Aamsanchar

विहे गर्छु भन्नेले नै यौन व्यवसायमा लगाए पछि…

Author Image
मङ्गलवार, जेठ १८, २०७३

काठमाडौं–

anaitik-sambandh-2-430x336

‘अब त्यस्तो व्यापार छ भनेर मलाई त थाह नै थिएन, दुई वर्षपछि बिहे गर्छु, चिन्ता लिनु पर्दैन भनेर ल्याएको थियो, मैले पनि उसको कुरालाई विश्वास गरेर आमाबुवालाई थाहै नदिई भागेर आएँ । काठमाडौं आउँदा मेरा धेरै सपना थिए तर अहिले सबै सिसा जस्तै फुटिसकेका छन् ।’

दुई वर्षपछि विवाह गर्ने सर्तमा १४ वर्षको उमेरमा पोहोर काभ्रेबाट काठमाडौं आएकी बालिकाले उज्यालो अनलाइनसँग व्यक्त गरेको पीडा हो यो । काभ्रेबाट फकाएर काठमाडौं ल्याउने मान्छे (जसले उनलाई विवाह गर्छु भनेर काठमाडौं ल्याएका थिए)ले उनलाई यौन व्यवसायमा लगाए । झण्डै १ वर्ष यौन शोषणमा परेकी उनलाई अहिले माइती नेपालले उद्धार गरेको छ र उनी माइती नेपालको संरक्षणमा बसिरहेका छिन् ।

उनी मात्र होइन चिनजानका आफन्त, साथीभाइ र छिमेकीको बहकावमा धेरै बालबालिका यस्तै शोषण भोग्न बाध्य छन् ।

नेपालमा बालयौन दुव्र्यवहार र शोषण वर्षेनी भुसको आगो जस्तै फैँलिदो छ । बढ्दै गएको बालबालिकामाथि हुने यौनदुव्र्यवहार र शोषणले आफ्ना छोराछोरी कसैको लोभ लालचमा पर्छन् की भन्ने चिन्ता परिवारका सदस्यमा थपिएको छ ।

तीन छोरीकी आमा ६१ बर्षीय काभ्रेकी बिना उदास भन्नुहुन्छ, ‘मेरा छोरीहरु सोझा छन्, छोरीहरुकै पिरले गर्दा घरबाहिर निस्कन सक्दिन । जेसुकै होस् यसो घुमफिर गर्न र पुराना दौंतरी भेटेर भलाकुसारी गर्न जान्छु भन्छु तर भित्रैदेखि मनले फिटिक्कै मान्दैन’ उहाँले समस्या देखाउनुभयो, ‘जाँडरक्सीको नशामा बाटोघाटोमा हिड्ने धेरै हुन्छन्, जाँड नै नखाएका भएपनि भरभरोसा कसैको हुन्न त्यहि भएर कोहि आउला फकाउला अफ्ठ्यारोमा पर्लान भन्ने चिन्ता हुन्छ ।’ अभिभावकलाई आफ्नोभन्दा पनि छोराछोरीको बढी चिन्ता हुनु स्वभाविकै हो । तर घरभित्रै र आफन्तबाटै पनि बालबालिका सुरक्षित छन् भन्न सकिने अवस्था छैन ।

बालबालिकालाई यौनव्यवसायमा लगाइनु र उनीहरु शोषणमा पर्नुका पछाडी गरिबी, अशिक्षा, मनोरञ्जनसँगै राम्रो लाउने र खाने सपना नै मुख्य कारण हुन् भन्नुहुन्छ महिला मञ्च नेपालकी अध्यक्ष कविता राना । ‘बाँच्नकै लागि एउटी आमाले यौन व्यवसाय गर्नुपर्ने बाध्यता छ, तर आमासँगै रहेका छोराछोरी दुराचारीको निशानामा पर्छन्’ उहाँ भन्नुहुन्छ ‘त्यतिमात्र होइन नाङ्गलो पसल, वा चिया पसल जे गरेको भएपनि ग्राहकले बालबालिकालाई आँखा लगाउँछन् त्यसको प्रतिवाद गर्ने वा जोगाउने कुरामा अभिभावकको चासो हुँदैन । यो भन्दा डरलाग्दो अवस्थालाई के भन्ने ?’

