Aamsanchar

एसएलसी ग्रेडीङले उच्च माध्यामिक तहमा भर्नाबारे अझै अन्यौल

Author Image
शुक्रवार, जेठ २१, २०७३

college_uniform

झापा ।

यो वर्षदेखि शुरु भएको नयाँ एसएलसी ग्रेडीङ प्रणाली अनुसार विद्यार्थीलाई कसरी भर्ना लिने भन्ने विषयको अन्यौल नहटेकोले आ-आफ्नै तरिकाले भर्ना लिने तयारी भइरहेको उच्च माध्यामिक विद्यालयका अधिकारीहरुले बताएका छन्।

एसएलसी परिक्षाको नतिजा आउन केही दिनमात्रै बाँकि रहँदा शिक्षा मन्त्रालयले भने विद्यार्थीको योग्यता अनुसारको मौका दिनुपर्नेमा जोड दिएको छ।

एसएलसी परिक्षाको नतिजा आउनै लागिसकेकोले अधिकांश कलेजहरुले आ-आफ्नै ढंगले विद्यार्थी भर्ना गर्ने नीति लिएको उच्च माध्यामिक विद्यालयका अधिकारीहरुले बताएका छन्।

काठमाण्डूमा रहेको प्राइम कलेजका प्रधानाध्यापक नरेश श्रेष्ठले भने, ” हाम्रो आधिकारिक निकाय भनेको उच्च माध्यामिक शिक्षा परिषद हो। तर त्यहाँबाट अहिलेसम्म कुनै स्पष्ट निर्देशन नआएकोले हामीले गुणस्तरलाई ध्यानमा राख्ने हो भन्ने र सबैभन्दा तल ‘सी-प्लस’ सम्मलाई व्यवस्थापनमा भर्ना लिने हो की भन्ने सोच बनाएका छौं।”

शिक्षा मन्त्रालयले भने उच्च शिक्षा परिषदसंगको छलफल अनुसार नै ग्रेडीङ प्रणाली लागु गरिएकोले त्यसमा दुविधा नभएको बताएको छ।

यद्यपी कलेजहरु यसरी अन्यौलमा रहेको बताइरहँदा शिक्षामन्त्री गिरिराजमणी पोखरेलले भने यसबारे एसएलसीको नतिजा आउनु अगाडि छलफल गरेर केही निस्कर्षमा पुग्ने बताए।

उनले भने, “गुणस्तर बनाउने कोणबाट छलफल भएका छन्। कार्यदल बनेको छ। त्यस्ले काम गरिरहेको छ। तर एसएलसीको नतिजा आउनु अगाडी नै आवश्यक निर्णयहरु हुनेछन्।”

शिक्षा मन्त्रालयले ‘ए प्लस्’ देखि ‘इ’ सम्मको नौ वटा ग्रेड राखेर कोही पनि विद्यार्थी अनुत्तिर्ण नहुन् र उनीहरुले व्यक्तिगत क्षमताको आधारमा पढाइ अगाडि बढाउन सकुन् भन्दै यो वर्षदेखि ग्रेडीङ प्रणाली लागु गरेको थियो।

शिक्षा मन्त्रालयकी सह-प्रवक्ता सरस्वती पोखरेलले यो पद्धतिले सबैलाई आफ्नो क्षमता देखाउने अवसर दिने बताइन्।

उनको भनाइ थियो, “‘डी’ ग्रेड ल्याउनेले कुनै विषयमा म फेरि परिक्षा दिन्छु। माथिल्ला तहमा आउँछु भनेर पढाइ दोहोर्याउने बाटो पनि खुल्ला छ। अथवा एसएलसीपछि म प्राविधिक क्षेत्रमा जान तालिम लिन्छु भनेमा पनि त्यो विकल्प पनि खुल्ला छ।”

पहिलो पटक लागू गरिएकोले ग्रेडीङ प्रणाली कार्यान्वयनका विषयमा स्वयं विद्यार्थी, उच्च माध्यामिक विद्यालय र शिक्षकहरुबीच नै अन्यौल देखिंदै आएको वीवीसीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 209

प्रतिक्रिया (०)

सम्बन्धित खबर