Aamsanchar

मेचीमा ‘ड्राइभिङ लाइसेन्स’को स्वास्थ्य जाँचमा लापरवाही

Author Image
मङ्गलवार, जेठ ३२, २०७३

खचाखच बस

यातायात व्यवस्था कार्यालय मेचीमा मोटरसाइकलको लाइसेन्सका लागि १० हजार भन्दा बढी व्यक्तिहरुको निवेदनमध्ये ८ हजार जनाको स्वास्थ्य परीक्षण एक जना चिकित्सकले एकै दिन गरेको अनुसूची पेश भएको उक्त कार्यालयका कर्मचारीले बताएका छन्।

निवेदकहरु भन्छन्, सवारी चालक अनुमतिपत्रका लागि गरिएको स्वास्थ्य परीक्षणको क्रममा चिकित्सकको अनुहार पनि देखिएन।

मोटरसाइकलको लाइसेन्सका लागि १० हजार भन्दा बढी निवेदकले यातायात व्यवस्था कार्यालय मेचीमा निवेदन दर्ता गरेका छन्।

ती निवेदनहरु अहिले कम्प्युटरमा पोस्टिङ गर्ने काम यातायात व्यवस्था कार्यालय मेचीले गरिरहेको छ।

तर यातायात व्यवस्था कार्यालय मेचीमा दर्ता भएका मोटरसाइकल लाइसेन्सका अधिकांश निवेदनमा मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सक डा. एसके झाले निवेदन बुझाउने अन्तिम दिनमा निरोगिता जाँच गरेको अनुसूची सेवाग्राहीले समावेश गरेका छन्।

तर लाइसेन्सका निवेदकहरुले भने आफूहरुले डा. झाको अनुहार समेत नदेखेको बताए।

सिजुवा मोरङका एकजना निवेदक हरिबहादुर थापाले भने, “तपाईंलाई ‘ब्लड ग्रुप थाहा छ?’ भनेर सोधे। मैले ‘थाहा छ’ भन्दिएपछि एकजना भाइले सबै डाक्टरले सही गरिसकेको फारम ल्याएर भरिदिए।

“डाक्टरले जाँचेनन्। डाक्टरको अनुहार पनि देखिनँ मैले।”

तर डा. झाले सबैतिर यस्तै परिपाटी रहेको भन्दै आफूले एकदिनमा आठ हजार निवेदकको स्वास्थ्य जाँच गरेको बताए।

उनले भने, “अन्य स्थानमा जस्तो परिपाटी छ त्यस्तै गरेर मैले निवेदकको स्वास्थ्य जाँच गरेको हुँ। त्यो दिन मैले करीब ८ हजार जनाको स्वास्थ्य जाँच गरें।”

यातायात कार्यालयको उक्त अनुसूचिमा छारे रोग छ कि छैन, निवेदकको आँखाले रंग छुट्याउन सक्छ कि सक्दैन, रगत जाँच गराउने आदि जाँचगर्ने व्यवस्था गरेको छ।

ती कामका लागि सुविधासम्पन्न अस्पतालले पनि एक जना निवेदकलाई निकै लामो समय खर्चिनुपर्छ।

तर एकै दिन आठ हजारभन्दा बढी निवेदकको निरोगिता एक जना चिकित्सकले हेरेको प्रमाण यातायात व्यवस्था कार्यालयले कसरी लियो?

यातायात व्यवस्था कार्यालय मेचीका प्रमुख जनार्दन भट्टराईले भने, “मैले उहाँलाई यति धेरै मानिसको स्वास्थ्य जाँच कसरी गर्नुभो भनेर सोधें।

“तर एउटा दर्तावाल चिकित्सकले यो मान्छे ठीक छ भनेर गरेको प्रमाणलाई प्रश्न चिन्ह उठाउने मसंग कानुनी अधिकार छैन।”

अधिकांश निवेदकहरुका अनुसार निरोगिता जाँच अघि नै डा. झाले सही छाप गरेको अनुसूचि फारम जतासुकै बिक्रीमा राखिएको वीवीसीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 223

प्रतिक्रिया (०)

सम्बन्धित खबर