोशव पोख्रेलले प्रतिबद्धता जाहेर गर्दै काम तीव्र बनाई जेठ २२ सम्ममा सबै घरमा चर्पी बनाई सकिने योजना रहेको बताउनुभयो ।

देवानगन्ज गाविसको अनुगमनपछि गाविस कार्यालयमा आयोजित प्रतिबद्धता कार्यक्रममा नेता नैनकुमार विश्वकर्मा, विवेक राई र उमेश साहले चर्पी अभियान सफल भएकाले खुला दिसामुक्त घोषण गर्न योग्य रहेको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 157

प्रतिक्रिया (०)

सम्बन्धित खबर