Aamsanchar

रियो ओलम्पिकमा नेपालले आज खेल्दै, यस्तो छ तयारी

Author Image
मङ्गलवार, साउन २५, २०७३

काठमाडौँ  ।

ब्राजिलमा जारी रियो ओलम्पिकअन्तर्गत आर्चरी (धनुकाँड) खेलमा स्वर्ण पदकका लागि नेपालका जीतबहादुर मोक्तानले मङ्गलबार प्रतिस्पर्धा गर्दैछन् ।

पुरुष ७० मिटर आर्चरीमा उनले पहिलो खेल भारतका अतानु दाससँग खेल्नु पर्नेछ । उनको खेल नेपाली समयानुसार साँझ ५ः२१ बाट सुरु हुनेछ ।

यसअघि मोक्तान शनिबार भएको खेलमा ६०७ स्कोर जोड्दै ६० औँ स्थानमा रहेका थिए । ३६ वर्षीय मोक्तानले भारतीय खेलाडीलाई अङ्कमा पछाडि पार्न सके अन्तिम १६ मा प्रवेश गर्नेछन् । उनले फाइनल चरणमा स्थान बनाउन अन्तिम १६ बाट पनि छनोट हुनु पर्नेछ । त्यस्तै भारतका अतानु भने पाचौँ स्थानमा छन् । उनले यसअघिको खेलमा ६८३ स्कोर गरेका थिए ।

स्वर्ण पदकका लागि भिड्नु अघि मोक्तानले दुई दिन रियोमै अभ्यास गरेका छन् । मोक्तानको सबैभन्दा राम्रो प्रदर्शन भने ६४२ छ । उनले गत वर्ष बैंककमा भएको एसियन च्याम्पियनसिपमा उक्त प्रदर्शन गरेका थिए ।

त्यस्तै जुडोकी फुपूल्यामु खत्रीले रियो ओलम्पिकको पहिलो चरणमा मरिसेट इस्पिनोसासँग मङ्गलबार प्रतिस्पर्धा गर्ने भएकी छन् । बाह्रौँ दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्णपदक जितेकी खत्रीले ६३ किलो मुनिको स्पर्धामा प्रतिस्पर्धा गर्दै छिन् ।

उक्त स्पर्धामा ३६ खेलाडी सहभागी छन् । खत्रीले क्युबाली खेलाडीलाई पराजित गर्नसके उनी अन्तिम १६ मा प्रवेश गर्नेछिन् ।

ओलम्पिक छात्रवृत्तिअन्तर्गत हङ्गेरीको राजधानी बुडापेस्टमा रियो ओलम्पिकका लागि खत्रीले पाँच महिना तालिम लिएकी थिइन् । दक्षिण एसियाली जुडो च्याम्पियनसिपमा दुई पटक रजत पदक हात पारेकी २१ वर्षीया फुपूले रियो ओलम्पिकमा केही आशा देखाएकी छन् ।

रियो प्रस्थान गर्नुअघि फुपूले ओलम्पिकमा ५ मिटर पूरा खेल अवधि टिक्ने आफ्नो लक्ष्य भएको बताएकी थिइन् । फुपू र इस्पिनोसाबीचको विजेताले दोस्रो चरणमा विश्व च्याम्पियनसिपमा स्वर्ण जितेकी इजरायली यार्डेन गेर्बीको सामना गर्नेछन् ।

जुडोमा महिला र पुरुषका समान सात÷सात गरी कुल १४ स्पर्धा प्रतिस्पर्धा हुनेछ । उक्त स्पर्धामा १३६ देशका ३९० खेलाडी सहभागी छन् ।

त्यस्तै शिरिष गरुङले पनि मङ्गलबार नै पुरुष १०० मि ब्याकस्ट्रोकमा प्रतिस्पर्धा गर्दैछन् । उनले रियो ओलम्पिकका लागि नौ महिनादेखि बैंककमा तालिम लिएका थिए । शिरिषले ४५ पटक राष्ट्रिय कीर्तिमान तोडेका छन् ।

नेपाल उपविजेता

भारतको कलकत्तामा भएको दोस्रो अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा नेपाल दास्रो भएको छ ।

नेपाल १२ स्वर्ण, पाँच रजत र १० कास्यपदक हात पार्दै दोस्रो भएको हो । अन्तिम दिन जुनियर यु–१९ महिला एकल कातामा नेपालीकी मन्दिरा थापाले भारतलाई ४–१, सिङ्गापुरलाई ३–२ तथा बङ्गलादेशलाई ४–१ ले पराजित गर्दै स्वर्ण जितिन् । कुमुतेतर्फ भने मन्दिरा कास्यमा सीमित भइन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 140

प्रतिक्रिया (०)

सम्बन्धित खबर