Aamsanchar

गणितले चिनायो एसएलबीलाई

Author Image
शुक्रवार, कार्तिक २६, २०७३

सुरेन्द्र भण्डारी

slb 2 copy

‘असफलता नै सफलताको श्रेय हो’ भने झैं झापा राजगढका लोकबन्धु कटुवाल एकाएक सफलताको उचाईमा पुगे । २०४६ सालमा प्रवेशिका परीक्षा (एसएलसी)मा सहभागी हुँदा कै बखत उनका बुवाको निधन भयो । त्यतिबेला उनी गणित विषयको परीक्षा लेखिरहेका थिए ।
जब उनी परीक्षा लेख्दै थिए उति नै बेला बुवा केशरसिंह कटुवालको मृत्युको खबर सुने । त्यहाँस्थित पशुपति माविमा अध्ययन गरेका उनले सोही कारण एसएलसी परीक्षामा आफूले चाहेजस्तो गणित विषयमा अंक हासिल गर्न सकेनन् । उनले त्यतिबेला ७४ अंक हासिल गरेका थिए । तिक्ष्ण बुद्धी भएका उनी गणित विषयमा एसएलसीमा कम नम्वर आएकै कारण खिन्न मन बनाउँदै धेरैदिन टोलाए । गणित विषयमा ७४ अंक आउदा पनि उनलाई कमजोर भएको भन्दै धेरैले गिज्याए पनि अनि धेरैले असहयोग गरेकै कारण उनले सोही विषयमा उच्च शिक्षाका लागि गणित नै रोजे ।
निरन्तरको मेहनत र लगावका कारण उनले मेची बहुमुखी क्याम्पस भद्रपुरबाट मेजर म्याथ स्नातक तह उत्र्तीण गरे । नेपाली विषयमा उनले सोही क्याम्पसबाट स्नातकोत्तर गरे भने कनकाई बहुमुखी क्याम्पस सुरुङ्गाबाट एक वर्षे बीएडसमेत गरे । सरकारी सेवामा २०६६ साल पुसबाट प्रवेश गरेका उनी अहिले महेन्द्र निमावि शरणामतीस्थित पन्थापाडामा गणित विषयको अध्यापन गर्छन् ।
आफू एसएलसी परीक्षामा बुवाको निधनले गणित विषयमा भनेजस्तो अंक ल्याउन नसकेको सम्झदै अगाडि भन्छन्– ‘बुवाको आशीर्वाद लिएर पढाइलाई निरन्तरता दिए, हिजो खुट्टा तान्नेहरु नै आज मेरो पछि लागेका छन्, मलाई आउँदैन, म जान्दिन, म जान्दै जान्दिन भनेर प्रत्यन नगरेको भए आज म यहाँ हुने थिइन् ।’
२०५३ सालबाट शिक्षण पेशा रोजेका उनको दैनिक अहिले १६ घण्टासम्म अध्यापन गराउदै आएका छन् । उनी बिहान ३ बजेदेखि उठेर ट्युटन पढाउन तल्लीन हुन्छन् भने बिहानै क्याम्पस अनि १० बजेपछि स्कूल, पुनः साँझैसम्म उनी ट्युसन पढाउन व्यस्त हुन्छन् । उनी बीएसम्म अध्ययनरत् विद्यार्थीलाई ग्रामीण क्षेत्रमा बसेर अध्यापन गराउँछन् । उनका विद्यार्थी झण्डै दुई दर्जनभन्दा बढी विद्यालयमा अध्ययन गर्नेहरु ट्युसन पढ्न आउने गरेका छन् । लोकबहादुर कटुवालबाट उनी ट्युसन पढाएकै भरमा एसएलबी कटुवाल बने । विद्यार्थीले रुचाएका शिक्षक हुन् उनी । उनले एउटा ट्युसन कक्षामा दुई सयसम्म विद्यार्थी राखेर पढाएका छन् । बिहान ४ बजेदेखि नै उनी लाल्टिन बालेर विद्यार्थीलाई ट्युसन पढाएको सम्झदै भन्छन् – ‘पढाएको विद्यार्थीले डिस्टिन्सन ग¥यो, फष्ट भयो भन्दा मनै हलुङ्गो हुँदोरहेछ ।’
उनका विद्यार्थी चकचकी, शरणामती, राजगढ, डाँगीबारी, जलथल, गोलधाप, घेराबारीबाट अध्ययनका लागि घरैमा भेला हुन्थे भने अहिले पनि उत्तिकै विद्यार्थी आउने गरेका छन् । एसएलसी दिने विद्यार्थीले त उनीसँग ट्युसन नपढी चित्तै बुझाउँदैनन् । चाहे फष्ट होस् या त स्कूल फष्ट नै किन नहोस् एसएलबी कटुवालले विद्यार्थीलाई ट्युसन नपढाई हुँदैहुदैन । स्थानीय ज्ञानज्योति उच्च माविमा समेत अध्यापन गराउने एसएलबी ट्युसन पढाएरै दक्षिण क्षेत्रमा चिनिएका स्थापित शिक्षक हुन् । उनलाई ट्युसनले नै चिनायो । त्यहाँका अधिकांश अभिभावकको भनाइ एउटै छ– ‘एसएलबीले गणित, नपढाउँदा नानी फेल होला कि भन्ने चिन्ताले पिरोल्छ ।’
बुवापछि गणित विषय अध्ययनका लागि शिक्षक तेजबहादुर श्रेष्ठलाई उनले सम्झने गरेका छन् । असफलताले सिकाएको पाठ हो मेरा लागि गणित विषय उनले भने – ‘म गणित विषयमा नै डिग्री गर्ने सोच राखेर अध्ययन गर्दै थिए तर पारिवारिक अवस्थाले गणितलाई समय दिन सकिन र नेपालीमा डिग्री गरें ।’
उज्यालो रिमरिम हुन नपाउँदै विद्यार्थीले ट्युसन पढनका लागि उनलाई घरमा घेर्न आउँछन् । शिक्षासेवीका रुपमा चिनिएका एसएलबीलाई गणितले चिनायो । २०५५ सालबाट ज्ञानज्योति उच्च माविमा शिक्षण पेशामा आबद्ध भएका उनी अहिलेसम्म पनि सोही विद्यालयमा बिहान अध्यापन गराउँदै आएका छन् । आफू १६ महिनाको हुँदा आमाको मृत्यु भएको र बुवा पनि एसएलसी परीक्षा दिएकै समयमा मृत्यु भएकाले मेरो बाल्यकाल सहजै बितेन उनले भने– ‘इच्छा शक्ति र लगनशीलताले नै मानिसलाई सफल बनाउँदोरहेछ । मैले त्यो बेला पढ्न छोडेको भए कसरी अरुलाई पढाउन सक्थें ।’

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 91

प्रतिक्रिया (०)

सम्बन्धित खबर