काठमाडौं:
एम्बुलेन्स आयात गर्दा दिँइदै गरेको भन्सार छुट रोक्न सरकारले तयारी गरेको छ । गैरस्वास्थ्य संस्थाले व्यावसायिक प्रयोजनका लागि एम्बुलेन्स खरिद गरी दुरुपयोगको सिकायत प्राप्त हुन थालेपछि सरकार यस्तो निर्णयको तयारीमा लागेको हो ।
स्वास्थ्य मन्त्रालयको नीति तथा अन्तर्राष्ट्रिय महाशाखाका प्रमुख भोगेन्द्र डोटेलले एम्बुलेन्स आयात गर्दा लाग्ने भन्सार छुट मिनाहाको सिफारिस बन्द गर्न गृहकार्य भइरहेको जानकारी दिए । मन्त्रालयले स्वास्थ्य संस्थालाई मात्रै एम्बुलेन्स आयातमा भन्सार छुटको सिफारिस दिइने प्रावधानसहित नयाँ निर्देशिकाको तयारी गरेको उनले बताए ।
नयाँ निर्देशिकाले तोकेको मापदण्ड पूरा गरेपछि मात्रै स्वास्थ्य संस्थालाई पनि भन्सार छुटको सिफारिस दिइनेछ । पूर्वस्वास्थ्य सचिव डा.प्रवीण मि श्रले दुरुपयोग बढेको भन्दै निर्देशिका संशोधन नगर्दासम्म एम्बुलेन्स आयात गर्दा दिइने भन्सार छुटको सिफारिस रोकेका थिए । उनीपछि स्वास्थ्यसचिव बनेका शान्तबहादुर श्रेष्ठले आफ्ना मान्छेलाई एम्बुलेन्स आयात गर्न भन्सार छुटको सिफारिस खुला गरेका थिए । यो निर्णयको आडमा विभिन्न संस्थाका सञ्चालकले भन्सार छुटको सिफारिस बनाउन दबाब दिँदै आएका थिए । भन्सार छुट सिफारिस नपाएपछि कतिपयले कर्मचारीलाई धम्कीसमेत दिने गरेका थिए ।
मन्त्रालयले हालसम्म एक हजार तीन सय आठ एम्बुलेन्सलाई भन्सार छुट सिफारिस गरेको छ । भन्सार छुटमा भित्रिएका एम्बुलेन्सको कामबारे भने मन्त्रालयले अनुगमन गरेको छैन । तथ्यांकअनुसार भन्सार छुट पाउनेमध्ये आधाभन्दा बढी गैरस्वास्थ्य संस्था छन् । भन्सार छुट पाएपछि होटल व्यवसायी, उद्योगी, स्मृति संस्था, विभिन्न मानिसका नाममा खुलेका संस्था र युवा क्लबहरूले समेत एम्बुलेन्स सञ्चालन गरिरहेका छन् ।
यसका अतिरिक्त नेपालस्थित भारतीय दूतावासले पनि वर्षको दुई पटक विभिन्न संघसंस्थालाई निःशुल्क एम्बुलेन्स प्रदान गर्दै आएको छ । अधिकांश संस्थाले बिरामी ओसारपसारभन्दा पनि कार्यालय र व्यक्तिगत प्रयोजनमा एम्बुलेन्स कुदाउने गरेका छन् । केही समयअघि प्रहरीले एम्बुलेन्सबाट रक्तचन्दन र लागूऔषध बरामद गरेको थियो । एम्बुलेन्स सञ्चालन व्यवस्थित गर्न नीति बनाउन क्रियाशील मन्त्रालयका सहसचिव राजीव पोखरेलले विभिन्न क्लब, उद्योग, यातायात व्यवसायी र प्रतिष्ठानले एम्बुलेन्स सञ्चालन गर्न थाले पनि उनीहरूले सामाजिक उत्तरदायित्व पूरा गरे/नगरेको अनुगमन गर्न कठिन भएकोले एम्बुलेन्स आयात भन्सार छुटमा रोक लगाउने तयारी भएको बताए ।
पहुँचका भरतमा कतिपय जिल्लामा जनसंख्याको अनुपातभन्दा धरै एम्बुलेन्स सञ्चालन भइरहे पनि दुर्गममा एम्बुलेन्स पुर्याउन कठिनाइ भएको उनले बताए । सहरी क्षेत्रमा एम्बुलेन्सबीच अस्वस्थ प्रतिस्पर्धा पनि हुने गरेको छ । ठूला अस्पतालका परिसरमा दजनौं एम्बुलेन्सको भीड लाग्ने गरेको छ । मापदण्ड अनुसारका उपकरण जडान नगरी एम्बुलेन्स कुदाउँदा पनि एम्बुलेन्स जफत गर्ने अधिकार सरकारलाई भए पनि त्यो हुन सकेको छैन । अन्न्पूर्णबाट