श्रीमान पशुपतिले दिएको दुःख र सास्तीको भोगाई
झापा ।
कनकाई–१ की रुपा मैनाली ओली सिलाइ–बुनाइबाटै महिनाको रु ५० हजारभन्दा बढी आम्दानी गर्न सफल भएकी छिन् ।
जिल्लाकै उत्कृष्ट ‘ड्रेस डिजाइनर’ ओलीले दैनिक १५ देखि २० महिलालाई प्रशिक्षण दिएरै सो आम्दानी गर्दै आएकी हुन् । सुरुङ्गा चोकदेखि २०० मिटर दक्षिणमा उनको सिलाइकटाइ डिजाइनर सेन्टर छ । उनले सिलाइकटाइसँगै चाहिने सबै किसिमका सामग्रीको पसल खोलेकी छिन् । उनले सिलाएका मखमलका ब्लाउज, लेहङ्गा, अनारकली र मटकली अस्ट्रेलिया र अमेरिकासम्म पुग्ने गर्छ ।
मेहनतकै फल भन्नुपर्छ, उनलाई यतिबेला पैसाको खाँचो छैन । चल्तीको महिनामा खर्च कटाएर पनि रु एकदेखि रु दुई लाख र अन्य समयमा भने रु ५० हजारसम्म आम्दानी हुने रुपाले बताइन् । उनी भन्छिन्–“मैले सीप सिकाएका धेरै दिदीबहिनी अहिले सिलाइ सेन्टर खोलेर स्वरोजगार भएका छन् । कति त प्रशिक्षक नै छन् ।” रुपाले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्बाट ‘ड्रेसमेकर’को तालिम पूरा गरेकी हुन् ।
विसं २०३५ मा जन्मिएकी झापा चकचकी–७ की रुपाको त्यहाँसम्म आउनका लागि गरेको दुःख र सास्तीको कथा लामो छ । विसं २०५४ मा कनकाई क्याम्पस पढ्दै गर्दा स्थानीय मार्सल आर्टका प्रशिक्षक पशुपति ओलीसँग विवाह भयो । विवाहपश्चात् काठमाडौँ पुगेका ओली दम्पती लामो समयसँगै बस्न पाएनन् । रुपा सिनामङ्गलस्थित पिस प्वाइन्ट बोर्डिङ स्कुलमा पढाउन थालिन् । पशुपति भने सिङ्गापुर जान तयार भए । तर उनीहरूसँग पैसा थिएन । आफूले काम गर्ने स्कुलमा एक वर्षभरिको तलब मागेर रुपाले उनलाई सिङ्गापुर पठाइन् ।
सिङ्गापुर पुगेका पशुपतिले धेरै पैसा पठाउँछन् र सुख पाइएला भन्ने रुपाको सोच क्षणमै चकनाचुर भयो । झन् सङ्कट आइलाग्यो, पशुपति सम्पर्कविहीन भए । वर्षभरिको तलब एकैचोटि ल्याएर श्रीमान्लाई सिङ्गापुर पठाएकी उनले त्यसपछि स्कुलसँगै ट््युसन पढाएर दैनिकी चलाइन् । डेढ वर्षपछि श्रीमान् आइपुगे । उनी खुसीले पुलकित भइन् । त्यस बेलासम्ममा उनीसँगै छोरा रोवर्ट पनि थियो । तर त्यो खुसी क्षणभर टिक्न सकेन । आएको केही दिनदेखि नै पशुपति र उनीबीच झगडा सुरु भयो । त्यसपछि छिटो पैसा कमाउने भन्दै पशुपतिले सिङ्गापुर लैजाने बहाना बनाएर आफन्त, नातागोता र अन्यसँग रु १३ लाख असुलेर भागेपछि रुपालाई प्रहरीले हनुमान ढोका पु¥यायो । उनी भन्छिन्–“उसका सबै कर्तुत प्रहरीलाई भनिदिएँ, अनि म छुटे ।”
त्यसपछि ओली दम्पती झापा फर्किएँ । दैनिक रक्सी सेवन गरेर परिवारलाई दुःख दिन थालेपछि परिवारकै सल्लाहमा पशुपतिलाई विदेश पठाउने निर्णय भयो । साहुसँग ऋण खोजेर विदेश पठाएको श्रीमान्ले काठमाडाँैंतिरै बस्ने चरिकोटकी अर्की केटीसँग विवाह गरे । “दुःख पाएपछि जागिर खोजेँ, तर कतै केही पाइन”, रुपाले अलि भावुक मुद्रामा भनिन्–“अनि सिलाइबुनाइ सिकेँ, बुबाले मेसिन खरिद गरी दिनुभयो र व्यवसाय पनि सुरु गरेँ ।” तर त्यतिबेला त्यति सजिलो थिएन कपडा सिलाउने काम । सुरुका दिनमा परिवारका अग्रजबाट पनि हौसला पाइनन् उनले । काम सिक्न आउनेलाई पनि गाली गर्ने र आफूलाई पनि ‘के लुगा सिलाएर बसेकी’ भनेर मानसिक यातना दिने काम परिवारबाटै भयो । तर पनि उनले व्यवसायलाई निरन्तरता दिइन् । २०६३ सालमा दोस्री पत्नीले पनि छोडेपछि पशुपति घर फर्किए ।
पशुपतिको शारीरिक र मानसिक यातनाले उनी बिरामी भइन् । “खाली तनावमै बाँच्नुपथ्र्यो, जीवनदेखि हार खाएर एकपटक विष पनि पिएँ”, उनले थपिन्–“आफन्तले उपचारका लागि धरान बिपी मेमोरियल पु¥याएर बचाएछन्, फेरि बाँचेर केही गर्ने अभिलाषा ममा जाग्यो ।” रुपाका माइतीपक्षले अस्पतालबाट फर्किएपछि उनलाई पशुपतिसँग नजान सुझाए । त्यही अनुरुप उनले कनकाई कलेजमा डेरा गरी पढ्दै गरेका बहिनीहरूसँगै बसेर पुनः सिलाइबुनाइ व्यवसाय सुरु गरिन् । एउटा मेसिनबाट सुरु गरेको व्यवसायले मनग्यै आम्दानी दिएपछि आफ्नोे आत्मबल बढेको उनी बताउँछिन् । छोरालाई त्यही व्यवसाय सञ्चालन गरेर ११ कक्षामा पढाइरहेको उनले बताइन् । यही व्यवसायबाट सुरुङ्गामा ३५ लाखमा जग्गासमेत खरिद गरेकी छिन् ।
रुपाको मात्र होइन यतिबेला थुप्रै हिंसापीडित महिलाको सहारा बनेको छ, सिलाइकटाइ । त्रिदेव क्याम्पसकी अध्यापिका सावित्रा दाहाल पनि यसमा सहमत छिन् । पछिल्लो समय सिलाइबुनाइ व्यवसायमा महिलाको आषर्कण बढ्दै गएको उनको टिप्पणी छ । उनले भनिन्– “महिलामा आत्मनिर्भर बन्नुपर्छ भन्ने चेतनाको विकास भएको र सानो पुँजीबाट सुरु गर्न सकिने हुँदा यो व्यवसायमा महिला बढी आकर्षित छन् ।”