Aamsanchar

१ नम्बर प्रदेश ३ वर्षपछि अन्धकारमुक्त

Author Image
मङ्गलवार, कार्तिक ३०, २०७३

विराटनगर :

loadsheding1_zAnvx8WJSx

एक नम्बर प्रदेशमा निर्माणाधिन विद्युत् आयोजनाहरु समयमै सम्पन्न भए अबको ३ वर्षमा लोडसेडिङ पूर्ण रुपमा अन्त्य हुने देखिएको छ।  अहिले १ नम्बर प्रदेशमा विद्युत् उत्पादन ४० मेगावाट छ। तर अबको ३ वर्ष अर्थात आर्थिक वर्ष २०७५/०७६ को अन्त्यसम्ममा पूर्वमा निर्माणाधिन आयोजनाबाट मात्रै ३ सय ५ मेगावाट विद्युत् उत्पादन हुनेछ।

उर्जा मन्त्रालयको तथ्यांक अनुसार पूर्वमा १ सय ८० मेगावाट विद्युतको माग छ। विद्युत् मागको प्रतिशत १५ मात्र छ। ३ वर्षमा विद्युत् माग बढेर २ सय ७३ मेगावाट पुग्नेछ। हाल १ नम्बर प्रदेशका लागि भारतबाट झन्डै १ सय ३० मेगावाट विद्युत् आयात भइरहेको छ।  माग अनुसार विद्युत् आपूर्तिका लागि आयोजनाहरु समयमै सम्पन्न गर्नुपर्ने देखिन्छ।

तर, २०७२ सालसम्ममा सक्ने भनिएका ८ वटा आयोजनामध्ये हालसम्म ९.९८ मेगावाटको अपर माई जलविद्युत् आयोजना मात्रै सम्पन्न भएको छ। आयोजना समयमै सम्पन्न नहुने पुरानै रोग भएको उर्जा सम्बन्धी जानकार राकेश सुरानाको भनाइ छ।  ०७२ साल भित्र सक्ने भनिएको आयोजना सकिएको भए अहिले पूर्वका लागि भारतबाट ८० मेगावाट मात्रै आयात गर्दा पुग्थ्यो।

०७२ भित्र सक्ने भनिएका आयोजनाहरु इलामका अपर माई, माई क्यास्केड, अप्पर माई सी, माई साग क्यास्केड, ताप्लेजुङको फावा, भोजपुरको पिखुवा, पाँचथरको हेवा खोला ए र संखुवासभाको सभाखोला हुन्। यी आयोजना सम्पन्न भए तत्कालै ५६.४१ मेगावाट विद्युत् उत्पादन थप हुने छ। यी आयोजनाहरु निर्माण सम्पन्न हुने चरणमा रहेका उर्जा मन्त्रालयले जनाएको छ।

यस्तै, उर्जा मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७६ को अन्त्यसम्ममा पूर्वाञ्चलबाटै अरुण र सप्तकोशीका ठूला आयोजना बाहेक साना आयोजनाबाट मात्रै ४ सय ७६.७३ मेगावाट विद्युत् उत्पादन हुनेछ। त्यस वर्षसम्ममा विद्युत् मागको १५ प्रतिशतले वृद्धि हुने प्रक्षेपण अनुसार ३ सय १४ मेगावाट आवश्यक पर्नेछ।  प्रस्तावित आयोजना र ठूला आयोजनाहरुको निर्माण सम्झौता हुने र निर्माण कार्य सम्पन्न हुने हो भने १ नम्बर प्रदेशमा मात्रै अबको दशक भित्रै झन्डै २१ सय मेगावाट विद्युत् उत्पादन हुने सम्भावना छ।

१ नम्बर प्रदेशमा यतिका आयोजना निर्माण सम्पन्न हुने हो भने मात्रै पनि यस क्षेत्रको आर्थिक वृद्धिदर बढ्ने र भारतलाई झन्डै १ हजार मेगावाट विद्युत् बेच्न सकिन्छ।  नेपाल विद्युत् प्राधिकरणले बर्सेनी लोडसेडिङ गरिरहेको छ। तर, देशभरलाई पुग्नेभन्दा निकै बढी बिजुली १ नम्बर प्रदेशमै उत्पादनको सम्भावना देखिएपनि उत्पादन प्रवद्र्धन गर्न सरकारले नसकेको उर्जासम्बन्धी जानकार सुरानाको भनाइ छ। ऊर्जा मन्त्रालयका अनुसार देशभरमा अहिले १ हजार ४ सय मेगावाट बिजुली माग छ।

तर, ८ सय मेगावाटमात्रै उत्पादन भइरहेको छ।  जल सम्पदामा ब्राजिलपछि विश्वकै दोस्रो धनी मानिएको नेपालका खोलाहरूबाट ८३ हजार मेगावाट बिजुली उत्पादन हुनसक्ने सरकारी अनुमान छ। त्यसमध्ये पूर्वाञ्चलका खोला तथा नदीहरूबाट मात्रै १५ हजार मेगावाट बिजुली उत्पादनको क्षमता रहेको अनुमान गरिएको छ।

त्यसमा पनि सप्तकोसीमा मात्रै ४ हजार ६ सय मेगावाट बिजुली उत्पादनको पहिचान भएको छ।  देशको कर्णालीमा सबैभन्दा बढी, त्यसपछि कोसी र गण्डकीमा जलविद्युत् उत्पादनको क्षमता पहिचान भइसकेको सम्बन्धित विशेषज्ञहरुले बताउँदै आएका छन्। १ नम्बर प्रदेशको इलाम, पाँचथर, संखुवासभामा धेरैजसो विद्युत् आयोजना सञ्चालन तथा निर्माणाधिन छ।थाहाखबर

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 149

प्रतिक्रिया (०)

सम्बन्धित खबर