Aamsanchar

कागकालागि हरियो पात, दुना, टपरीमा विभिन्न परिकारहरू

Author Image
बिहिवार, कार्तिक ११, २०७३

crowअाज यमपञ्चकको प्रथम दिन अर्थात् आज काग तिहार । घरमा काग करायो भने हामीहरु आज यो कागले के सन्देश ल्यायो या कोही परपाहुना केही सन्देश लिएर आउँदैछन् कि भनेर सोच्दछौँ, कागले वास्तवमै एउटा सन्देशवाहक चराका रुपमा हाम्रो पारम्परीक समाज अनि जीवनशैलीमा महत्वपूर्ण स्थान ओगटेको छ । दैलोमा अाएको काग एकहोरो रूपमा काँ~~ काँ~~ गरेर चर्को र झर्कोलाग्दो स्वरमैं भएपनि केही न केही सन्देश बोकेर ल्याउने जनविश्वास रहेको छ ।

आकाशमार्गबाट छिटो सन्देश ल्याउने काग एउटा बाठो पन्छि हो र यसले हाम्रो वरपर भएका दूर्गन्धित सिनो तथा वालीनालीमा भएका दूर्गुणी किराफट्याङ्ग्राहरुलाई खाईदिएर अन्न उत्पादनमा सहयोग गर्दछ । काग र कोईलीको अत्यन्त प्रसिद्ध कथा र चलन त हामीसबैले सुनिआएकै छौ, कोईलीले आफ्नो अण्डा गएर कागको गुँडमा पार्ने अनि कागले त्यस अण्डा कोरलेर कोईलीको वच्चालाई आफ्नै सन्तान भनेर हुर्काउने गर्दछ । यसअर्थमा चर्को स्वरमा नमीठोगरि कराउने कालो काग नै सुरिलो स्वर भएका हरेक कुहु~~ कुहु~~ बसन्ति कोइलीको जीवनरक्षार्थ अभिभावक हो । काग र कोईलीको यो सह-अस्तित्वको नाताले हामीलाई धेरै सकारात्मक कुराहरुको उदाहरण दिएको छ । हाम्रो वैदिक सनातन संस्कारमा टेक्ने माटोदेखि श्वाँस फेर्ने हावा अनि वर्षिने बादलदेखि गर्जिने बाघ सम्म, कुकुरदेखि काग अनि बोट विरुवासम्म सबैकुरामा पवित्रता र इश्वरत्वको गुण स्विकारिएको छ । आजको दिन कागको पूजाअर्चना गरिने दिन हो । यसकासाथै काग तिहारकै दिन समुन्द्र मन्थनका बेला उत्पत्ति भएका आयुर्वेदका प्रवर्तक धन्वन्तरी ऋषिको सम्झनामा धन्वन्तरी दिवस पनि मनाइन्छ ।

यस वर्षको उजेली चाड तिहारमा तपार्इ, हामी सबैलाई स्वागत छ । सेलरोटीको मिठास अनि दियोको प्रकाशले भर्ने फरक उर्जा नै यस उमङ्गमय चाडको विशेषता हो । साथै देउँसी, भैलोका पारम्परीक धूनमा गुञ्जायमान फरक संगीत यसको फरक अाकर्षक पाटो हो । काग, कुकुर, गाई, गोरु र दाजुभाईको पूजा क्रमैसंग यमपञ्चकका पाँच दिनमा गरिने यस तिहार पर्वकाबारेमा धेरै किंवदन्तिहरु समेत रहेका छन् । जस्मध्ये अत्यन्त प्रचलित कथा यम र उनकी बहिनीको प्रसगं हो, त्यो प्रस्तुत गर्दैछाैं ।

मृत्यूका देवता यम आफ्नी बहिनी यमुनासँग धेरै समयदेखि भेट्न पाएका थिएनन् । यमुनालाई आफ्नो दाजूसँग भेट्ने धेरै इच्छा भएपछि विभिन्न माध्यमहरुमार्फत् दाजूलाई भेट्न आउने निम्तो पठाईन् । उनले शुरुमा काग अनि कुकुर, गाई अनि अन्त्यमा आफै गएर दाजूलाई भेटेको प्रसङ्ग छ, दाजूलाई भेटेपछी उनले दाजूलाई पूजाअाजा गरी सप्तरङ्गी टिका, फूलमाला पहिराइदिएकि थिइन । तोरीको तेलमा दूबोको झुप्पाले चोपेर दाजू वरिपरि पानी र तेल मिश्रित मसिनो धाराले रेखा कोरी मखमली फूलको माला लगाईदिई भाईटीका लगाएकी थिइन् । त्यही क्रमलाई यमपञ्चकको पाँचौ दिनमा भाईटीका लगाएपछि तिहारको विधीवत अन्त्य हुन्छ ।

तिहारको प्रथम दिन काग तिहारमा एका बिहानै कागको पूजा गरिन्छ । वर्षभरि कागले घरआगनमा सुखद र प्रगतिशील खबर अनि साैभाग्यका कुराहरुमात्र ल्याओस भनेर कामना गर्दै घर बाहिर हरियो पात, दुना, टपरीमा विभिन्न परिकारहरू कागकालागि भनेर राखिन्छ ।

यस दिनबाट नै घरघरमा केराका बोटहरु लगायत अन्य प्रकारका झिलीमिली द्वारहरु बनाएर साँझमा दिप प्रज्जवलन गरि पाँच दिनसम्म मनाइन चाडको प्रारम्भ हुन्छ । विभिन्न प्रकारका पटाकाहरु पड्काउने चलनका साथै तराईमा सण्ठि अर्थात् जुटको भित्रपट्टिको हलुका लठ्ठिहरुको मुठ्ठा (झुप्पपा)लाई बालेर खेतमा गएर “हुक्का” खेल्ने चलन छ । रमाईलोको यो माहौलमा अनावश्यक हलूका खालका विष्फोटक अागोजनक सामाग्रिहरूबाट सजग र सुरक्षित रहन पनि एकदमै जरुरी छ । अब गाँउघरमा उत्साहित मान्छेहरुले उल्लासपूर्वक तिहारमा देउँसी या भैलो कहाँ कहाँ खेल्ने, को को खेल्ने अनि के के गीत अथवा नृत्य प्रदर्शन गर्ने, कसले भट्याउने आदि तयारी शुरु भइसक्यो होला ! ल है! सबैलाई शुभकामना, यो तिहार उल्लासपूर्ण होस् ।

हामी सबैको आँगनमा सदासर्वदा कागले हर्ष र उत्साहको सु-समाचारहरु ल्याईरहोस ।
हाम्रो पात्रो

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 83

प्रतिक्रिया (०)

सम्बन्धित खबर