महाभूकम्प, बाढीपहिरो, सडक दुर्घटना, राजनीतिक अस्थिरता, असन्तुलित खानपानलगायतका कारण हराएको निद्राले नेपालीलाई मानसिक रोगतिर धकेल्दैछ।
३५ वर्षका हरिप्रसाद (नाम परिवर्तन) काठमाडौंको एक अस्पतालमा बहिरङ्ग विभाग इन्चार्ज छन्। आफ्नो गाउँको विद्यालय व्यवस्थापन समितिमा समेत रहेका उनलाई अस्पतालमा आर्थिक हिनामिनाको आरोप लाग्यो।
हँसमुख र जस्तोसुकै समस्यालाई पनि छलफलबाट मिलाउन खोज्ने उनलाई त्यसैको तनावले निद्रा पर्न छाड्यो। दुई वर्षबाट मानसिक रोग विशेषज्ञ सरोजप्रसाद वझाको परामर्शमा रहेका उनलाई राति निदाउन जति मुश्किल पर्छ, त्यति नै गाह्रो हुन्छ दिउँसो काममा ध्यान केन्द्रित गर्न।
त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा कार्यरत डा. वझाका अनुसार, हरिप्रसादलाई इन्सोम्निया भएको छ। इन्सोम्निया हुँदा निदाउन गाह्रो पर्छ, निदाए पनि झ्सङ्ग भएर बिउँझिने समस्या हुन्छ। शिक्षण अस्पतालको मानसिक रोग, बहिरङ्ग विभागमा दैनिक आउने सरदर ८० बिरामीमध्ये ६० जनामा इन्सोम्निया देखिन थालेको डा. वझा बताउँछन्।
हरिप्रसाद जस्तै इन्सोम्नियाबाट ग्रस्त छन्, धनगढीका २१ वर्षीय रमेश थापा (नाम परिवर्तन) पनि। २१ भदौयता उनको उपचार गरेका ललितपुरको लगनखेलस्थित पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका मानसिक रोग विशेषज्ञ रवि शाक्य त्यति वास्ता नगरिएको अनिद्राको समस्याले नसोचेको रूप लिन थालेको बताउँछन्। उनका अनुसार, निद्रा नलाग्ने (इन्सोम्निया) समस्या मानिसका लागि बढ्ता निद्रा लाग्ने हाइपरसोम्नियाभन्दा खतरनाक हुन्छ।
मानव स्वास्थ्यको लागि शान्त र अँध्यारो कोठामा ६ देखि ८ घण्टा निदाउनु उत्तम हुने मनोचिकित्सकहरू बताउँछन्। त्यसरी सुत्दा दिनभर कामका बेला सक्रिय हुने मस्तिष्कका अर्बौं नसाले आराम पाउँछन्। मस्तिष्कले आराम पाउनु भनेको मुटुले पनि आराम पाउनु हो।
अँध्यारो कोठामा गहिरो निद्रा लाग्दा मस्तिष्कमा शरीरलाई फाइदाजनक रसायनहरू उत्पादन हुने डा. वझा बताउँछन्। उनी भन्छन्, “उज्यालोमा सुत्दा निद्रा लागे पनि बिहान ताजापन महसूस नहुनुको कारण त्यही हो।”
उनका अनुसार, अनिद्रा अर्थात् इन्सोम्निया मानसिक रोगको प्रमुख कारण हो। यसलाई लक्षण पनि भन्न सकिन्छ। धेरै मानिसलाई अनिद्रा के हो र के कारणले यस्तो हुन्छ भन्ने थाहा नहुँदा लक्षणहरू देखिंदा पनि परामर्श र चिकित्सकीय सेवा लिन ढिलो हुन्छ।
निद्रा नपरेपछि टाउको दुख्ने, स्मरण शक्ति घट्ने, एकाग्रपन नहुने आदि समस्या हुन्छ। कान्तिपुर अस्पतालका मानसिक रोग विशेषज्ञ डा. नगेन्द्र कटुवाल तनाव, डर, उदासी, छटपटी, नशालु पदार्थको लत र अनावश्यक औषधि सेवन आदिले मानिसलाई अन्ततः इन्सोम्नियाकै चरणमा पुर्याउने बताउँछन्।
बढ्दो जोखिम
मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र नेपाल (सीएमसी) का अध्यक्ष डा. कपिलदेव उपाध्याय बढ्दो सामाजिक सञ्जालको प्रयोगले नेपालमा इन्सोम्निया, एन्जाईटी (डराउने, आत्तिने, सानो कुरा पनि मनमा खेलाइरहने, दुःखी हुने, सोसल फोबिया) जस्ता मानसिक समस्या चर्को रूपमा बढेको बताउँछन्।
राति दुई/तीन बजेसम्म फेसबूकमा अनेक किसिमका संवाद गर्दै र यूट्यूबमा भिडियो हेरेर बस्दाबस्दै इन्सोम्नियाको शिकार हुनेहरू बढिरहेको डा. उपाध्याय बताउँछन्। उनी भन्छन्, “एन्जाईटीको समस्या पनि उत्तिकै चर्केको छ।”
तराईका जिल्लाहरूमा अनिद्राको समस्या झ्न् चर्को भए पनि कसैको ध्यान जान नसकेको डा. उपाध्याय बताउँछन्। एकपछि अर्को आन्दोलन र भारतीय नाकाबन्दी पछिको तराई–मधेशमा विभिन्न कारणले इन्सोम्निया, एन्जाईटी आदिको समस्या बढेको सहजै अनुमान गर्न सकिन्छ।
त्यस्तै एक उदाहरण हुन्, मर्यादपुर–२ रौतहटका रामहित यादव (५४)। जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, पर्साका इन्जिनियर रहेका उनी आफूलाई सानैदेखि अनिद्राको समस्या भएको बताउँछन्।
अनिद्राकै कारण आफूलाई मधुमेह, उच्च रक्तचाप जस्ता समस्या आइलागेको उनले बताए। उपचारका लागि भारतका विभिन्न शहर पुगे पनि वीरगञ्जका डा. अरुण झालाई भेटेपछि अलि बिसेक भएको इन्जिनियर यादवले बताए।
वीरगञ्जकै नारायणी उपक्षेत्रीय अस्पतालमा कार्यरत जनरल फिजिसियन डा. राकेश झा अस्पतालको बहिरङ्ग विभागमा भर्ना हुने बिरामीमध्ये ५० प्रतिशतमा अनिद्राको समस्या देखिएको बताउँछन्। तराईमा गर्मी र लामखुट्टे बढेपछि त्यसै पनि मानिसहरूको निद्रा खल्बलिन्छ।
त्यसमाथि अहिले पारिवारिक, सामाजिक, आर्थिक, राजनीतिक आदि पक्षसँग जोडिएका समस्याले आम मनोदशालाई अशान्त पारेको छ। पारिवारिक, सामाजिक, सांस्कृतिक, आर्थिक कारणले हुने अनिद्राको विश्लेषण गर्ने हो भने पुरुषभन्दा महिला बढी पीडित देखिने डा. झा बताउँछन्।
सामान्य रूपमा लिने गरिएको अनिद्रा नेपालमा जटिल स्वास्थ्य समस्याका रूपमा अगाडि आउन लागेकोमा मनोचिकित्सकहरू एकमत छन्।
उनीहरूका अनुसार, आमनागरिकको मानसिक–शारीरिक स्वास्थ्य र दिनचर्यासँग जोडिएको यो समस्यामा सबैको ध्यान पुग्नु जरूरी छ। किनभने, मानिस सुत्नै सकेन भने उसका सपनासँगै जीवनका योजनाहरू पनि भताभुङ्ग हुन्छन्।
विश्वव्यापी समस्या
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार, विकासोन्मुख देशहरूमा १५ करोड वयस्क मानिसलाई अनिद्राको समस्या छ। २१ देशका ५१ हजार ५४७ जनामा डब्लूएचओले गरेको एक अनुसन्धानमा ४.६ प्रतिशतलाई अनिद्रा, डिप्रेसनलगायतका मानसिक समस्या देखिएको थियो। यसरी विश्वमा मानसिक रोग बढ्दै गएको देखिएपछि संयुक्त राष्ट्रसंघले दिगो विकास सम्बन्धी लक्ष्यमा मानसिक स्वास्थ्यलाई पनि समावेश गरेको छ।
