Aamsanchar

क्लिनिकको पनि ग्रेडिङ्ग गरिनुपर्दछ

Author Image
शनिवार, साउन २९, २०७३

 

सुरेश खतिवडा

         सुरेश खतिवडा

शान्तिनगर ! पूर्व प्रधानमन्त्री केपी ओलीको गृह जिल्लाको उत्तर पूर्वी गाउँ, मेरो क्लिनिकरुपी फार्मेसीबाट सुविधासम्पन्न हस्पिटल पुग्न राम्रै मोटरसाइकल कुदाउनेलाई पनि डेढ घण्टा लाग्छ । मेरो औषधि व्यवस्था विभागमा दर्ता भएको फार्मेसीको आचारसंहिता अनुसार पूर्जÞामा मात्र औषधि दिन्छु भन्दै पुर्जा पर्खने वा पूर्जा लिन पठाउनु यहाँको अवस्था अनुसार व्यवहारिक छैन किनकी कुरुंग, टिमाई र हडियाँ खोला तरेपछी मात्र संशोधित स्वास्थ्य नियमावली अनुसारका क्लिनिकको परिभाषा पूर्ण गर्नेपूर्जा बनाउने ठाउँमा पुग्न सकिन्छ । मित्र बिमल एकाबिहानै मेरो फÞार्मेसीमा आएर पेट छाम्दै भन्नुभयो– ‘हिजो राति फुटबल हेर्न बस्दा के–के चिल्लो खाएछु, पेट फुले जस्तो छ के गरौं ?’ मैले दुईवटा डाईजिन ट्यावलेट चुस्न दिएँ र पानी बढी पिउने, खाली पेट नबस्ने चिल्लो नखानेभन्दै परामर्श दिएर एकछिन मेरो छेऊको पुरानो काठको वेञ्चमा आराम गर्न लगाए । एकछिनमा आराम भयो भन्दै आफ्नो नियमित व्यवसाय तिर लाग्नु भो ।
त्यस्तै मेरो छेउको पसलको भाईले हात पिल्साएर ह्याण्डिप्लाष्ट लगाउन भन्दै आयो, रगत बगेर नटाँसिएपछि आफूसँग खुल्लै भएको अलिकति बेटाडिन लगाएर ब्याण्डेज बाँधी दिएँ र हस्पिटल गएर टिटनासको सुई लाउन, घाउ सुक्ने औषधि खान सल्लाह दिएँ, फेरि अर्को पाटो हेर्ने हो भने केही तलमाथि भयो की भन्दै प्रेसर नाप्न र परामर्श लिन शुरुमा नै अस्पताल र स्वास्थ्य चौकी पुगिहाल्दैनन् सर्वसाधारण । ‘मेरो शरीर तातो भएजस्तो छ ज्वरो आएको हो कि थर्मामिटर दिनु न’ भनेर हामी कहाँ नै माग्न आउँछन् र नदिए रिसाउँछन्  । तापक्रमबारे केही हदसम्म थाहा पनि छ भने छेउमै बसेर नाप्न दिने कि नदिने ? हिंड्दाहिंड्दै टाउको चड्के जस्तो लाग्यो भन्दै प्रेसर नापी दिनु न भन्दै फÞार्मेसीमा आउने गर्दछन्, साथीभाई । अब यहाँ गाउँमा फार्मेसीका अलावा सीटीईभीटीको स्वास्थ्य सम्बन्धी समेत केही बर्ष कोर्ष समेत गरेको हुँदा समेत थोरै बेटाडिन दिन, शरीर तातेको हो होईन पत्ता लगाईदिन, प्रेसर हेरीदिन पनि मापदण्ड पुग्दैन । भूकम्प प्रतिरोधी भवन छैन, तोकिएको स्क्वायर फÞुट क्षेत्र छैन भन्दै इन्कार गर्नु कतिसम्म मुनासिव हुन्छ त ?
त्यसकारण जनस्वास्थको पाटो भन्दै व्यवहारिक पक्षलाई नहेरी सबैलाई एउटै तह भनेर क्लिनिकको ब्याख्या गरिनु सबैलाई न्याय नहुन सक्छ । सबै गाउँ त पर कै कुरा भयो नगरपालिका र उपमहानगर अनि महानगरकै कतिपय क्षेत्र सरकारी हस्पिटल र डाक्टरको पहँुच भन्दा पर रहेको अवस्था हुँदा त्यहाँ पहिलो परामर्शदाता र प्राथमिक उपचारकदर्तावाला औषधी व्यवसायी नै हुने गर्दछ या एचए, सीएमए र अहेबहरु । अहिले प्रत्येक घरमा प्रेसरका बिरामी अनि सबैका घर–घरमा प्रेसर नाप्ने उपकरण हुन्छन् भने एक फार्मेसी सञ्चालक मात्र नभएर स्वास्थ्यकर्मी हुँदा समेत हस्पिटल जानुहोस्, पैसा तिर्नुहोस् अनि प्रेसर जचाउनुहोस् भन्ने अवस्था आएको सबै औषधि ब्यवसायीहरुमा महशुस हुन थालेको छ भने सीटीईभीटीको चर्को शुल्कमा तयार दक्ष जनशक्तिलाई क्लिनिकको अवधारणाले ग्रामीण भेकका स्वास्थ्यकर्मीलाई हात बाँधेर रेफर सेन्टरका रुपमा मात्र काम गर्ने अवस्था