Aamsanchar

यो प्रश्न गढ्दै गयो भने सरकार ढल्न पनि सक्छ

Author Image
शनिवार, कार्तिक ६, २०७३

kedar sir–केदार खड्का

भ्रष्टाचार विरोधी अभियन्ता

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीविरुद्धको महाअभियोग प्रस्तवालाई सुनियोजित पनि भन्न सकिन्छ । प्रमुख आयुक्त कार्कीको सम्बन्धमा प्रमुख दलहरुमा फरक मिश्रित मत थियो । प्रभावशाली नेताहरुमा भ्रष्टाचारको आरोपमा परिएला कि भन्ने डर पनि उनीहरुलाई थियो ।

पछिल्लो समय न्यायलयमा कार्कीको नियुक्तिको वैधानिकता खोज्दै गरिएको पुनरावेदनमा सुनवाई हुन थालेपछि दलहरु उत्साहीत भएका हुन् । प्रधानमन्त्री भारत रहेको बेला लोकमान सिंह कार्कीले नेपालमा पत्रकार सम्मेलन गरी लडाकु शिविरमा भएको भ्रष्टाचारको मुद्धा ब्यूँतिने बताएपछि माओवादी भित्रका नेताहरु डराए । त्यो बेला सरकारले शिविरको लागि दिएको चार अर्ब रुपैयाँ माओवादीका कमाण्डरहरुले बुझेर लगे । पैसा लगेर उनीहरुले कसलाई दिए ? त्यो स्पष्ट छैन । माओवादीले यो विषयलाई १२ बुँदो सम्झौता र शान्तिप्रक्रियासँग जोडे व्याख्या गर्छन् । यदि तटस्थ भएर बोल्ने हो भने लडाकु शिविरको पैसा हिनामिना शान्तिप्रक्रियासँग जोडिने विषय होइन । फरक विषय हो ।

प्रचण्ड बाहिर भएको बेला लोकमानले नेपालमा पत्रकार सम्मेलन गरेर शिविरको हिनामिना छानविन गर्छु भन्नु उनको लागि प्रत्युपादक ठहरियो । त्यो प्रकरणले दलहरुको मुटुमा ढ्यांग्रो ठोकियो । मेडिकल काउन्सिलको क्रियाकलापलाई नियन्त्रण गर्ने, शिविरको छानविनका कुरा जसरी बाहिर आए त्यसले अवस्था सहज बनाएन ।

एमालेको नैतिकता हरायो

नेकपा एमालेले आफ्ना युवा, विद्यार्थीलाई सडकमा उतारेर लडाकु शिविरमा भएको हिनामिनाको हिसाब मागेको थियो । त्यो हिसाब लोकमानले पनि मागे । अहिले एमाले नै लोकमानलाई हटाउने अभियानको नेता बनेको छ । लडाकु शिविरको हिसाब पनि माग्ने अनि लोकमानलाई हटाउने अभियानमा पनि लाग्ने कामले एमालेको नैतिकता संकटमा परेको छ । अब फेरि एमालेले लडाकु शिविरमा भएको हिनामिनाको हिसाब माग्ला कि नमाग्ला ? माओवादीका नेताहरु भ्रष्टाचारको अभियोगमा तानिन सक्थे । यो सम्भावनालाइ टार्ने काम एमालेले गरिदियो । यस हिसाबले यो विजय भनेको माओवादीको हो । यो घटनाले एमाले र माओवादीलाई फेरि एउटै मञ्चमा ल्याइदिएको छ ।

kedar

सरकार धरमर

कांग्रेसको बुइ चढेर सरकारको नेतृत्व माओवादीले गरेको छ । महाअभियोग जस्तो प्रस्ताव दर्ता हुँदा जसको बुइ चढेको हो उसैलाई थाहा छैन । प्रतिपक्षीसँग मिलेर महाअभियोग प्रस्तावका पक्षमा हस्ताक्षर संकलन भएको छ । यो संकलनमा प्रचण्ड बेखबर भएको बेतुकको कुरा आएको छ । जनार्दन शर्मा भनेका प्रचण्डका बफादार कार्यकर्ता हुन् । उनले प्रचण्डलाई जानकारी नदिइ हस्ताक्षर संकलन गरे भन्न सकिने आधार छैन । कांग्रेसीजनको मनमा अहिले चिसो पसिसकेको छ । ‘हाम्रो बलले सरकार चलाउन दिएका छौं, यी माओवादीको सेटिङ एमालेसँग हुने रैछ । अब माओवादीलाई किन साथ दिने ?’

