Aamsanchar

नेविसङ्घको मत परिणाम सार्वजनिक

Author Image
शुक्रवार, भदौ ३, २०७३

nebisang-218x150

काठमाडाँै ।

नेपाली काँग्रेसको भ्रातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको मत परिणाम सार्वजनिक गरिएको छ ।

नेविसङ्घको ११औँ महाधिवेशनको उद्घाटन गत साउन २३ गते भए पनि मतदान भने भदौ १ गतेदेखि झन्डै २० घन्टा निरन्तर भएको थियो । आज सार्वजनिक भएको मत परिणामानुसार अध्यक्षमा नैनसिंह महर निर्वाचित हुनुभएको छ । महरले एक हजार ४४७ र उहाँका निकटतम प्रतिद्वन्द्वी मनोजमणि आचार्यले एक हजार ३२८ मत प्राप्त गर्नुभएको निर्वाचन समितिले जनाएको छ ।

त्यस्तै महामन्त्री (दुई पद) मा कुन्दनराज काफ्ले र सरोजकुमार थापा विजयी हुनुभएको निर्वाचन समितिका संयोजक भरतप्रसाद खरेलले जानकारी दिनुभयो । कोषाध्यक्षमा शिव रिमाल विजयी हुनुभएको छ ।

उपाध्यक्षमा प्रदेश नं १ बाट विकास केसी, प्रदेश नं २ बाट सञ्जय यादव, प्रदेश नं ३ बाट रामप्रसाद अधिकारी, प्रदेश नं ४ बाट डिल्लीराम सुवेदी, प्रदेश नं ५ बाट प्रकाश राना, प्रदेश नं ६ बाट खड्ग डाँगी र प्रदेश नं ७ बाट पुष्पकुमार शाही विजयी हुनुभएको निर्वाचन अधिकृत कृष्णप्रसाद पनेरुले जानकारी दिनुभयो । समावेशी उपाध्यक्षमध्ये क्रमशः महिलामा उर्मिला थपलिया, मधेसीमा पवन यादव, जनजाति आदिवासीमा नवीन राई र दलितमा सागर परियार विजयी हुनुभएको छ ।

सहमहामन्त्रीमा प्रदेश नं १ मा कृष्ण कार्की, प्रदेश नं २ मा राजेशकुमार रौनियार, प्रदेश नं ३ मा माधवप्रसाद ढकाल, प्रदेश नं ४ मा हरिहर शर्मा, प्रदेश नं ५ मा प्रकाश घिमिरे, प्रदेश नं ६ मा ईश्वरबहादुर विष्ट र प्रदेश नं ७ मा अच्युतराज कलौनी विजयी हुनुभएको छ ।

समावेशी सहमहामन्त्री छात्राबाट साधना घिमिरे, मधेसीबाट परमेश्वर साह, आदिवासी जनजातिबाट दीपेश राई र दलितबाट ललिता सुनार विजयी हुनुभएको छ । सङ्घमा १२९ पदका लागि निर्वाचन भएको हो । बाँकी २२ जना मनोनयन हुने प्रावधान छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 166

प्रतिक्रिया (०)

सम्बन्धित खबर