शहर बजारमा व्यावसायिक स्थानदेखि सडकमा हुने यौन व्यवसायमा बाल यौनशोषण र दुव्र्यवहार बढेको केन्द्रीय बालकल्याण समितिले जनाएको छ । बालकल्याण समितिका कार्यकारी निर्देशक तारक धितालले व्यावसायिक स्थान, पर्यटन र सडकसम्म नै बालबालिकामाथि यौनशोषण र दुव्र्यवहार बढेको बताउनुहुन्छ ।

माइती नेपालको सन् २०१० को तथ्यांक अनुसार झण्डै २५ हजार जना डान्स तथा क्याबिन रेष्टुरेन्टमा कार्यरत थिए । ती मध्ये अधिकांश बालिका रहेको माइती नेपालले जनाएको छ । यस्ता व्यवसायमा संलग्नमध्ये ९३ प्रतिशतले कामको क्रममा यौनजन्य दुव्र्यवहार सहनुपरेको माइती नेपालको प्रतिवेदनमा उल्लेख छ । त्यस मध्येका ३७ प्रतिशत बालिकाले ग्राहकलाई यौन सेवा प्रदान गर्ने गरेको केन्द्रीय बालकल्याण समितिले जनाएको छ ।

नेपालमा बालयौन शोषण भोग्नेहरुको यकिन तथ्यांक नभएपनि काठमाडौंमा ११ हजारदेखि १३ हजारसम्म महिलाहरु मनोरञ्जन क्षेत्रमा लागेका र एक तिहाइ १८ वर्षभन्दा मुनिका रहेको यसक्षेत्रमा काम गर्ने गैरसरकारी संस्थाको तथ्यांक छ । केन्द्रीय बालकल्याण समितिका अनुसार काठमाडौं मात्र होइन पोखरा, विरगंज, विराटनगर, बुटवल जस्ता शहरमा हजारौंको संख्यामा यस्ता बालबालिका छन् ।

आर्थिक अवस्था कमजोर भएका परिवारका बालबच्चालाई निःशुल्क पढाउने, रोजगारी दिने, मनोरञ्जन वा खेलकुदमा लगाउने भन्ने जस्ता स्वरुपमा बालबालिका यौनशोषणमा परेको  केन्द्रीय बालकल्याण समितिका अध्यक्ष डिल्लीराम गिरीले बताउनुभयो । यसले बालयौन शोषणको डरलाग्दो रुप देखाउँछ । बालयौन शोषण र दुव्र्यवहार कुनैपनि बालबालिकाको गल्ती पक्कै होइन । तर यसलाई रोक्ने गरी काम हुन भने सकिरहेको छैन ।

केन्द्रीय बालकल्याण समितिका अध्यक्ष गिरीका अनुसार बालयौन दुराचारको कुरा जताततै सुनिन्छ तर मुल जरो के हो भन्नेमै पुग्न गाह्रो छ । समाजमा प्रतिष्ठा, लाज र डरकै कारण यस्ता घटना लुकेका छन् । घटना लुकाउनु अपराधिलाई अझ प्रोत्साहन दिनु हो ।

‘हामी अपराध कम गर्न र अपराधीलाई कडा कारवाही गर्न लागेका छौँ, यो जुन भन्न पनि नसकिने गलत र घिनलाग्दो सोँच छ यसलाई रोक्न सिङ्गो समाज, परिवार र राज्यले पनि ध्यान दिनुपर्छ’ अध्यक्ष गिरीले भन्नुभयो, ‘बालबाललिकामाथिको दुव्र्यवहार र यौनशोषण बालअधिकारको उल्लंघन सँगै फौजदारी अपराध पनि हो ।’

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 171

प्रतिक्रिया (०)

सम्बन्धित खबर