Aamsanchar

खतरनाक रोग ‘स्क्रब टाइफस’ परीक्षण गर्न कीटको अभाव

Author Image
बुधवार, भदौ १, २०७३

scrub_typhus

रत्ननगर (चितवन)।

चितवनमा फैलिएको स्क्रब टाइफस रोगको परीक्षण गर्ने कीटको अभाव भएको छ ।

स्क्रम टाइफसको प्रकोट सबैभन्दा धेरै देखिएको चितवनमा कीट नहुँदा बिरामीलाई परीक्षणका लागि काठमाडौँ जानुपर्ने बाध्यता भएको छ ।

जिल्लामा चितवन मेडिकल कलेजमा मात्रै यसको परीक्षण हुँदै आएकोमा मङ्गलबरदेखि उक्त कलेजमा समेत कीट अभाव भएको सञ्चालक डा दयाराम लम्सालले जानकारी दिनुभयो ।

चितवनको कलेज अफ मेडिकल साइन्सेजमा आइसियुमा उपचाररत सीता ढुङ्गानाको स्क्रब टाइफसको आशङ्कामा चिकित्सकले परीक्षणका लागि रगत चितवन मेडिकल कलेजमा पठाएका थिए ।

तर कलेजले कीट अभाव भएको बताएपछि बिरामीका आफन्त विदुर ढुङ्गाना त्यसै फर्किनुभयो । उहाँले परीक्षण नहुँदा समस्या भएको बताउनुभयो । सरकारी तहबाट यहाँ कीट उपलब्ध हुन सकेको छैन भने अन्य अस्पतालमा समेत कीट आएको छैन ।

चितवनको भरतपुर अस्पतालमा समेत पटकपटक आग्रह गर्दा कीट ल्याउने विषयमा कुनै सुनुवाइ नभएको एकजना चिकित्सकको भनाइ छ । नेपालमै सबैभन्दा बढी उक्त रोगको सङ्क्रमण चितवनमा देखिएको छ ।

जनस्वास्थ्य कार्यालय चितवनका कीट नियन्त्रण निरीक्षक रामकुमार केसी चितवन मेडिकल कलेजबाहेक अन्त परीक्षण नभएको बताउनुहुन्छ ।

उहाँले अब जिल्लामा नभएपछि काठमाडौँ टेकु जानुपर्ने बताउनुभयो ।

जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका अनुसार यो वर्ष चितवन मेडिकल कलेजमा उपचार गरिएकी एक महिलाको उक्त रोगबाट मृत्यु भएको हो ।

कार्यालयका कीट नियन्त्रण निरीक्षक रामकुमार केसीले वैशाखदेखि अहिलेसम्म चितवन मेडिकल कलेजमा उपचारका लागि आएकी एक महिलाको उक्त रोगका कारण मृत्यु भएको जानकारी दिँदै अन्य ६७ जनामा सङ्क्रमण देखिएको बताउनुभयो ।

यसअघि धरानमा उपचार गरिएका सङ्खुवासभा र भोजपुरका गरी दुई जना बिरामीको मृत्यु भएको तथ्याङ्क छ ।

नेपालका २० जिल्लामा स्क्रब टाइफसका बिरामी भेटिएका छन् । अघिल्लो वर्षबाट आधिकारिकरुपमा नेपालमा सरकारले सङ्क्रमण पत्ता लगाएको उक्त रोग अहिले विभिन्न जिल्लामा देखिन थालेको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाअन्तर्गत इपिडिमियोलोजी शाखाका प्रमुख डा गुणनिधि शर्माले जानकारी दिनुभयो ।

मुख्यगरी एक प्रकारको सङ्क्रमित किर्नाले टोकेमा यो रोग लाग्छ । यो रोग लागेमा टाउको दुख्ने, उच्च ज्वरो आउने, गर्दन र घाँटी वरिपरि मसिना बिमिरा आउने, पसिना आउने, ग्रन्थी सुनिनेलगायतका लक्षण देखिने हुन्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 127

प्रतिक्रिया (०)

सम्बन्धित खबर