नेपालमा अझै पढ्ने उमेरका १० लाख बाललबालिका स्कुल नजाने गरेकाले उनीहरु आधारभूत शिक्षाबाट वञ्चित हुने अवस्था कायमै रहेको शिक्षा मन्त्रालयले तयार पारेको एक प्रतिवेदनले देखाएको छ।
विहिबार राजधानीमा सार्वजनिक गरिएको उक्त प्रतिवेदनका अनुसार विद्यालय नजाने मात्र नभई बीचैमा पढाई छाड्नेहरुको संख्या पनि निकै धेरै छ।
कारण
राष्ट्रसंघीय निकाय र नेपाल सरकारले संयुक्त रुपमा तयार पारेको ‘विद्यालयमा सबै बालबालिका’ शीर्षकको उक्त प्रतिवेदनका अनुसार नेपालको कुल जनसंख्याको झन्डै चार प्रतिशत बालबालिका स्कुल जाने गरेका छैनन्।
उक्त संख्या दश लाखको हाराहारीमा रहेको अनुमान गरिएको छ।
बालबालिका स्कूल नजानुको कारणबारे प्रतिवेदनका प्रस्तुतकर्ता तथा शिक्षा मन्त्रालयका अनुगमन तथा मूल्यांकन शाखाका सहसचिव आनन्द पौडेलले भने, “पहिलो कुरा अभिभावकमा सचेतनाको कमी हुनु हो।
दोस्रो, पैसा र तेस्रोमा विद्यालयको वातावरण राम्रो हुन नसक्नुले हो भने अर्को कारण सामाजिक परिवेश पनि हो।”
विद्यालय नजाने बालबालिकामध्ये अधिकांश तराई र पहाडी भेगका रहेको सो प्रतिवेदनमा जनाइएको छ।
जसमा अपांगता भएका बालबालिका र छात्राहरुको संख्या ५० प्रतिशत भन्दा बढी देखिन्छ।
सुझाव
संयुक्त राष्ट्रसंघीय बालकोष युनिसेफसंग मिलेर शिक्षा मन्त्रालयले तयार पारेको उक्त प्रतिवेदनमा समस्या समाधानका लागि थुप्रै सुझावहरु राखिएको छ।
युनिसेफकी शिक्षा अधिकारी पूर्णिमा गुरुङ कार्यान्वयनका लागि धेरै पक्ष एकजुट हुनुपर्ने बताउँछिन्, “हामीले त यौटा बाटो देखाइदिने मात्र हो। तर सरकारले यो प्रतिवेदनलाई राष्ट्रिय योजना आयोगमा पनि राख्नुपर्यो। तराईमा जाँदा त्यहाँ मुसहरको समस्या के हो, अनि डोल्पाका बालबालिकाको समस्या के हो भनी खुट्याएर काम गर्नपर्छ।”
शिक्षा मन्त्री धनिराम पौडेलले सरकारले सचेतना, पाठ्यपुस्तक निर्माण, तथा बाल मैत्री स्कूल संरचना मात्रै नभइ शिक्षकहरुले पढाउने शैलीमा पनि सुधार गरि अघि बढ्नु पर्छ।
नेपालमा वर्षेनी ६३ लाख बालबालिका विद्यालय जाने गरेको तथ्यांक भएपनि अझैपनि लाखौं विद्यार्थीको स्कुल पुग्ने वातावरण नहुनुमा धेरैले चिन्ता व्यक्त गरेका छन्।bbc nepali