Aamsanchar

ओ…खरबुजा…खरबुजा…! (भिडियो सहित)

Author Image
बुधवार, जेठ १९, २०७३

indira mem
इन्दिरा प्रसाई
•••
वातावरण सूर्योदयको भए पनि
अन्धकारले छोप्ला झैँ थियो
त्यसैबेला कतै नजिकै
कसैको वार्तालाप
चर्काचर्कीजस्तै सुनियो-

तिमीहरूले हाम्रो देश खोस्यौ”
गहुँगोरो स्वरले कालो स्वरलाई
सम्बोधन गरेको थियो ।

अरे ! कुन हिसाबले
यो देश तिम्रो हो यार ?”
चर्कैसँग कालो स्वरको
प्रतिवाद आएको थियो ।

कसले भन्यो यो देश तिम्रो हो ?”
कालो स्वरको निष्कर्ष थियो ।

मेरा पितापुर्खाले आर्जेकाले
यो देश मेरो हो
तिमीहरू त सीमाना पारीबाट
लुसुलुसु घुसेका हौ !”

गहुँ गोरो स्वर चिच्याउँदै थियो ।
गहुँ गोरेको जोशले
निरीह टेबुलको सीसा
झुरर्किँदै थियो;
प्रतिउत्तरमा गगनभेदी कालो खित्का
गर्जेको थियो ।
कालो मुहारमा सेता दाँत
बेस्सरी चम्केका थिए ।
शायद विजयोन्मादको कान्तिले
कालो चेहेरा धपक्क बलेको थियो ।
गोरो छालाको तेजभने
सुदुर कतै हराउँदो थियो ।

एकै क्षणको मौनपछि
फेरि कालो आवाज सुनिएको थियो-
सुन्न सक्छौ मित्र !
तिम्रो भनेको देशको कुरा ?
लौ सुन ! “
अब कालो स्वर पुरै जोशिएको थियो
तर उ पुरा होसमा नै थियो
तिम्रो भनेको यस देशका
भताभुङ्ग, भत्केका घर सडक
र धुवाँ धुलोको कुइरी मण्डलले भरिएको
आकाश मुन्तिर
फोहोरको डङुर थुप्रिएका
सडकनाम हुनुकै
बेइज्जती सडकहरूमा
चर्को घाम नभनी
आँधीहुरी, वर्षा र भूँइचालोसमेत नभनी
मेरा बा र बाजेहरूसमेत
ओ…खरबुजा…खरबुजा भन्दै
मरूञ्जेल चिच्याउँथे
त्यसबेला पङ्खा वा एसी जडित कोठामा
रमाइरहेका तिम्रा
उमेर पुगेका हजुरबा हजुरआमा
जाँगर मरेका बाआमा
दाजु भाउजु वा काका काकी
जोसुकै भए पनि
अकर्मण्य सबै
र सबै सुखपिपासुहरू भने
पुङ न पुच्छरका कोठे राजनीतिमा
उचालिन्थे मच्चिन्थे र गल्थे
अनि मेरै बा बाजेले
भोक प्यास मेटाइदिने
धोको पर्खेर बस्थे
आँखा ताकेर बस्थे ।

तिमीलाई के थाहा
दिनभरि दिनभरि
ओ…खरबुजा… खरबुजा…
स्याउ, केला… गरेर
अथवा बोतल, कागज…
कवाडी सामान…
गर्दै चिच्याउन विवश मेरा बा
बेलुकी मेरी आमाले
उनलाई हेरेर मुसुक्क मुस्कुराउँदा पनि
असमय ओइलाउन वाध्य मेरा बाको वैंस
दुलहनीयाँ” भन्न सक्तैनथ्यो ।

थाहा छ तिमीलाई
मित्र मेरी यौवनज्वाला आमासँग
आँखा जुधाउन पनि सँधैजसो
असमर्थ हुन्थे
मेरा बाका एकजोडी आँखा !

थाहा छ मित्र !
चर्को घाममा दिनभरि
चिच्याउँदा चिच्याउँदा
कण्ठ सुकेका मेरा बा
हनहनी ज्वरोको भुङरोमा भएको
मलाई पनि
कठै मेरो छोरा”
नै मात्र पनि
भन्न सक्दैनथे ।

मित्र !
भन्न सक्छौ तिमी
यतिबेला देश खोज्ने तिम्रो जाँगर
त्यतिबेला कता थियो ?

