Aamsanchar

चुनावी नारा मात्र बन्यो मेची राजमार्ग निर्माण

Author Image
आइतवार, भदौ २६, २०७३

(मोहम्मद सदरुल)

भद्रपुर ।

4cd41e14131556324707e6f779d4c881

पूर्वी नेपालको झापा, इलाम, पाँचथर र ताप्लेजुङ जिल्लालाई जोड्ने रणनीतिक महत्वको मेची राजमार्ग निर्माणमा ढिलाइ भएपछि यस क्षेत्रकै जनतामा निराशा छाउन थालेको छ । मेची राजमार्ग निर्माण गर्ने कुरा २०२८ सालदेखि उठ्दै आएको छ ।

विकास र समृद्धिको कुरा गर्ने राजनीतिक पार्टीका नेताले यही विषयलाई उठाउँदै जनताको मत लिएर सांसद, सभासद् र मन्त्री समेत बनिसकेका छन् तर राजमार्ग निर्माणले अन्तिम रुप लिन सकेको छैन । झापाको केचना कवल (नेपालको सबैभन्दा होचो स्थान) बाट ताप्लेजुङको सदरमुकामसम्मको २६८ किमी बाटोलाई मेची राजमार्ग भनिन्छ ।

हाल ताप्लेजुङको सदरमुकामदेखि चीनसँगको सीमावर्ती ओलाङचुङगोलासम्मको थप १२३ किमी बाटोलाई मेची राजमार्गमा गाभिएको सडक डिभिजन कार्यालय दमकले जनाएको छ । मेची राजमार्ग झापाको महेन्द्र राजमार्गको चारआलीदेखि ताप्लेजुङसम्म २२९ किमी बाटो पक्की भइसकेको छ । यो मार्गलाई पूर्णता दिन केचनाकवलदेखि चारआलीसम्म ३९ किमी हुलाकी मार्गको फिडर सडक आवश्यक हुन्छ, जुन भारत सरकारले निर्माण गर्ने भनिएको छ ।

ताप्लेजुङ्देखि ओलाङचुङगोलासम्म १२३ किमी बाटो अहिले पनि धुलाम्मे तथा कच्ची नै छ । इलाम, पाँचथर र ताप्लेजुङभित्रको २२९ किमी बाटो पाँच वर्षअघि नै निर्माण भइसकेको छ भने केचनाकवलदेखि चारआलीसम्मको ३९ किमी बाटो निर्माण नहुँदा जनतामा निराशा छाएको छ ।

केचनाकवलदेखि चारआलीसम्मको सडक निर्माण गर्न भारतको हैदराबादका ठेकेदारले ठेक्का लिई काम सुरु गरेको केही महिनापछि नै काम छाडी भागेको बताइएको छ । केही महिनापहिले नेपाल सरकारले सो बाटो बनाउने र भारतीय प्राविधिकले रेखदेख गर्ने कुराले पनि बाटोमा समस्या उत्पन्न भएकाले अहिले निर्माणका सबै पक्ष नेपाल सरकारकै जिम्मा आएको छ ।

विकास एवम् उत्पादनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने मेची राजमार्गको निर्माणले यस क्षेत्रको विकास र जनताको जीवनस्तर उक्सिनेमा दुई मत नरहेको केचना निवासी समाजसेवी पञ्चानसिंह राजवंशीले बताउनुभयो ।

उहाँले मेची राजमार्गको निर्माण सम्बन्धी कुरा जनमतसङ्ग्रह, २०४६ सालको राजनीतिक परिवर्तन र २०६२ सालको ऐतिहासिक जनआन्दोलनसँगै दुईपटकको संविधानसभाका बेलामा पनि प्रमुख प्राथमिकताका साथ उठेको हो तर हालसम्म उक्त राजमार्ग निर्माण हुन नसकेकामा चिन्ता व्यक्त गर्नुभयो ।

राजमार्ग निर्माणका लागि भारतीय ठेकेदारले डोजर, पिङल तथा स्काभेटर पृथ्वीनगर गाविसमा थन्क्याएर भाग्नुको कारण पनि कसैले नखोज्नु दुःखको कुरा रहेको केचना निमाविका प्रधानाध्यापक अमरसिंह राजवंशीले बताउनुभयो ।