डब्लूएचओको तथ्याङ्क अनुसार दक्षिणपूर्वी एशियाली मुलुकहरूका २० प्रतिशत मानिस विभिन्न खालका मानसिक समस्याबाट प्रभावित छन्। हालसालै अमेरिकाको हार्वर्ड विश्वविद्यालयले गरेको सर्वेक्षणले पनि दक्षिणपूर्वी एशियाका २० प्रतिशत मानिस मानसिक समस्याबाट पीडित रहेको देखाएको छ। त्यस अनुसार, दक्षिणपूर्वी एशियाका प्रत्येक पाँचमध्ये एकजना मानसिक समस्यामा छन्।
त्यस्तै, दक्षिण अफ्रिकाको कुल जनसंख्यामध्ये १६.५ प्रतिशत डिप्रेसन, एन्जाईटी र कुलतको चपेटामा छन्। बहुसांस्कृतिक मनोसामाजिक संस्था (टीपीओ), नेपालले मानसिक स्वास्थ्यका विषयमा १५ भदौमा आयोजना गरेको कार्यक्रममा सहभागी हुन काठमाडौं आएका केपटाउन विश्वविद्यालयको मानसिक रोग विभागका प्रोफेसर क्रिक लन्ड्ले दक्षिण अफ्रिकीहरू डिप्रेसन, एन्जाईटी र कुलतका कारण अनिद्राको समस्यामा परेको हिमाल सँग बताएका थिए।
डब्लूएचओका अनुसार, विश्वभरका कम आय भएका मुलुकमा ८५ प्रतिशत मानिस मानसिक समस्यामा छन्। त्यसमाथि द्वन्द्व तथा कुनै पनि किसिमको अशान्ति थपिंदा इन्सोम्निया, एन्जाईटी, डिप्रेसनलगायतका मानसिक समस्या बढ्ने डब्लूएचओको मानसिक स्वास्थ्य सेवा, अनुसन्धान तथा तालीम केन्द्रका निर्देशक रहेका प्रा. डा. जोसे लुइस आयुसो माटियोज् बताउँछन्।
हिंसात्मक द्वन्द्वकालमा नेपालमै पनि ४० प्रतिशत मानसिक रोगी थपिएको विभिन्न अध्ययनले देखाएका थिए।
भूकम्पपछि इन्सोम्निया
१२ वैशाख २०७२ को भूकम्पमा बाबुआमा गुमाएकी धादिङकी ९ वर्षीया टीका (नाम परिवर्तन) लाई डराउने, नखाने, निद्र नलाग्ने समस्या भएपछि आफन्तहरूले काठमाडौं मोडल अस्पताल ल्याए।
उनको उपचारमा संलग्न वरिष्ठ मानसिक रोग विशेषज्ञ कपिलदेव उपाध्याय डरकै कारण उनमा इन्सोम्निया भएको बताउँछन्। उनका अनुसार, जुनसुकै मुलुकमा पनि प्राकृतिक वा मानव सिर्जित विपत्पछि तनाव भएर अनिद्राको समस्या बढ्नु स्वाभाविकै हो।
१२ वैशाखको महाभूकम्पमा आठ हजार ९६९ जनाको ज्यान गयो, साढे चार लाख भन्दा बढी विस्थापित र साढे आठलाख मानिसहरू प्रभावित भए।
भूकम्पमा परिवारजन र बास गुमाएका पीडितहरूमा घरभित्र बस्न डराउने, घर भत्केका ठाउँमा जान नमान्ने, खान मन नगर्ने, निद्रा नलाग्ने, काप्ने जस्ता समस्या देखिएका छन्। लण्डनको किंग्स कलेजको स्वास्थ्य सेवा तथा जनसंख्या विभाग प्रमुख रहेका प्रा. ग्राम थोर्निक्रफ्ट भूकम्पलगायतका प्रकोप पीडितहरूलाई मनोसामाजिक परामर्श अत्यावश्यक हुने बताउँछन्।
मानसिक रोग सम्बन्धी कार्यक्रममा सहभागी हुन १५ भदौमा काठमाडौं आएका प्रा. थोर्निक्रफ्ट भन्छन्, “आघातपूर्ण घटनापछिको तनावपूर्ण अवस्था (पीटीएसडी) ले उनीहरूको निद्रा खलबल्याएको छ।”
