Aamsanchar

              चौघराको जिर्णोद्धार शुरु, सहयोगका लागि आव्हान

Author Image
शुक्रवार, जेठ २८, २०७३

siwakoti kul ghr

[भरत शिवाकोटी / कृष्ण उदाशी]

 दोलखा ।

दोलखा जिल्ला सुनखानी गा. वि. स. वडा नं.- १ मा रहेको शिवाकोटीहरुको कुल घर चौघराको जिर्णोर्द्धार गर्ने काम शुरु भएको छ । करिब ३०० बर्षभन्दा पहिले शिवाकोटीहरुले मान्दै आएका प्रथम जिजु गणेश उपाध्यायका नाती गोवर्दन र पनाती महेश्वरले तात्कालीन समयमा बनाएको उक्त घर दरबार जस्तै भएको हुनाले यसलाई चौघरा दरवार समेत भनिन्छ । श्री ५ पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्नु पूर्व नै निर्माण भएको यो दरवार त्यो क्षेत्रको राजदरवार नै थियो । श्री ५ पृथ्वीनारायण शाहले दोलखा आक्रमण गर्दा उपेन्द्र शिवाकोटीसँग ३ दिनसम्म युद्ध भएको र उपेन्द्रले युद्ध हारेपछि उनलाई सर्वस्व सहित हरण गरिए पनि पछि केही जमिन फिर्ता पाएको भन्ने कुरा नेपालको बृहद एकीकरण नामक पुस्तकमा इतिहाशको रुपमा भेटिन्छ । ४० वटा अत्यन्तै कलात्मक थाम ४ प्रवेशद्वार ४ माथि तलामा जाने ढोका, अन्य ५५ भन्दा बढी कोठाहरु तथा १०२ वटा झ्याल भएको उक्त घरको छानो भने एकातिर होचो रहेको छ र यस्तो रहनुमा आ–आफ्नै मत रहेको छ । सोही समयको आसपासमा शिवाकोटीहरुका पुर्खाले चौघराको जस्तै कलात्मक थाम तथा बुट्टामा सजाएर बनाइएको कुल देवता कालीनागको मन्दिर भने लडन लागेको हुनाले पहिले नै भत्काइसकिएको छ ।                            विभिन्न प्राकृतिक तथा दैविक विपत्तिहरु छिचोल्दै आएको यस घरलाई २०५३ साल साउन ११ गतेको पहिरोले भने निक्कै क्षति पुर्याएको थियो र यसको मर्मत संभारका निमित्त चौघरा संरक्षण समिति गठन गरी यसले विभिन्न अल्पकालीन मर्मत गरेको थियो । यही चौघरा संरक्षण समितिको अगुवाइमा शिवाकोटीहरुको भेला तथा बैठक दोलखा सदरमुकाम चरिकोट र काठमाण्डौमा सम्पन्न गर्दै शिवाकोटी समाज नेपालको गठन भयो । हाल शिवाकोटी समाज नेपालका अध्यक्ष धुर्वकुमार शिवाकोटी हुनुहुन्छ । उहाँका अनुसार चौघरा दरवार शिवाकोटीहरूको स्वामित्वमा रहे पनि खासमा यो राष्ट्रकै पुरातात्विक सम्पति हो र यसलाई संरक्षण तथा सम्बर्द्दन गर्नुमा राष्ट्रको पनि दायित्व देखिन्छ । यसको संरक्षणका लागि उत्तर, पूर्व र दक्षिणमा जम्मा सात रोपनी जग्गा केही खरिद र केही अनुदानमा प्राप्त गरी विभिन्न अत्यावश्यक संरचनाहरू निर्माण गर्नुपर्ने उहाँको धारणा छ र काम पनि सुरु भइसकेको अवस्थामा २०७२ साल बैशाख २९ गतेको भूकम्पले थप क्षति पुरयाएपछि भने योजना नै परिवर्तन गर्नु परेको छ ।

२०७२ सालको विनाशकारी भुकम्पले धेरै नै क्षति पुर्याएको पुर्खाको इतिहास, सम्पूर्ण शिवाकोटीहरुको मुल थलो तथा कुल घरलाई जोगाउनै पर्ने निष्कर्षका साथ शिवाकोटी समाज नेपालको अगुवाइमा ‘’ चौघरा जिर्णोर्द्धार महाअभियान २०७३ ‘’ शुरु गरिएको शिवाकोटी समाज नेपालका अध्यक्ष शिवाकोटीले जानकारी दिनुभएको छ । उहाँले हाल शिवाकोटी समाजको कोषमा रहेको केही रकम, शिवाकोटी समाज नेपाल, झापाबाट प्राप्त ५ लाख रुँपैया र सहयोग स्वरुप प्राप्त रकमलाई एकमुस्ठ पारी कामको शुरुवात गरिए पनि यस अभियानलाई सम्पूर्ण शिवाकोटीहरुले सहयोग गर्नुहुने रकमबाट सफल बनाउन कोशिस गरिने र बाँकी अपुग रकमका लागि पुरातात्विक महत्व बोकेको घर भएको हुनाले नेपाल सरकारले समेत सहयोग गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

