Aamsanchar

युरोकपको फाइनल क्लाटेनबर्गले खेलाउने

Author Image
शनिवार, असार २५, २०७३

एजेन्सीः

5780ab7e7d8b43.97719565

युरोपेली फुटबल महासंघ (यूईएफए) ले जारी युरोकप फुटबल प्रतियोगिताको फाइनलका लागि रेफ्रीको चयन गरेको छ ।

पोर्चुगल र आयोजक राष्ट्र फ्रान्सबीच आगामी सोमबार बिहान हुने फाइनल खेल खेलाउने जिम्मेवारी यूईएफएले इङ्ल्यान्डका रेफ्री मार्क क्लाटेनबर्गलाई दिएको छ । क्लाटेनबर्ग निकै अनुभवी रेफ्री मानिन्छन् । ४१ वर्षीय क्लाटेनबर्गसँग यसअघि पनि ठूला प्रतियोगिताको फाइनल खेलाएको अनुभव छ ।

क्लाटेनबर्गले युरोपियन च्याम्पियन्स लिगको रियल म्याड्रिड र एट्लेटिको म्याड्रिडबीचको फाइनल खेल पनि खेलाएका थिए । उक्त खेलमा रियल म्याड्रिड विजयी भएको थियो । यसैगरी गत मेमा म्यानचेस्टर युनाइटेड र क्रिस्टल प्यालेसबीच भएको एफएकपको फाइनल खेल पनि उनले नै खेलाएका थिए । उक्त खेलमा म्यानचेस्टर युनाइटेड विजयी भएको थियो ।

यसअघि सन् २०१२ को युरोकपको फाइनल खेल पोर्चुगलका रेफ्री पेड्रो प्रोएन्काले खेलाएका थिए । क्लाटेनबर्गले जारी युरोकपमा यसअघि पनि तीनवटा खेल खेलाएका थिए ।

सन् १९६४ पछि युरोकपको फाइनल खेलाउने उनी पहिलो इङ्लिस रेफ्री बन्नेछन् । सन् १९६४ मा इङ्ल्यान्डका रेफ्री अर्थर होल्यान्डले युरोकपको फाइनल खेलाएका थिए । त्यति बेला फाइनलमा स्पेनले तात्कालीन सोभियत संघलाई २—१ ले हराएको थियो ।

युरोकप फुटबलको त्यो केवल दोस्रो संस्करण थियो । सन् १९६० मा भएको युरोकपको पहिलो संस्करणको फाइनल खेल पनि इङ्लिस रेफ्री आर्थर एलिसले खेलाएका थिए । पहिलो संस्करणको फाइनलमा सोभियत संघले युगोस्लाभियालाई हराएको थियो ।

जारी युरोकपको फाइनल क्लाटेनबर्गले खेलाउने अनुमान यसअघि नै गरिएको थियो । तर वेल्स प्रतियोगिताको सेमिफाइनलमा पुगेकाले यी इङ्लिस रेफ्रीको फाइनल खेलाउने सम्भावना अन्योलमा परेको थियो । तर, सेमिफाइनलमा पोर्चुगलले वेल्सलाई हराएकाले क्लाटेनबर्गको फाइनल खेलाउने बाटो पुनः खुलेको थियो ।

जारी युरोकपमा उनले यसअघि स्विट्जरल्यान्ड र पोल्यान्डबीचको प्रिक्वार्टरफाइनल खेल पनि खेलाएका थिए । उक्त खेलमा पेनाल्टी सुटआउटमा पोल्यान्ड विजयी भएको थियो ।

यसैगरी उनले समूहगत चरणमा बेल्यिम र इटाली तथा क्रोएसिया र चेक गणतन्त्रबीचको खेलमा पनि रेफ्रीको भूमिका निर्वाह गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 160

प्रतिक्रिया (०)

सम्बन्धित खबर