आद्र भएको कालो स्वर
एकैछिन बिसाएको थियो;

मित्र !”
छातीभरि अटेसिएको कालो पीडा
पोखिँदै थियो
पूर्खौदेखि थिल्थिलिएको व्यथा
घोप्टिँदै थियो ।
कठ्याँग्रिँदो जाडोसँग
कुस्ती खेल्दै मेरा बा
न्यानो भएर बसेका
तिम्रा परिवारका लागि
कहिले सुन्तला… सुन्तला…
गर्दै चिच्याउँथे
कहिले अनार… मौसमी…गर्थे ।
मित्र !
तिमीहरूका लुगा सिउने मेरै बा
सिरक डसना तग्ने मेरै बा
तिम्रा बा, हजुरबा र काकाहरूका
दारी, कपाल काट्ने वा खौरने पनि मेरै बा
तिम्री आमा र दिदीबहिनीका
थरिथरि र परिपरिका
श्रृङ्गार सामाग्रीमात्र हैन
तिम्रा परिवारका
थोत्रा जुत्ता
भत्केका छाता
सिउने, मरमत गर्ने मेरै बा हजुरबा !

अनि सियोदेखि हात्तीसम्म
मेरै मुलघरबाट तिम्रा घरसम्म
ओसारपसार गर्ने मेरै बा हजुरबा !
तिम्रो खेत खन्ने जोत्ने मेरै बा
तिमीहरूका घर बनाउने
धारा पानी अथवा बिजुली
र टीभी हरेक सुख सुविधा
जेसुकै पनि ल्याउने
पुर्याउने वा बनाउने पनि मेरै बा !

तिमीहरूका ढोकाढोकामा
आलु पियाज, बन्दाकाउली
अथवा किसिमकिसिमका तरकारी
पुर्याउने मेरै बा
तिम्री आमा र दिदी बहिनीका
भित्री पोशाक र तन्नासमेत
हातहात र गाथगाथमा
पुर्याउने पनि मेरै बा
तिम्रो भनाउँदो देशको
सकेसम्मको बन्दव्यापार मात्र हैन
तिम्रा प्राण प्यारा नेताहरूको
पालन पोषणदेखि
नित्य निर्देशन गर्ने समेत मेरै बा !

जे होस मित्र !
तिमीलाई पनि थाहै हुनु पर्ने हो
तिमीहरूको खुल्ला सिमानादेखि
नाकाबन्दीसम्म
तिम्रा भान्साका जिरा मरिचदेखि
तिमीहरूका अौषधी उपचारसम्म
अथवा तिम्रो मुखको माडदेखि
तिम्रा आङ ढाक्ने लत्ता कपडासम्म
सबै र सबै धान्ने पनि मेरै बा !
केही नभए
खाली सीसी बोतल बोक्ने पनि मेरै बा
बोतलका बोतल
रक्सी धोकेर रित्याउने तिम्रा बा !

रक्सीको नसामा
मदमस्त हुँदै स्वास्नी ठटाउने तिम्रा बा
थोत्रा राजनीतिका बोक्रा भरिएका
पत्रपत्रिकाको रवाफ लाउने तिम्रा बा
तिम्रा बाआमाले थुपारेको
तिम्रो घरको
फोहोर र मैला सफा गरिदिने भने मेरै बा !

के गर्छौ र मित्र !
तिम्रा बा र बाजेलाई
तिम्रो देशभरि जताततै छरिएका
ससाना पैसा टिप्ने जाँगर
कहिल्यै भएन
उनीहरूले हाम्रो बा बाजेले जस्तो
थोपाथोपा सँगालेर
गाग्री कहिल्यै भरेनन् ।
तिम्रा बा र बाजेलाई त
इज्जत् , प्रतिष्ठा र स्वाभिमानको कमाई होइन
जस्तै भए पनि
जे गरि भए पनि
रातारात अपार धनी हुनु थियो
भ्रष्टाचार, अनाचार, अतिचार
अथवा
माटो र सन्तान बेचेरै भए पनि
राष्ट्रकै स्वाभिमान बन्धकै राखेर
अथवा पराईलाई सुम्पेरै भए पनि
पुस्ता, पुस्ता र सात पुस्तासम्मले
बसीबसी खानपुग्ने गरी
बैँकमा पनि नआँट्ने गरी
पैसा अथाह मात्र पैसा
केवल पैसै मात्र चाहिएको थियो !
•••
मित्र ! के तिमीलाई थाहा छ ?
तिम्रा बालाई मात्र होइन
तिम्री आमालाई मात्र होइन
तिम्रा हजुरबा र तिम्री हजुरआमालाई पनि
न तिमी चाहिएथ्यौ
न त तिम्रो देश नै चाहिएको थियो ।
नत्र किन त
तिमी जन्मनु अघि नै
आफ्नो उर्वर खेतीबारीको कमाई छोडेर
तिम्रा बा अरबको ज्वालामुखीमा
पैसा टिप्न गएथे ?

