Aamsanchar

अज्ञात रोगले तीनको मृत्यु,गाउले आतंकित

Author Image
आइतवार, जेठ २३, २०७३

Udayapur

 

गाईघाट (उदयपुर)।

उदयपुर जिल्लाको पश्चिमी पहाडी क्षेत्रको हर्देनी गाविसमा अज्ञात रोग फैलिँदा १० दिनभित्र तीन जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा हर्देनी–२ का ३० वर्षीया सविना नेपाली, १८ वर्षीया भीमकुमारी नेपाली र ५५ वर्षीय गङ्गाबहादुर परियार रहेका छन् ।

जेठ १० गतेदेखि सो क्षेत्रमा अज्ञात रोग फैलन थालेपछि १० दिनभित्र तीन जनाको मृत्यु भएको स्थानीय शिक्षक नवीन कार्कीले बताउनुभयो ।

सुरु सुरुमा घाँटी सुन्निने, बिरामीको श्वासप्रश्वास प्रक्रियामा अवरोध हुने र शरीर सुन्निँदै गएर तीनदेखि पाँच दिनभित्र बिरामीको मृत्यु हुने गरेको अर्का स्थानीयवासी कृष्णप्रसाद खत्रीले बताउनुभयो ।

यस विषयमा जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका सूचना अधिकृत दुनियाला यादवले अज्ञात रोगका कारण हर्देनीमा तीन जनाको मृत्यु भएको बताउनुभयो ।

दुई जना बिरामीको उपचारका लागि सुनसरीको धरानस्थित बिपी मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको र एक जनाको कटारी अस्पतालमा मृत्यु भएको यादवले जानकारी दिनुभयो ।

बिरामीको रोग धरानमा पनि पत्ता नलागेका कारण शनिबार जिल्ला अस्पताल उदयपुरबाट दुई जना डाक्टरसहित अन्य पाँच जना स्वास्थ्यकर्मीको टोली हर्देनीतर्फ अध्ययन गर्नका लागि पठाइएको यादवले बताउनुभयो ।

त्यसैगरी हर्देनी–२ कै निर्मला राईको अवस्था पनि चिन्ताजनक भएका कारण काठमाडौँ पठाइएको छ ।
गाउँका अन्य मानिस पनि बिरामी हुने क्रम बढ्दै जान थालेपछि अहिले हर्देनी, लेखानी क्षेत्रमा जनजीवन त्रसित बन्दै गएको स्थानीयवासी दिपेश राउतले बताउनुभयो ।

अज्ञात रोग फैलिन थालेपछि हर्देनी गाविस वडा नं २ मा अन्य वडाका मानिससमेत जान डराएको स्थानीयवासी बताउँछन् ।

समयमा नै स्वास्थ्य मन्त्रालयबाट विशेष टोली नआएर सो क्षेत्रको स्थिति भयावह हुने स्थानीयवासी शिव खत्रीले बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 205

प्रतिक्रिया (०)

सम्बन्धित खबर