काठमाडौं।
छठ पर्वको तेस्रो तथा मूख्य दिन आज अस्ताउँदै गरेको सूर्य तथा षष्ठी मातालाई अर्घ दिएर मनाईंदै छ ।कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन मनाइने यस पर्वमा सूर्यदेवको आराधना, उपासना र पूजा गरिन्छ । चतुर्थीदेखि छठ पर्व नसकिएसम्म व्रतालुले माछा, मासु, लसुन, कोदो, फापर, मुसुरो जस्ता खाद्यान्न सेवन गर्दैनन् । चतुर्थीको कर्मलाई अरबाइन वा अरबा भनिन्छ ।
मनोकामना पूरा हुने विश्वासमा महिलाले छठमा कठोर ब्रत गर्ने गर्दछन् । सूर्य देवतालाई ठेकुवा, भुसवा, केरा, नरिवल, अदुवा, फलफूल, मिठाईसहितका प्रसाद अर्पण गरिन्छ भने चौथो तथा अन्तिम दिन उदाउँदै गरेको सूर्य र षष्ठी मातालाई अर्घ दिई छठ सम्पन्न गरिन्छ ।
पारिवारिक सुख, शान्ति, कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकांक्षा पूरा होस् भन्ने उद्देश्यले सूर्यको उपासना गरी यो पर्व मनाउने गरिन्छ ।
यसैबीच झापाका मेची, अदुवा, निन्दा, कनकाईमाई, विरिङ,रतुवा लगायतका नदी तथा दोलाहरुलाई दुलही झैं सिंगारिएको छ ।
मिथिलाञ्चलको आस्थाको रुपमा मानिने छठ तराईका जिल्लाका साथै राजधानीमा समेत मनाईंदै छ । आदिकालमा सती अनुसूयाले रोगग्रस्त पतिलाई निको बनाउन भगवान सूर्य र षष्ठी देवीको पूजा आराधना गरेको प्रसंग यस पर्वसँग जोडिएको छ ।
त्यसैगरी महाभारतकालमा द्रौपदीसहित पाण्डवहरुले अज्ञात वासमा रहँदा गुप्तवास सफल होस् भनी सूर्यदेवको आराधना गरेको र सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको कथन छ ।
छठ मनाउँदा दुःखबाट मुक्ति, सन्तान प्राप्ति, चर्मरोग निको हुने र पारिवारिक सुख शान्ति रहने विश्वास छ । छठ मनाउन सरकारले आज सार्वजनिक विदा पनि दिएको छ ।