यातना पीडित सरोकार केन्द्र (सिभिक्ट), नेपालले नौ जिल्लामा गरेको अध्ययनले पनि भूकम्प पीडितहरूमा डर, अनिद्रा र तनावको मात्रा उच्च रहेको देखाएको छ। उनीहरूमा राम्रोसँग निद्रा नपर्ने र निदाइहाले पनि डरलाग्दो सपना देख्ने समस्या देखिएको संस्थाकी कार्यक्रम निर्देशक जमुना पौडेल बताउँछिन्।
उनका अनुसार, भूकम्पबाट बढी प्रभावित गाउँहरूमा बालबच्चामा डराउने र किशोरावस्थाका स्कूलेहरूमा कन्भरजन् डिस्अर्डर (एकैचोटि धेरै जना बेहोश हुने) को समस्या देखा परेको छ।
भूकम्पमा घर लडेपछिको आर्थिक संकटमा काभ्रेकी जुना थापा (३०) लाई अनिद्राले सताउन थाल्यो। आफ्नै अगाडि घर ढलेको देखेकी सिन्धुलीकी तृषा कुँवर (१४) लाई पनि त्यसैत्यसै डर लाग्ने, समूहमा बस्न नसक्ने र निद्रा नलाग्ने समस्या भयो। भूकम्प प्रभावित १४ जिल्लाका जुना, तृषा जस्ता ९३ हजार ८४४ जनालाई मनोसामाजिक परामर्श दिएको बताउने सिभिक्टका कार्यक्रम निर्देशक पौडेल भन्छिन्, “तीमध्ये ९० प्रतिशतलाई अनिद्राको समस्या भएको देखिएको छ।”
बहुसांस्कृतिक मनोसामाजिक संस्था (टीपीओ) नेपालले काठमाडौं, गोरखा र सिन्धुपाल्चोकका ५१३ जना भूकम्पपीडितमा गरेको अध्ययनले पनि ५५.८ प्रतिशतमा अनिद्राको समस्या पाएको छ। (हे.इन्फो)
टीपीओ नेपालका अनुसन्धान प्रबन्धक नगेन्द्र लुइँटेल भूकम्पपछिका निरन्तर परकम्पका कारण मानिसहरूमा डराउने, आत्तिने र अनिद्राको समस्या बढेको बताउँछन्। भूकम्पअघि भएका अध्ययनहरूले नेपालमा १५ देखि २० प्रतिशतसम्म देखाएको मनोसामाजिक समस्या अहिले बढेर ३० प्रतिशतभन्दा माथि पुगेको अनुमान छ।
तर, भूकम्पपछिको डेढ वर्षमा पनि सबैको ध्यान भौतिक पुनर्स्थापना र पुनर्निर्माणकै समस्यामा तानिएको छ, पीडितहरूको मानसिक स्वास्थ्य मुद्दा बन्न सकेको छैन।
डब्लूएचओका अनुसार पनि आपत्कालीन घटनापछि कुनै पनि देशमा मानसिक रोगका बिरामी १० देखि १५ प्रतिशत थपिन्छन्। त्यस्तो बेला मद्यपान गर्नेहरूको संख्या ह्वात्त बढ्छ।
नेपालमा महाभूकम्पपछिको अवस्थामा मनमा आइरहने डर र अनिद्रा हटाउने मनोद्दीपक (मानसिक रोगका बिरामीले खाने) औषधिहरूको खपत पनि ह्वात्त बढेको टीपीओ नेपालका डा. पवन शर्मा बताउँछन्।
उपचारपछिको खुशी
भूकम्पपछि राति निद्रा नपर्ने समस्या देखिंदा दोलखा, क्षेत्रपाकी युनिसा उग्रकोटी (१९) लाई आफन्तले स्वास्थ्य चौकी पुर्याए। नियमित औषधि सेवनले उनमा सुधार आएको स्वास्थ्य चौकीका हेल्थ असिस्टेन्ट मौसम कर्ण बताउँछन्। दोलखाकै भीरकोट स्वास्थ्य चौकीका इन्चार्ज दलबहादुर खड्का मनोसामाजिक परामर्शसँगै नियमित औषधि पाएका ८ जनाको स्वास्थ्यमा सुधार आएको बताउँछन्। तिनैमध्येकी एक हुन्– भीरकोट– २ की सविता थापा। भूकम्पपछि डराउने र निद्रा नलाग्ने समस्याबाट पीडित उनी मनोद्दीपक औषधि खाइरहेकी छन्। अहिले बिसेक भएको उनको अनुभव छ। त्यस्तै, सुनखानी स्वास्थ्य चौकीमार्फत मनोसामाजिक परामर्श र मानसिक स्वास्थ्य सम्बन्धी औषधि खाएका १० जना पहिलेकै अवस्थामा फर्किन थालेका छन्। भूकम्पपछि दोलखा जिल्लाका स्वास्थ्य संस्थाहरूले ८०० भन्दा बढी पीडितलाई मनोसामाजिक परामर्श र मानसिक रोगसँग सम्बन्धित औषधि उपलब्ध गराएका थिए।
