Aamsanchar

‘छक्कापन्जा’मा  मार्मिक कथा

Author Image
बिहिवार, भदौ २३, २०७३

6akkapanjaa

काठमाडौँ  ।

चर्चित हास्यकलाकार जोडी दीपकराज गिरी र दीपाश्री निरौलाको टोलीले बनाएको नेपाली चलचित्र ‘छक्कापन्जा’ शुक्रबार देशभर प्रदर्शन हुँदैछ ।

निरौलाले पहिलो पटक निर्देशन गरेको यो बहुप्रतीक्षित चलचित्रमा निर्देशनमा नाम नआए पनि गिरीको बुद्धि र अनुभव उत्तिकै मिसिएको जानकार बताउँछन् । सफल हास्य टेलिशृङ्खला ‘तितो सत्य’का निर्देशक गिरी अहिलेसम्मको अग्रिम बिक्री र दर्शकको उत्साह हेर्दा चलचित्र सफल हुने विश्वास व्यक्त गर्नुहुन्छ । रासससँग कुरा गर्दै उहाँले भन्नुभयो, “भोलि (शुक्रबार)का लागि करिब ६० प्रतिशत टिकट आजै बिक्री भइसक्यो ।”

उहाँका अनुसार चलचित्रले वैदेशिक रोजगारीको मार्मिक कथालाई हास्यरससहित सामान्य नेपालीले बुझ्ने गरी प्रस्तुत गरेको छ । यसको ‘पूर्वपश्चिम रेल’ बोलको गीत चलचित्र प्रदर्शनअघि नै बहुचर्चित बनिसकेको छ । चलचित्र गिरी, निरौला र निर्मल शर्मासहितको हास्यकलाकारको टोलीले निर्माण गरेको हो । चलचित्रमा गिरी, प्रियङ्का कार्की, जितु नेपाल, नम्रता सापकोटा, शिवहरि पौडेल, केदार घिमिरे, बुद्धि तामाङ, वर्षा राउत, करुणा कार्की आदि कलाकारले अभिनय गरेका छन् ।

यसअघि सोही टोलीले बनाएका चलचित्र ‘छ एकान छ’ र ‘वडा नम्बर छ’ले सफलता पाइसकेकाले यो पनि सफल हुने अनुमान चलचित्र समीक्षकले गरेका छन् । चलचित्रमा कविराज गहतराजको नृत्य, रोशन श्रेष्ठको द्वन्द्व, पुरुषोत्तम प्रधानको छायाङ्कन, विपीन मल्लको सम्पादन तथा दीपक शर्मा र राजनराज शिवाकोटीको सङ्गीत छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 146

प्रतिक्रिया (०)

सम्बन्धित खबर