काठमाडौं:
परीक्षा नियन्त्रण कार्यालयले यस वर्षको एसएलसी परीक्षाको नतिजा असार लाग्नेबित्तिकै सार्वजनिक गर्ने भएको छ ।
कार्यालयले नतिजा सार्वजनिक गर्न आन्तरिक गृहकार्य तीव्र बनाएको छ । परीक्षानियन्त्रक कृष्णप्रसाद काप्रीका अनुसार सबै उत्तरपुस्तिका परीक्षण सकेर प्राप्तांकलाई कम्प्युटरमा इन्ट्री गराउने काम भइरहेको छ । दुई दिनभित्रमा सबै प्राप्तांक इन्ट्री गरिसक्ने पनिकाको योजना छ ।
कार्यालयले हरेक विद्यार्थीको प्राप्तांकलाई दुईवटा कम्प्युटरमा इन्ट्री गराउँछ । उक्त काम सकिएपछि दुईवटा कम्प्युटरमा इन्ट्री गराइएको प्राप्तांक एउटै छ कि छैन भनेर रुजु गरिन्छ ।
‘यसो गर्दा कुनै विद्यार्थीको विषयअनुसारको प्राप्तांक सही छ कि छैन भन्ने पत्ता लगाउन सजिलो हुन्छ । यति गर्न सकियो भने नतिजा सार्वजनिक भइसकेपछि विद्यार्थीले समस्या बेहोर्नुपर्दैन भन्ने हाम्रो भनाइ हो’, काप्रीले भने ।
योजनाअनुसार असारको तीनचार गतेभित्रमा नतिजा सार्वजनिक भइसक्नेछ । ‘असारको पहिलो साताभन्दा पर जाँदैन’, काप्रीले भने, ‘सकेसम्म छिटो नतिजा सार्वजनिक गर्छौं ।’
कार्यालयले यसपटकको एसएलसी चैत १८ गतेदेखि सञ्चालन गरेको थियो ।
अघिल्लो वर्षको तुलनामा १३ दिन ढिलो गरी परीक्षा सञ्चालन गरिएको भए पनि नतिजा भने छिटो सार्वजनिक हुन लागेको हो । परीक्षा सञ्चालन हुनेबित्तिकै उत्तरपुस्तिका परीक्षण केन्द्रमा पुर्याउन लाग्ने समय, परीक्षण केन्द्रमा परीक्षण गर्न लाग्ने समयावधि तथा परीक्षण गरेपछि कति दिनभित्र केन्द्रमा नतिजा पठाउनेसम्मका विषयमा कार्ययोजना बनाइएकाले काम छिटो भएको काप्रीले बताए ।
परीक्षामा नियमित, आंशिक तथा प्राविधिक धारका छात्रा र छात्र गरी ६ लाख १५ हजार ५ सय ५३ जना विद्यार्थी सहभागी छन् । पनिकाको तथ्यांकअनुसार यस वर्ष छात्रको तुलनामा ३६ हजार १ सय ३५ जना बढी छात्रा परीक्षामा सहभागी छन् । कुल परीक्षार्थीमध्ये सामान्य धारका नियमिततर्फ ४ लाख ५२ हजार ८ सय ८१ जना छन् । तीमध्ये दुई लाख २७ हजार ५ सय ३५ जना छात्रा तथा दुई लाख २५ हजार ३ सय ४६ जना छात्र छन् ।
त्यस्तै आंशिकतर्फ ९७ हजार ३६ जना छात्रा तथा ६२ हजार ३ सय ८१ जना छात्र गरेर १ लाख ५९ हजार ४ सय १७ जना सहभागी छन् । प्राविधिक धारका ३ हजार दुई सयजना परीक्षार्थी छन् । त्यसमा १ हजार २ सय ७३ जना छात्रा तथा १ हजार ९ सय ८२ जना छात्र छन् ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 172