औषधिको खपत बढ्यो
औषधि व्यवस्था विभागका अनुसार आर्थिक वर्ष २०७२/७३ मा नौ वटा आयातकर्ता र सात वटा औषधि कम्पनीले २४६ किलो नाइट्राजेपाम, लोराजेपाम, अक्साजेपाम, टिमाजेपाम, डाइजेपाम, क्लोरडाइजिपोक्साइड, क्लोनाजेपाम र एम्फ्टामिन तथा बार्बिटोन गरी १२ थरीका मनोद्दीपक औषधिको मोलिक्युल (औषधि बनाउने कच्चा पदार्थ) आयात गरेका थिए।
क्लोनाजेपाम मोलिक्युलबाट २६ वटा औषधि कम्पनीले विभिन्न एमजीका मनोद्दीपक औषधिहरू बनाउने गरेका छन्। यस्तै क्लोरडाइजिपोक्साइड १२, डाइजेपाम १४, नाइट्राजेपाम सात, लोराजेपाम १६ र अल्प्राजोलाम मोलिक्युलबाट ४३ वटा कम्पनीले विभिन्न एमजीका मनोद्दीपक औषधिहरू उत्पादन गरिरहेका छन्।
नेपाल औषधि व्यवसायी संघका केन्द्रीय अध्यक्ष मृगेन्द्रमेयर श्रेष्ठ नेपालमा वार्षिक करीब डेढ अर्ब रुपैयाँको मनोद्दीपक औषधि खपत हुने बताउँछन्।
उनका अनुसार, यस्ता औषधिको वार्षिक उत्पादन वृद्धिदर १५ देखि २० प्रतिशत छ। खपत बढेर उत्पादन बढेकोमा शंका छैन। जस्तो, गत ३० वैशाखदेखि ३० साउनसम्ममा तीनकुनेको कान्तिपुर अस्पतालमा मानसिक रोगको उपचार गर्न आएका २३ बिरामीले नजिकैको लामा फार्मेसीबाट ५३९ वटा क्लोनाजेपाम ट्याब्लेट किनेका थिए।
पछिल्लो समय मनोद्दीपक औषधिको खपत आकाशिएको यसले देखाउँछ। औषधि पसलहरूबाट चिकित्सकको सिफारिशमा किनबेच भएका बाहेक भूकम्प प्रभावित जिल्लामा पुगेका गैर–सरकारी संस्थाहरूले पनि मनोद्दीपक औषधिहरू वितरण गरे। टीपीओ नेपालले रामेछापमा मात्र डिप्रेसन र एन्जाईटीका बिरामीहरूलाई ८४ हजार र दोलखामा एक लाख पाँच हजार ८०० थान २५ एमजीको एमिटि्रप्टिलिन ट्याब्लेट बाँड्यो।
त्यस्तै, रामेछापमा १५ हजार ९०० थान र दोलखामा ३६ हजार ६०० थान ७५ एमजीको एमिटि्रप्टिलिन ट्याब्लेट वितरण गरेको थियो। त्यस्तै, गोरखा जिल्ला जनस्वास्थ्य कार्यालयले जिल्लाभर मनोसामाजिक समस्या देखिएका ९७८ जना भूकम्पपीडितलाई मनोद्दीपक औषधिहरू वितरण गर्यो। (हे.इन्फो)
टीपीओ नेपालले रामेछापमा ‘साइकोसिस’ का बिरामीहरूलाई १०० एमजीको क्लोरप्रोमाजिन २४ हजार र दोलखामा ३२ हजार ट्याब्लेट, रामेछापमा २०० एमजीको सोही औषधि ३७ हजार ५०० र दोलखामा एक लाख ३५ हजार ४०० थान ट्याब्लेट वितरण गर्यो।
जिल्ला स्वास्थ्य कार्यालयका अनुसार दोलखामा २०० एमजीको एक लाख पाँच हजार ७५० ट्याब्लेट कारवामाजेपिन ट्याब्लेट र ५ एमजीको १४ हजार ३०० ट्याब्लेट डाइजेपाम् ट्याब्लेट वितरण गरियो। टीपीओ नेपालका कार्यक्रम प्रबन्धक लुइँटेल मनोसामाजिक समस्या देखिएका भूकम्पपीडितलाई यस्ता औषधि बाँडिएको बताउँछन्।
हिमालबाट