Aamsanchar

तिहारको खानपिनले ज्यानै जाला है, यसो गरौं स्वस्थ रहन

Author Image
सोमवार, कार्तिक १५, २०७३

sweets

तिहार बत्तीको चाड, उज्यालोको चाड, सँगसँगै मिठो मिठो खानपिन गरिने चाड । विभिन्न किसिमका खानेकुरा तिहारमा खाइन्छ । तिहारमा विशेषगरी मिठाई ज्यादा खाइन्छ । अझ उच्च क्यालोरीयुक्त खानपिनको अधिक सेवनले कतिपयलाई स्वास्थ्यमा समस्यामा आउँदा तिहार नै खल्लो हुने पनि गरेको छ । यस्तो बेला हामीले सामान्य सावधानी अपनाउन सक्यौं भने स्वास्थ्यमा गडबडी हुनबाट बच्न सकिन्छ ।

खानपिनको योजना
खानपिनको पनि योजना ? खान पनि कहीँ योजना बनाउनुपर्छ ? तपाईलाई यस्तै लाग्ला । तर जब हाम्रो दैनिक रुटिन बिगारेर हामीले खाँदै हुन्छौं भने हामीले खानपिनको पनि योजना बनाउनुपर्छ । विशेषगरी तिहारमा बिहानदेखि बेलुकासम्म के के खाने ? आफ्नो स्वास्थ्य अवस्था कस्तो छ ? ख्याल गर्नुपर्छ । थप क्यालोरीयुक्त खाना खाइँदैछ भने आफ्नो नियमित भोजना घटाउन सकिन्छ । ताकि भेट भरी नै रहोस् तर खानपान बढी भने नहोस् ।

घरमै बनेकोलाई प्राथमिकता
बजारमा बनाइएको मिठाईमा धेरै क्लायोरी हुन्छ । साथै अनावश्यक कृत्रिम रंग र मेटानिल येलो, लेड नाइट्रेड, म्यूरिएरिक एसिडजस्ता हानिकारक रसायन पनि मिलाइएको हुनसक्छ । यसले धेरै प्रकारको स्वास्थ्य समस्या निम्त्याउँछ । अझ चाडबाडको बेला बजारको माग पूरा गर्न दूधको सट्टा कर्न स्टार्चबाट पनि पनिर बनाइन्छ । बजारमा बनेको मिठाईले तपाईको स्वास्थ्यलाई बिगार्न सक्छ । तर घरमा बनाइएको मिठाईले तपाईंको स्वास्थ्यलाई हानी गर्दैन । तर आवश्यकताअनुसार मात्र सेवन गर्नुपर्दछ ।
घरमै मिठाई बनाउँदा पनि सफेद चिनी वा अप्राकृतिक स्वाद बनाउने वस्तुहरु राख्न नहुने विषय जानकारहरु सुझाउँछन् ।

स्वास्थ्यवर्द्धक खाना
तिहारजस्तो पर्वमा गुलिया मिठाई मात्र धेरै खाइन्न, नुनिला र बासनादार खानेकुराहरु पनि अत्यधिक खाइन्छ । यी खानेकुरालाई स्वास्थ्यमैत्री बनाउन पकाउने र खाने तरिकामा पनि परिवर्तन गर्न सकिन्छ । जस्तो कि तेलमा तार्नुको सट्टा उमाल्ने । पकाउने तरिकामा ल्याइने सामान्य बदलावले खानेकुरा स्वादिलो मात्र होइन, स्वास्थ्यबद्र्धक पनि हुन्छ ।

अत्यधिक पानी पिऔं
तिहारको दौडधुप र मिठोमसिनो खानपिनको चक्करमा हामीले पानी पिउन नै भुलिदिन्छौं । पानी कम भएपछि थकान र कमजोरी महसुस हुन्छ किनकी पानी नहुँदा शरीरमा अन्य पोषक तत्वहरुको अवशोषणको काममा बाधा आउँछ । अझ ध्यान दिनुपर्ने कुरा के हो भने पानीको बदलामा अन्य पेय पदार्थहरु पिउने बानी ठिक होइन । यसले तिव्ररुपमा तौल बढाउँछ र स्वास्थ्यमा नोक्सान पुग्दछ ।
न्यूट्रिसनिस्टहरुका अनुसार यस्तो बेला कागती पानी, चिसो ग्रीन चिया, गोलभेडाको जुस, नरिवल पानी र बिना क्रिमको सुप सेवन लाभदायक हुन्छ ।

कति खाने ?
तिहारमा खासखास खानेकुरा चाडविशेषकै मौकामा मात्र बनाइएको हुन्छ, त्यसकारण हामी मिठो मानी मानी जति पनि खान्छौं । खासमा खानेकुरा हामीले खाने हो, अनियन्त्रित भयो भने खानेकुराले हामीलाई खान थाल्छ । धेरै परिकार खानुछ भने मनपर्ने एउटा मात्र धेरै खानु भएन । सबै कम कम खाँदा पनि शरीरको आवश्यकता पूरा हुन्छ । अझ चाडबाडमा त यतिधेरै परिकार हुन्छन् कि चाख्दाचाख्दै अघाइन्छ ।

विकल्प रोज्नुहोस्
कुनै परिकार सेवन गर्न लाग्दा हात भन्दा पहिला दिमाग चलाउनुहोस् । मेरो स्वास्थ्यको लागि यसले फाइदा गर्छ कि गर्दैन ? प्रश्न गर्नुहोस् । खानेकुराहरु जिब्रोको लागि मात्र होइन, स्वास्थ्यको लागि पनि मिठो हुनुपर्छ । क्यालोरी कम हुने मिठाई रोज्नुहोस् । चाँदीको विर्को लगाइएका मिठाईहरु पनि स्वास्थ्यका लागि हानिकारक हुनसक्छ । आलुमिनियमको मिसावटको कारण पनि हाम्रो स्वास्थ्य बिग्रन सक्छ ।

ताजा कि बासी ?
तिहारमा खाने धेरैजसो मिठाईहरु दूध, खुवा र क्रिमबाट बनेका हुन्छन् । बनेको एकदुई दिनसम्म यसलाई सेवन गर्दा खासै फरक नपर्ला । तर अझै बासी भयो भने यसले स्वास्थ्य बिगार्ने निश्चित छ । किनकी दूधबाट बनेको कारण यसमा ढुसी बन्दछ । यसकारण म्याद गुज्रिएको मिठाई सेवन गर्नुहुँदैन । चाडबाडमा आकाशिएको माग पूरा गर्न रातारात गरेको उत्पादनले पुग्दैन । यसकारण बासी तथा सडेगलेकोबाट बच्नुपर्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 140

प्रतिक्रिया (०)

सम्बन्धित खबर