काठमाडौं,
अमेरिकाको मासाचुसेट्स विश्वविद्यालयका प्राध्यापक रिचार्ड पेल्टियर र नेपाली वैज्ञानिक कविन्द्र शाक्यले गरेको अध्ययनअनुसार त्यस्ता मास्कले धुलो र धुवाँका कण पटक्कै छेक्दैनन् । मास्कभित्रै प्रदूषणका कण जम्मा भएर बस्छन् ।
साइन्स एन्ड इन्भाइरोमेन्ट इपिडिमियोलोजीमा प्रकाशित प्रतिवेदनअनुसार कपडाको मास्क प्रयोग गर्दा ८० देखि ९० (सेन्थेटिक पार्टिकल्स) प्रतिशत नाकमुखभित्र छिरेको थियो । ‘डिजेल इन्जिन भएको ट्रकको छेउमा बस्दा त झन् अवस्था भयावह हुन्छ’, प्रतिवेदनमा भनिएको छ, ‘मास्कले छेक्छ भनेर ढुक्क हुनु रोग निम्त्याउनु हो ।’
अस्पतालहरूले प्रयोग गर्ने सर्जिकल मास्कले भने तुलनात्मक रूपमा धुलोका कण बचाएको पाइयो । तर यी पनि परपर्दो र पूर्ण विश्वासिला भने छैनन् । उपत्यकाका अति प्रदूषित क्षेत्रमा विभिन्न प्रकारका मास्क लगाउने सर्वसाधारणबीच अनुसन्धान केन्द्रित गरिएको थियो ।
धोएर पुनः प्रयोग हुने मास्क सबैभन्दा खतरायुक्त भएको निष्कर्ष छ । काठमाडौं उपत्यकामा पीएम १० र पीएम २.५ को अवस्था असाध्यै डरलाग्दो अवस्थामा रहेको उल्लेख गर्दै अनुसन्धानकर्ताहरूले सस्ता मास्कले उल्टै रोग निम्त्याउन सहयोग गर्ने चेतावनी दिएका छन्