Aamsanchar

नेपाल प्रवेश अगावै विदेशीको पुरा विवरण प्राप्त हुने प्रविधि भित्र्याइँदै

Author Image
बिहिवार, भदौ ९, २०७३

(किरण भट्टराई)  काठमाडौँ ।

forner630

नेपालमा आउने यात्रु नेपाल प्रवेश गर्नुअघिनै उनीहरुको पृष्ठभूमिसहितको विवरण आउने ‘बृहत् यात्रु सूचना प्रणाली’ लागू गर्ने तयारी अध्यागमन विभागले गरेको छ ।

यो प्रणाली लागू भएसँगै यात्रुले हवाई टिकट बुकिङ हुनासाथ उसको विवरण अध्यागमनमा प्राप्त हुनेछ । यात्रुको पृष्ठभूमि, कालोसूचीमा रहे÷नरहेको जस्ता जानकारी अग्रिम प्राप्त हुँदा आपराधिक पृष्ठभूमिका व्यक्तिको आवागमनमा कडाइ हुने विभागका महानिर्देशक केदार न्यौपानले बताउनुभयो ।  यो प्रणाली सफ्टवयेर प्रणालीमार्फत सञ्चालन हुने भएको र एकै पटक खरिद गर्न समेत नपर्ने भएकाले राज्यलाई थप आर्थिक भार समेत नपर्ने उहाँको भनाइ छ ।

यो प्रणाली लागू भएसँगै आपराधिक पृष्ठभूमि र कालोसूचीमा रहेका व्यक्तिको विवरण सहजै प्राप्त हुने र उनीहरुलाई नेपाल आउने प्रवेशाज्ञा नदिने वा प्रवेश गरिसकेपछि पक्राउ गर्न सकिने विश्वास लिइएको छ ।  अहिले यात्रुको आवतजावतको विवरण कागजी प्रक्रियामा कार्डमार्फत रहेकाले नयाँ प्रविधिको प्रयोगसँगै सबै यात्रुको विवरण अनलाइन सफ्टवेयरमा रहनेछ ।

आपराधिक पृष्ठभूमिका व्यक्ति नेपालमा पटक÷पटक प्रवेश गर्ने तर सोसम्बन्धी जानकारी नेपाल सरकारलाई नहँुदा उनीहरु यहाँ आएर विभिन्न अवाञ्छित गतिविधिमा संलग्न हुने गरेका धेरै उदाहरण छन् ।

त्यसो त विभागले गत आर्थिक वर्ष अध्यागमन कानुन उलङ्घन गरी नेपालबाट निष्कासन गरिएका, सम्बन्धित मुलुक फर्काइएका र अन्य निकायको अनुरोधमा आवागमन नियन्त्रणका लागि प्राप्त विवरण अध्यावधिक गर्ने र ट्रयाकिङ गर्ने कालोसूची प्रणाली समेत जडान गर्ने काम गरिसकेको छ ।

विभागले आफ्ना सबै कार्यालयमा यात्रुको आवामगन र प्रस्थानको प्रत्यक्ष तस्बिर लिएर मौजुदा सफ्टवेयरमा राख्ने प्रणालीको पनि सुरुवात गर्ने तयारी गरेको छ ।  अहिले प्रवेशाज्ञा दिँदा विदेशीको विवरण र तस्बिर लिइए पनि नेपाली र निःशुल्क प्रवेशाज्ञामा आउने विदेशीको तस्बिर लिने गरिएको छैन ।

विदेशस्थित नेपाली कूटनीतिक नियोगबाट जारी हुने प्रवेशाज्ञाका लागि अनलाइन माध्यमबाट दरखास्त दिन सकिने व्यवस्थाको अन्तिम तयारी गरिएको छ ।  विभागले अनलाइनमार्फत प्रवेशाज्ञाका लागि आवेदन लिने गरेपनि नेपाली नियोगले भने अहिले पनि पुरानै कागजी प्रक्रियाबाट आवेदन लिने गरेका छन् । दूतावासको यस्तो हालत देखेर आवेदन दिने विदेशी पर्यटकले खिसीटिउरी समेत गर्ने गरेका छन् ।

धेरै रकमको आवश्यकता नपर्ने र तत्कालै लागू गर्न सकिने भएकाले अर्थ मन्त्रालय र परराष्ट्र मन्त्रालयको समन्वयमा यो काम छिट्टै गर्न सकिन्छ ।  यो प्रावधानका कारण विदेशस्थित नेपाली नियोगबाट जारी हुने प्रवेशाज्ञा छिटो, छरितो र अन्तर्राष्ट्रियस्तरको हुने मात्र हैन, प्रवेशाज्ञा र राजस्वको विवरण दुरुस्त हुने अपेक्षा गरिएको छ ।

त्यस्तै नेपालको प्रवेशाज्ञालाई मेसिनले पढ्न सक्ने ‘एमआरपी’ मा जारी गर्ने प्रणालीको विकास गर्ने कार्यक्रमलाई समेत विभागले चालु आवको कार्यक्रममा समावेश गरेको छ ।

यो प्रणालीका लागि आवश्यक सबै प्रक्रिया र प्राविधिक तयारी पूरा भइसकेकाले सरकारले स्वीकृति दिनासाथ लागू गर्न सकिने महानिर्देशक न्यौपानेले जानकारी दिनुभयो ।

विभागले गत आव यात्रुको राहदानीमा रहेको विवरण सफ्टवयेरको माध्यमबाट नियन्त्रण गरेर भण्डारण गर्ने प्रविधि, सबै किसिमका प्रवेशाज्ञाका लागि अनलाइन प्रवेशाज्ञा प्रणाली, आगमन र प्रस्थान स्टिकर हटाई छापको प्रयोग जस्ता सुधारात्मक कदम चालेको जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 119

प्रतिक्रिया (०)

सम्बन्धित खबर