लौ भन मित्र !
किन तिम्री आमा र सानीमाहरू
तिमीहरूलाई दूधमुखे नै छोडेर
पैसाको बोट गोड्न
इजरायल, दुबई, जापान वा जतासुकै गएथे ।

तिम्रा देशका सरकार भनाउँदाहरू पनि
तिम्रा वैंशालु बाआमा
काका, दाजु अथवा सानीमा
र युवती दिदी, बहिनीको युवाश्रम जति
विदेशमा बेचेर आफू मोजमज्जा गर्थे
उनीहरूले नै त
युवा र बलिया पाखुराजति
विदेशीलाई वेचेर
देशलाई दिन दिनैजसो वृद्धाश्रम
र अनाथालय बनाएथे ।

सुन मित्र ! तिमीलाई थाहा छ के ?
तिम्रा हजुरबाको एक्लो मलामी मेरै बा
तिम्री हजुर आमालाई
वृद्धाश्रमसम्म पुर्याउने पनि मेरै बा !
•••
बाआमा हुँदाहुँदै पनि
अनाथजस्तो हुर्केका तिमीलाई
न धर्मसंस्कार थाहा छ
न त नीति र व्यवहार नै थाहा छ ।

अमाबाको मायाको साटो
पिता माताको बलियो संरक्षणको साटो
केवल पैसाको साथ पाएका तिमी
नसा,नसा र नसामा
जथाभावी जीवन बाँचेका तिमी !

ए मेरो प्यारो मित्र !
यसबेला बेहोसी मै तिमी बर्बराउँदै छौ
तिमीलाई थाहा छ मित्र ?
देश चाहिनेले
बिरामी देशको उपचार गर्नुको साटो
देशै छोडेर भाग्नु हुँन्नथ्यो मित्र !

देश चाहिनेले
देखादेखी पराईका लागि
देशका सबै ढोका
हृवाङ्ङ पार्नु हुन्नथ्यो मित्र !

देश चाहिनेले
दिनदिनै परावलम्बी पनि
बन्नै हुन्नथ्यो मित्र !

देश चाहिनेले
आफ्नै देशमा पाखुरा चलाउन जान्नु पर्छ
देश चाहिनेले
देशको रक्षा गर्न सक्नु पर्छ
देश चाहिनेले
देशका लागि बाँच्न र मर्न जान्नु पर्छ ।
•••
भन ! देश खोसिएको ए मेरो प्यारो मित्र
भन !
तिम्रा पुर्खाले फालेको यो देश
मेरा पुर्खाले टिपेको यो देश
तिम्रा पुस्ता पुस्ताले बेहाल छोडेर
घिनलाग्दो पारेको यो देश
मेरा पुर्खाले धोईपखाली गरेर
सफा पारेको यो देश
तिम्रा पुस्तापुस्ताले
चिथ्रा, चिथ्रा पारेको यो देश
मेरा पुर्खाका परिश्रमले सिँगारेको यो देश
भन मित्र भन !

बेला बितेपछि
कर्तव्यमा चुकेपछि
कसरी तिम्रो हुन्छ यो देश
होसमा आउ र ठहर गर मित्र !
कसरी हुनसक्छ यो तिम्रा देश ?
किन हुनसक्छ यो तिम्रो देश ?
मित्र ! खोइ तिम्रो देश ?
•••
त्यसपछिको समय
एकदम मौन बितेको थियो
कालोस्वर अब सायद थाकेको थियो
गहुगोरे पनि
वातावरणकै मौनमा
एकाकार थियो
तर उसका एकजोडी आँखा
केही गम्दै थिए ।

आफुभित्र कतै
केही दुखेको
बेस्सरी चिमोटिएको
बेग्लै खाले अनुभूतिमा
आफैँसँग उसको मनोसंवाद अग्रसर थियो ।

केही बिग्रेको छैन
अझै समय गुज्रेको छैन ।
केही गल्ति पनि भए होलान्
हामीले आफूलाई सच्याउन पाउनु पर्छ
देश नभएको मान्छे भूगोलमा हराउँछ
देशका लागि होइन
हाम्रै लागि हामीलाई
एक, दुई, तीन देश चाहिन्छ
मलाई देश चाहिन्छ, चाहिन्छ
हामीलाई देश चाहिन्छ, चाहिन्छ
जसरी पनि जे गरि भए पनि
हामीलाई हाम्रो देश चाहिन्छ” ।
•••
यतिखेर वातावरणमा
बिहानको कलिलो
तर रातो घाम
दीव्य अठोटका साथ
मुस्कुराउँदै अघि बढिरहेको छ ।
झुण्डका झुण्ड चराहरू
वासबाट निस्केर आकाशमा छरिँदै
नित्यगानको अभ्यासमा
लागिसकेका छन्
शङ्खघण्टको झङ्कारले
जताततै जागरणको व्योति बलिसकेको छ ।
https://www.youtube.com/watch?v=-uqdbSsP-wo

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 226

प्रतिक्रिया (०)