सहयोग संकलनका निमित्त देश तथा विदेशमा विभिन्न माध्यमसँगै सामाजिक सन्जाल फेसबुकलाई समेत प्रयोग गरिएको शिवाकोटी समाज नेपालका सदस्य तथा शिवाकोटी समाज नेपाल द्वारा निर्माण गरिएको श्री काली नागेश्वर शिव मन्दिर, काठमाण्डौका कोषाध्यक्ष समेत रहनु भएका पुनर्निमाण आर्थिक संयोजक बालगोपाल शिवाकोटीले जानकारी दिनुभएको छ । शिवाकोटी बन्धु नामको फेसबुक मार्फत धेरै बन्धुहरु माझ सुचना पुगेको र सहयोग रकमको घोषणा शुरु भएकोप्रति खुशी व्यक्त गर्दै उहाँले युएईमा रहेर यस कार्यमा सहयोग गर्दै आउनुभएका भरत शिवाकोटीप्रति धन्यवाद व्यक्त गर्नुभएको छ । हालसम्म २ हजारदेखि एक लाख ५ हजारसम्म सहयोग गर्ने प्रतिवद्धता विभिन्न देशमा रहनुहुने शिवाकोटीहरुबाट आएको जानकारी दिँदै सामाजिक सञ्जाल फेसबुक शिवाकोटी बन्धु नेपालका एडमिट भरत शिवाकोटीले सो रकम सोझै शिवाकोटी समाज नेपाल काठमाडौमा सम्बन्धित व्याक्ति आँफैले समेत पठाउन सक्ने हुँदा बिचमा कतै चुहावट नहुने र को बाट कति रकम प्राप्त भयो भन्ने सुचना शिवाकोटी समाज नेपालबाट प्राप्त गरी सबैलाई सु–सूचित गराइने बताउनु भयो । ‘’शिवाकोटीहरुको जिउँदो इतिहासलाई कुनै पनि हालतमा जोगाउनुपर्छ, त्यसका निमित्त आफु शुरुदेखि नै कृयाशील रहँदै यस अघि नै एक लाख पाँच हजार सहयोग गरेको र पुन केही समयमा नै थप रकम सहयोग गर्नेछु’’सोही चौघरामा जन्मेर हुर्कनु भएका हाल अमेरिकामा रहनु हुने गणेश शिवाकोटी भन्नुहुन्छ ।

चौघरा दरवार तत्काल भत्किनबाट जोगाउन अल्पकालीन जिर्णोद्धारका लागि १० देखि १५ लाख जति लाग्ने र दीर्घकलीन जिर्णोर्द्धारका लागि करिब एक करोड ५० लाख भन्दा बढी लागत लाग्न सक्ने अनुमान गरिएको छ भने यस वरिपरिको ७ रोपनी जग्गा खरिद गर्न, अन्य आवश्यक संरचना निर्माण गर्न र पार्कहरूको राम्रो व्यवस्था गर्न ७ देखि ८ करोडसम्म लाग्ने अनुमान रहेको आर्थिक संयोजक बालगोपाल शिवाकोटीले बताउनु भयो । यसै बीच गफले सहयोग गरी ठूलाठूला योजनाहरू सम्पन्न गर्ने तर व्यवहारमा मूर्त रुप नदिने संस्कारको आंशिक अनुभव आफुहरूले पनि भोगेको तितो अनुभव अध्यक्ष धुर्वकुमार शिवाकोटीले घुमाउरो गरी व्यक्त गर्नु भयो ।

शिवाकोटी समाज नेपालका केन्द्रिय सदस्य भानु शिवाकाटीले यो शिवाकोटीहरूको उदगम स्थल भएकाले यसको संरक्षण गर्नु सबै शिवाकोटीहरूको कर्तव्य र दायित्व रहेको जानकारी दिनुभयो । नेपालको मेची देखी महाकाली र देश-विदेशमा रहनु भएका सबैले आ–आफ्नो ठाउँबाटसक्दो सहयोग गरेको खण्डमा ५ देखि १० वर्षे योजना बनाएर लागेपछि  ८ देखि १० करोड रुपैयाँ जुटाउन असम्भव नहुने उहाँको विश्वास छ । यस महाअभियानमा साथ र सहयोग गर्न सम्पूर्ण देश तथा विदेशमा रहनुहुने बन्धु तथा पुरातात्विक सम्पदाको माया गर्ने सबैलाई शिवाकोटी समाज नेपालले हार्दिक अनुरोधतथा आव्हान समेत गरेको छ ।

 

 

 

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 212

प्रतिक्रिया (०)

सम्बन्धित खबर