काठमाडौँ ।

जननेता विश्वेवश्वरप्रसाद कोइरालाको १०३ औँ जन्मजयन्ती शुक्रबार मनाइँदै छ ।
नेपालको राजनीतिक विकास क्रममा आदर्श राजनीतिज्ञका रुपमा स्थापित कोइरालाको जन्म विसं १९७१ भदौ २४ गते बनारसमा भएको थियो । कोइरालाले नेपाली जनतालाई अधिकार उपलब्ध गराउन जहानियाँ राणा शासनविरुद्ध सङ्घर्ष गर्नुभएको थियो । उहाँले भारतको स्वतन्त्रताका लागि समेत सङ्घर्ष गर्नुभएको थियो ।
उहाँ पटक पटक गरी करिब १२ वर्ष कारागार जीवन बिताउनुभएको थियो । विसं २००७ अगाडि भद्रगोल नजिकैको कारागार जीवनमा रहनुभएका कोइराला नेपाली समाजको गतिशीलता र प्रगतिका लागि चिन्तित हुनुहुन्थ्यो । उहाँले साथीहरुसँग मिलेर विसं २००३ मा नेपाली राष्ट्रिय काँग्रेस स्थापना गर्नुभएको थियो भने पछि विसं २००६ मा सुवर्णशम्शेरले स्थापना गरेको नेपाली प्रजातान्त्रिक काँग्रेससँग एकीकरण गरी कोइराला सभापति बन्नुभएको थियो । उहाँ विसं २००७ मा अन्तिम राणा प्रधानमन्त्री मोहनशम्शेरको मन्त्रिपरिषद्मा गृहमन्त्री बन्नुभएको थियो ।

विसं २०१५ फागुन ७ मा भएको संसद्को निर्वाचनमा पार्टीलाई बहुमत दिलाई उहाँ पहिलो जननिर्वाचित प्रधानमन्त्री भई मुलुकको नेतृत्व गर्नुभएको समयमा विसं १०१७ पुस १ गते तत्कालीन राजा महेन्द्रले उहाँको सरकारलाई अपदस्थ गरेपछि विसं २०१७ देखि ०२५ सालसम्म सुन्दरीजलस्थित बन्दीगृहमा बस्नुभएको थियो । नेपाली काँग्रेसका नेता तीर्थराम डङ्गोलले भन्नुभयो, “कोइराला नेपाली राजनीतिका शिखर पुरुष हुनुहुन्छ, उहाँको निष्ठाको आदर्शलाई सबै दलले बुझेर नेपालको राजनीतिलाई अगाडि बढाउनुपर्छ ।”
तत्कालीन राजाको सो कदमपछि प्रजातान्त्रिक समाजवादका संस्थापक नेता भारतमा निर्वासित हुनपरेकाले नेपाली समाजलाई प्रजातान्त्रिक अभ्यास र समयसापेक्ष प्रगति कायम गर्न अवरोध पुगेको थियो । कोइरालाको दर्शन तथा चिन्तनलाई स्वयम् काँग्रेसले छाड्दै गएको अवस्थामा उहाँलाई वर्षमा एक दिन सम्झेर मात्र खासै अर्थ नहुने विचार डङ्गोलले राख्नुभयो । भारतमा निर्वासित रहँदा पनि नेपालमाथि विदेशीको षड्यन्त्र भइरहेको थाहा पाएपछि राष्ट्रिय मेलमिलापको नीति लिएर कोइराला विसं २०३३ मा नेपाल फर्कनुभयो । त्यसपछि पनि उहाँलाई सुन्दरीजलमा दुई वर्ष कारागार जीवन बिताउन बाध्य बनाइयो ।
काँग्रेसका केन्द्रीय सदस्य पुष्पा भुसालले कोइरालाले नेपाली समाजलाई देखाउनुभएको बाटोमा विभिन्न राजनीतिक दल समन्वय र सहकार्य गरी हिँड्न सकेमा देशको उन्नति तथा जनताको भलो हुने बताउनुहुन्छ । उहाँले भन्नुभयो, “बिपीको निष्ठालाई युवा पुस्ताले अनुसरण गर्नुपर्छ ।”
बिपीको समाजवादमा ‘प्रत्येक नेपालीले गाई पालेर दुई छाक खान पुग्ने’ अवस्थाको परिकल्पना गरिएको छ । प्रत्येक गाउँमा विद्यालय र अस्पतालको समेत कल्पना गरिएको काँग्रेसका नेता तथा सांसद सञ्जय गौतमले जानकारी दिनुभयो । बिपी सफल राजनीतिज्ञका साथै सफल साहित्यकार समेत हुनुहुन्थ्यो । उहाँका ‘दोषी चस्मा’ कथासङ्ग्रह, ‘सुम्निमा’ ‘मोदिआइन’, ‘तीन घुम्ती’, ‘हिट्लर र यहुदी’, ‘बाबु, आमा र छोरा’, ‘नरेन्द्र दाइ’उपन्यास र कविता कृति प्रकाशित छन् । उहाँको निधन विसं २०३९ साउन ६ गते काठमाडौँमा घाँटीको अर्बुदरोगबाट भएको थियो ।




