Aamsanchar

जब निखिल २ हात्तीमाथि एकैसाथ उफ्रिए…..

Author Image
आइतवार, साउन २३, २०७३

nikhil-neeta-in-nirvaya1

चितवन ।

चितवन सौराहास्थित बाघमारा सामुदायिक वनको चौर हात्ती सफारी स्थल हो । हरेक दिन पर्यटक यहीँबाट हात्तीको पिठ्यूँमा कसेको हौदामा बसेर रमाउँदै जङ्गल घुम्छन् र जङ्गली जनावर हेरेर मनोरञ्जन लिन्छन् ।

पर्यटक रमाउँदै मनोरञ्जन लिने डुङ्गा घाटको यो चौरमा शुक्रबार न त कुनै पर्यटक हात्ती चढ्न आएका थिए, न त हात्ती गस्ती । भीड उस्तै थियो । तर सधैभन्दा दृश्य फरक थियो ।

एक्सन…. रगतले पोतिएको, मुखमा काटेको, सेतो गन्जी र लुङ्गी लगाएका एक पुरुष फुत्त उफ्रिए । एकैचोटि उडेर अप्पुकली र शान्तिकली हात्तीको पिठ्यूँमा पुगे । त्यसपछि फेरि उडेर उल्टी मारे । दुई हात्तीको पिठ्यूँमा एक–एक खुट्टा टेकेर सबैलाई चकित तुल्याए ।

यी सबै काम गरिरहेका थिए एक्सन स्टार भनेर चिनिएका नायक निखिल उप्रेती । प्रायः लाइभ स्टन्ट दिने साहसिक नायक निखिलले यो पटक चलचित्र ‘निर्भय’मा उडेको दृश्य दिएका हुन् । “मेरो ८० प्रतिशत फिल्म एक्सन केन्द्रित छ,” निखिलले भने, “दर्शकले रुचाएको सिन, माग त पूरा गर्नै पर्यो ।” झन्डै १३० फिल्म खेलिसकेका एक्सन स्टार निखिल उप्रेती र दुई दर्जनभन्दा बढी चलचित्र खेलेकी चुलबुले नायिक नीता ढुङ्गानाको मुख्य अभिनय रहेको चलचित्र ‘निर्भय’ को अहिले चितवन निकुञ्ज आसपास क्षेत्रमा अन्तिम छायाङ्कन भइरहेको छ ।

“टाइटलबाटै खुलस्त छ, जो डराउँदैन, त्यही निडर देशभक्तको कथा”, जिज्ञासा मेटाउँदैै निखिलले भने । नीतालाई बचाउन निखिल उड्नु परेको दृश्य यहाँ ल्याइएको हो । “अजङ्गको जनावर हात्तीसँग एक्सन–कट् गर्न कम्ता गाह्रो भएन, कुकुर, बाँदर, घोडासँग त काम गरेकै हो, हात्तीसँग भने पहिलो अनुभव”, निखिलले भने, “साह्रै रमाइलो भो ।”

पाँच दिनदेखि यो सुटिङ युनिट चितवन आसपासका दृश्य कैद गर्दै छ । ‘पिँजडा’मा सात तलाबाट हाम्फाले । त्योभन्दा जोसिमपूर्ण ट्याक्सीमाथि हाम फालेको दृश्य थियो । ‘सन्तान’ फिल्ममा ज्यानकै बाजीमा मोटरसाइकल उडाएर १५ फिट हाइटको होर्डिङबोर्ड फुटाएर उनले उदाहरण दिइसकेका छन् ।
“मुग्लिनपारि’मा पुलको लठ्ठामा हिँड्नु मेरो पागलपन नै हो, निर्भयमा झन् नहुने कुरै भएन”, निखिल भन्छन् । गत वर्ष भैरवबाट ‘कमब्याक’ गरेका निखिलसँग नीताले पहिलो स्क्रिन सेयर गरेकी छिन् । त्यसो त निर्देशक मधुसूदन भट्टराईको निर्देशन पनि उनको पहिलो हो । देवीप्रसाद पाण्डे डेब्यु निर्माता हुन् भने प्रसिद्धि सिने आटर््सको पनि यो पहिलो प्रस्तुति हो । “पहिलोपटक निखिलसँग खेल्दा साह्रै रमाइलो भो, सुटिङका क्रममा सौराहामा भेटिएकी नीताले भनिन्, “मलाई चुलबुले भन्थे, अहिले गम्भीर रोलमा छु, निर्देशक पनि पहिलो हो, त्यसैले पनि मलाई यो फिल्म बिल्कुलै नयाँ छ ।” दुई दर्जनभन्दा बढी चलचित्रमा अभिनय गरेकी नीता निर्भयमा नयाँ र मीठो कथावस्तु तथा मर्म लुकेको बताउँछिन् ।

‘निर्भय’मा सुनिरहेको, देखिरहेको र भोगिरहेको कथालाई समेटेको छु”, निर्देशक मधुसूदन भट्टराईले भने – “अहिले यति मात्रै भनौँ, अरू पछि ।” चलचित्रमा निखिल राष्ट्रप्रेमी युवकको भूमिकामा छन् । उनले प्रहरी अधिकृत भएर खेलेका छन् । प्रसिद्धि सिने आर्ट्सको पहिलो प्रस्तुति रहेको एक्सन केन्द्रित निर्भयमा देवीप्रसाद पाण्डेको लगानी छ । चलचित्रमा यम थापाको लेखन, रामशरण उप्रेतीको छायाङ्कन र रामजी लामिछानेको नृत्य निर्देशन छ ।

यसमा अर्जुन पोखरेल र ताराप्रकाश लिम्बूको सङ्गीत तथा हिमाल केसीको द्वन्द्व छ । अन्य कलाकारमा सुशील पोखरेल, विकास चापागाईं, विशाल पहाडी, कृष्ण शिवाकोटी, प्रदीप ढकाल, प्रज्ज्वल गिरी, रश्मी भट्टलगायत छन् ।

गएको असार १० देखि छायाङ्कन सुरु भएको निर्भयको अन्तिम दृश्य लिने काम चितवन निकुञ्ज आसपासमा चलिरहेको छ । चितवनमा करिब १० दिनमा छायाङ्कन सकिने निर्देशक भट्टराईले बताए । उनको यो चौथो निर्देशन हो ।

यसअघि सस्पेन्स फिल्म ‘ब्ल्याकमेल’, कमर्सियल ‘सुकुलगुण्डा’ र लागुऔषध विरुद्धको ‘ब्ल्याकनाइट’मा उनले निर्देशन गरिसकेका छन् । काठमाडौँ, भक्तपुर, नुवाकोट, सिन्धुपाल्चोक र चितवनका आकर्षक दृश्य निर्भयमा कैद रहेको बताइन्छ । बीस प्रतिशत चितवनमा छायाङ्कन भएको छ । चितवनमा महत्वपूर्ण तीनवटा द्वन्द्व र एउटा गीतको छायाङ्कन हुन्छ । मङ्सिरमा सार्वजनिक गर्ने तयारीमा फिल्म युनिट जुटिरहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 148

प्रतिक्रिया (०)