बनाएको छ । औषधी ब्यवसायीहरु त देखिने गरिका सर्वसाधरणका साथी भए प्राईभेट प्य्राक्टिसमा रहेका एचए र सीएमए र अहेबहरु यस्ता स्वस्थ्य परामर्शका सर्वसुलभ साथी हुन् जसले अहिलेको सिंगो ग्रामीण परिवेशको स्वास्थ्यस्तर यतिको सुदृढ अवस्थामा पु¥याउन अहम् भूमिका रहेको सर्वविदितै छ ा की साना–तिना समस्या त त्यसै समाधान भई हाल्दछन् तर त्यो हात काटेको भाईलाई बेटाडिन लगाईदिन पनि अहिलेको क्लिनिकको परिभाषाले बन्देज गरेको पाईन्छ । भूकम्प निरोधकको कागज पेस गर्नुपर्ने, डाक्टर, एचए, सीएमए जसले क्लिनिक खोलेको भएपनि एउटै तहमा राखेर त्यसका मापदण्डहरु निर्धारण गरिएको हुँदा र स्वास्थ्य ब्यवसायी परिषद् नियमावली २०५३ नियम १३ को ‘यहाँ दर्तावाला स्वास्थ्कर्मीले नेपाल सरकारलाई कर बुझाई आफूले पढेको क्षेत्रको आचारसंहिता भित्र रही कार्य गर्न पाउने छ’ भन्ने व्यवस्थालाई मिचेको पाईन्छ ।
यदी अहिलेको मापदण्ड र नियमानुसार सबैलाई केही दिनभित्रै ब्यवस्थापन गर्न भने सम्भव छ जस्तो मलाई लाग्दैन । बढुवा र पदस्थापन प्रक्रिया समेत विवादास्पद भयो भनेर तल्लो निकायका स्वास्थ्यकर्मी यो नयाँ संशोधित ऐनप्रति असन्तुष्ट रहँदैआएका छन् । सायद यो बिषयमा जनस्वास्थ्य हेर्ने मन्त्रालय पनि जानकार छ भने त्यसको परिमार्जन या संशोधनको जÞरूरी छ । यस्तो अवस्थामा बिहान–बेलुकी औषधि पसल मा आउने मेरा मित्र बिमलजीहरुलाई तपाईलाई औषधि दिन मिल्दैन पूर्जा लिएर आउनुहोस् भन्ने अथवा दश बजे सरकारी हेल्पोष्ट खुल्छ अहिले घर जानुहोस् भन्ने वा जेसुकै गर्नु भन्ने या यही कतैको निजी अस्पतालको चर्को शुल्क सहितको सेवा लिन पठाउने ? मेरो आशय औषधि ब्यवसायीले बिरामीलाई स्वास्थ्य सम्बन्धी सहायक सेवाहरु दिन पाउनु पर्दछ भन्ने चाहीं कदापि होइन । तर, मेरो जस्तो ग्रामीण क्षेत्रमा कठिन तरिकाबाट सेवा दिईरहेको सेवामुखी क्लिनिकलाई सहरी क्षेत्रमा सञ्चालित महँगा क्लिनिकको बराबर मापदण्ड बनाउँदा व्यवहारिक नहुनसक्छ ।
यदी स्वास्थ्य बिषयको कुनै बिधा सकेर प्राईबेट प्य्राक्टीसमा उसले दिने सेवाको आधारमा क्लिनिकको पनि तह निर्धारण गरिनु पर्दछ । एचए, सीएमए जसले सेवा दिने भएपनि डाक्टर, नर्स अन्यलाई समेत राख्नैपर्ने बाध्यकारी नियम असहज छ । एउटै व्यक्ति सरकारी कार्यालयमा दक्ष र बाहिर अदक्ष मान्ने परिपाटी अन्त्य हुनुपर्दछ । त्यस्तै दश वटा डाक्टर राखेर सेवालाई अतिरञ्जित पाराले प्रचार गर्ने र एउटा मात्र डाक्टरको सेवा र परामर्श उपलब्ध गराउने क्लिनिकहरुको परिभाषा र मापदण्ड फरक–फरक किटान गरिनु पर्दछ । तहगत आफ्नो पढाईको आचार–सहिंता अनुसार सेवा गर्न पाउने अधिकारको सरक्षण हुनुपर्दछ, नकी त्यसलाई जबरजस्ती घुमाउरो पारामा बाँधेर अन्य अव्यवहारिक र झन्झटिलो अनि खर्चिलो बनाई त्यसको अप्रत्यक्ष आर्थिक भार जनतामा नै पर्न जाओस् । सबैको स्वास्थ्यमा पहँुचको नारा लागिरेको बेला सरकारी समय बाहेकको समयमा, बिहान–बेलुका, राति अनि सुविधासम्पन्न ठाउँमा पुग्नु पूर्व परामर्श र प्राथमिक उपचार दिनेलाई कारवाही होइन सम्मानको खाँचो छ । उसलाई स्वास्थ्य संयन्त्रको तल्लो युनिट सम्झेर ब्यवहारिक पक्षलाई बुझिदिन जरुरी छ ।
sureshkhatiwada112@ gmail.com

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 176

प्रतिक्रिया (०)

सम्बन्धित खबर