यो प्रश्न गढ्दै गयो भने सरकार ढल्न पनि सक्छ । महाअभियोग प्रस्तावका पक्षमा एमाले र माओवादी, विपक्षमा कांग्रेस भयो भने पनि सरकार ढल्छ । प्रस्ताव पारित भयो भने त कुरै सकिहाल्यो ।

कांग्रेस पर्ख र हेरको नीतिमा

महाअभियोगका सम्बन्धमा नेपाली कांग्रेसले पर्ख र हेरको नीति लिएको जस्तो देखिन्छ । फेरि अहिले नै यसले यस्तो नीति लियो भनिहाल्ने बेला पनि भएको छैन । अदालतले नै लोकमान सिंह कार्कीको नियुक्ति वैधानिक कि अवैधानिक भनेर फैसला गर्दैछ । उनको २० वर्षे अवधि पुगेको र नपुगेको विवाद छ । दरबारमा काम गरेको जोड्दा २० वर्ष पुग्छ । नजोड्दा १३ वर्षमात्रै हुन्छ । अदालतल अन्तिम व्याख्याता भएका कारण यो विषय के हुन्छ, अहिले भन्न सकिन्न । तर कांग्रेसले अदालतको निर्णय पर्खौ अहिले नै हतार नगारौं भन्न सक्छ । फेरि कांग्रेसलाई एमाले र माओवादी नजिकिएको मन नपरेको पनि हुन सक्छ । यसकारण एमाले र माओवादीले जे भन्छन् त्यही त्यही कांग्रेसले गर्छ भन्न सकिन्न ।

प्रभावशाली २६ का पनि छन् 

केही समय अघि मुलुकका प्रभावशाली २६ जना व्यक्तिमाथि अख्तियारले अनुशन्धान शुरु गरेर पत्र काटेको थियो । अहिले महाभियोग प्रस्तावका दर्ता गर्ने १५७ सांसदमध्ये १२–१५ जना तिनै २६ प्रभावशालीबाट छन् । यसहिसाबले अख्तियारले कारबाही गर्न खोजको व्यक्ति पनि महाभियोग प्रस्तावका पक्षमा छन् । नैतिक हिसाबले हेर्दा त दोषीहरुले नै विपक्षीविरुद्ध अभियान चलाए जस्तो भएको छ । एमालेका धेरै नेताहरुमाथि अख्तियारले कारबाहीको तयारी गरेको थियो । त्यो दबाब पार्टीका माथिल्लो तहका नेतामा थियो । जसले गर्दा उनीहरु पनि महाअभियोग तर्फ अगाडि बढ्न बाध्य भए ।

राजीनामा देलान जस्तो लाग्दैन 

लोकमान सिंह कार्कीले राजीनामा दिने हो भने यो विषयले सहज निकास पाउने थियो । तर मलाई लाग्दैन कि उनले राजीनामा दिन्छन् । राजीनामा दिने उनको विगत चाहिँ छ । उनले मुख्य सचिवबाट राजीनामा दिएका थिए । मानिसहरुले आशा गरे झै राजीनामा आउँछ जस्तो लाग्दैन ।

बाबुरामको छेपारे रङ देखेर भगवान पनि छक्क पर्लान 

बाबुराम भट्टराईले लोकमान नियुक्ति गर्ने बेलामा कुशल प्रशासक, सक्षम व्यक्ति, अख्तियारलाई आवश्यक मानिस भनेर तारिफ गरेका थिए । सबैभन्दा बढी तारिफ गर्ने र लोकमान सिंह कार्कीका पक्षमा पहल गर्ने उनै हुन । तर हालै उनले पनि लोकमानलाई महाभियोग लगाएर हटाउनु पर्छ भनेछन् । यस्तो छेपारे रङ भएकालाई के भनौं ।

[भ्रष्टाचार विरोधी अभियन्ता केदार खड्कासँग गरिएको कुराकानीका आधारमा]

नेपाल आज

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 158

प्रतिक्रिया (०)

सम्बन्धित खबर
आज माता तिर्थ औंशी, थानकोटमा मेला
मङ्गलवार, वैशाख २५, २०८१
आमा (कविता)
मङ्गलवार, वैशाख २५, २०८१