सो बाटोसँग जोडिएको भद्रपुर नगरपालिका तथा पृथ्वीनगर, बनियानी, केचना, बालुवाडी, पथरिया, पाठामारी, दुवागढी, पहिलेको चन्द्रगढी र घेरावारी गाविसका जनतालाई यातायातको निकै असुविधा भइरहेको छ । अहिलेको बर्षातले बाटामा खाल्डाखुल्डी भएर सवारी दुर्घटना हुने सम्भावना बढेर गएको छ । आधी घन्टामा सदरमुकाम चन्द्रगढी आइसकिने बाटोमा दुई घन्टाभन्दा बढी खर्चिनु परिरहेको दक्षिणी क्षेत्रका जनताको गुनासो छ । बाटोमा सुक्खायाममा धुलाम्मे र बर्सातको समयमा हिल्लाम्मे स्थितिले गर्दा त्यस क्षेत्रका जनतामा सुक्खा मौसममा श्वास प्रश्वासको समस्या देखिने र वातावरणमा पनि नराम्रो असर पर्ने गरेको बताइएको छ ।

दर्जनाँै चिया बगान रहेको यस क्षेत्रमा बाटोको सुगमता भए उत्पादन, बजार एवम् रोजगारमा वृद्धि हुने स्थानीयवासीको विश्वास छ । मेची राजमार्गको केचनाकवलदेखि चारआलीसम्म पर्ने पुल, कल्भर्टजस्ता संरचनाहरु पूर्ण रुपमा निर्माण भइसकेका छन् । बाटोको छेउमा रहेको टेलिफोन र बिजुलीको खम्बा केही स्थानबाहेक अन्य स्थानको सारी सकिएको छ तर बाटो कहिले निर्माण हुने कुरा अहिले पनि अन्योल नै देखिन्छ । मेची राजमार्ग हेर्ने हुलाकी मार्ग निर्माण योजना कार्यालय सुनसरी इटहरीका अनुसार भारत सरकारको ठेक्का टुटेपछि बाटोको स्तरोन्नति गर्न सरकारले एक वर्ष पहिले रु ६० लाख दिए पनि बाटाको स्तरोन्नति हुन सकेनन् ।

यस्तै, जिविस झापाका स्थानीय विकास अधिकारी खेमराज ओभाले यो बाटो नबन्दा जनतामा जुन दुःख र कष्ट देखिएको छ त्यसालाई तत्काल निराकरण गर्न सरकारले ठोस कदम चाल्नुको विकल्प नरहेको कुरामा जोड दिनुभयो ।।

मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक)का राष्ट्रिय उपाध्यक्ष एवम् भद्रपुर नगरपालिकाका पूर्वप्रमुख भारतेन्दुकुमार मल्लिकले जबसम्म मधेसमा अधिकारसहितको सङ्घीयता आउँदैन तबसम्म मधेसमा विकास हुन नसक्ने दाबी गर्नुभयो ।

नेपाल भारत मैत्री सङ्घका अध्यक्ष एवम् समाजसेवी ओम सरावगीले देशभरिमा उत्तर–दक्षिणका करिब १९ वटा सडक हुलाकी मार्ग भनेर पहिचान एवम् परिभाषित गरिएको छ भन्दै केचनाकवलदेखि चारआलीसम्मको बाटो निर्माण गर्न भारत सरकारले लगाएको ठेक्काअनुसार नेपाल सरकारका तर्फबाट गरिने कार्य जस्तै बिजुली र टेलिफोनको खम्बा सार्नुपर्ने, सडक अतिक्रमण गरी बनाइएका घर हटाउने एवम् मुआब्जा दिने तथा नेपाल सरकारले निर्माण गर्नुपर्ने पुलपुलेसाजस्ता कार्य समयमै सम्पन्न हुन सकेकाले बाटो निर्माण गर्दै गरेका ठेकेदारले काम छाडी भारत सरकारलाई हर्जानासहितको दाबी रकम माग गर्दै अदालतमा मुद्दा हालेको जानकारी दिनुभयो ।

अहिले यो बाटो नेपाल सरकारले नै बनाउने तर लाग्ने खर्च भारत सरकारले व्यहोर्ने कुराले निर्माण कार्यले गति लेला कि समाजसेवी सरावगीले आशा व्यक्त गर्नुभयो ।  झापाको निर्वाचन क्षेत्र नं १ र २ मेची राजमार्गभित्र परेको र निर्वाचन क्षेत्र नं ३ र ४ हुलाकी मार्गको फिडर सडक परिभाषित गरिएको केचनाकवलदेखि चारआलीसम्मको सडक अब छिट्टे बनिने पूर्वउपप्रधान एवम् गृहमन्त्री तथा झापा निर्वाचन क्षेत्र नं ३ का सांसद कृष्णप्रसाद सिटौलले बताउनुभयो । उहाँले यो सडक बनाउन नेपाल सरकारले बोलपत्र आह्वान गरिसकेको र निर्माणका लागि चाँडै शिलान्यास हुने कुराबाट सरोकारवालालाई आश्वस्त पार्नु भयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 87

प्रतिक्रिया (०)

सम्बन्धित खबर