Aamsanchar

विश्वचर्चित सेलिब्रिटी जो कुलतमा फसे

Author Image
मङ्गलवार, कार्तिक ३०, २०७३

Angelina_Jolie_Hot_Wallpapers_11

फिल्म जगत् जति चम्किलो र भव्य देखिन्छ, यसका उत्तिकै अँध्यारा पाटा पनि छन् । अन्य क्षेत्रमा झैँ यहाँ पनि सेक्स, अपराध र लागुऔषधका अनेक वितण्डा मच्चिने गर्छन् । ड्रग्समा फसेका र उम्किएका केही सेलिब्रिटीः

ब्राड पिट

समकालीन हलिउड अभिनेतामध्ये सबैभन्दा लोकप्रिय छन्, ब्राड पिट । संसारभरि उनका लाखौँ फ्यान छन् । लाखौँका ‘रोल मोडल’ उनी कुनै समय ड्रग्सका ठूला अम्मली थिए । सन् २००४ मा एन्जेलिना जोलीसँग ‘मिस्टर एन्ड मिसेस स्मिथ’मा काम गर्नु उनको जीवनको ठूलो ‘टर्निङ प्वाइन्ट’ साबित भयो । यो फिल्ममा काम गर्दैगर्दा उनीहरू प्रेममा परे । वर्षाैं लामो लिभिङ टुगेदर रिलेसनसिपपछि अहिले उनीहरूले औपचारिक रूपमै दाम्पत्य जीवन सुरु गरिसकेका छन् । ‘त्योभन्दा अघि म नियमितजस्तो ड्रग्स लिने गर्थें,’ पिट भन्छन्, ‘ड्रग्सको नशामा मैले वर्षौं व्यर्थमा गुजारेछु ।’ पूर्वपत्नी जेनिफेर अनिस्टनसँगको सम्बन्धमा चरम तिक्तता उत्पन्न भएपछि उनी ड्रग्सको नशामा नराम्रोसँग फसेका थिए । त्यसअघि उनको नाम गेनेथ पाल्ट्रोसँग जोडिएको थियो । यसबाहेक उनको सम्बन्ध जुलिएट लेविस र रोबिन गिभन्ससँग पनि थियो । प्रेममा पटक–पटक असफल हुनुको पीडाले उनलाई दुव्र्यसनी बनाएको थियो । जोलीका रूपमा स्थिर प्रेमिका (अहिले पत्नी) पाएपछि उनले लागुऔषधसँग सम्बन्धविच्छेद गरिसकेका छन् ।

एन्जेलिना जोली

श्रीमान् ब्राड पिटजस्तै हलिउड अभिनेत्री एन्जेलिना जोली पनि कुनै समय ड्रग्सकी अम्मली थिइन् । पतिजस्तै उनले पनि अहिले दुव्र्यसनसँग साइनो तोडिसकेकी छिन् । जोली कुनै समय ‘एडिक्ट’ रहेको तथ्य केही वर्षअघि उनलाई ड्रग्स उपलब्ध गराउने फ्य्रांकलिन मेयर नाम गरेका दलालले जोलीले आफूसँग ड्रग्सको मोलमोलाइ गर्दै गरेको भिडियो सार्वजनिक गरिदिएपछि मात्र खुलेको हो ।  १६ मिनेट लामो भिडियोमा युवती जोली नशामा पूरै डुबेर ड्रग दलालसँग डिल गरिरहेकी देखिएकी छिन् । साथै, यसमा उनले यौनका अन्यन्त गोप्य कुराको वर्णन गर्दै गरेको समेत देख्न पाइन्छ ।  भिडियोमा जोली ज्यादै दुब्ली देखिएकी छिन् । जोली २५ वर्ष नपुग्दै भिडियो खिचिएको ड्रग दलालले बताएका थिए । ‘जोलीलाई वर्षाैंसम्म मैले ड्रग्स उपलब्ध गराएँ । म्यानहाटनमा मेरो डेरा थियो, त्यहीँ आएर जोलीले लागुऔषध लैजाने गर्थिन् । उनी कोकिन र हेरोइनकी अम्मली थिइन् । सिरिन्ज पनि हान्थिन् कि जस्तो लाग्छ । नत्र भने उनको पाखुरामा त्यतिबेला सिरिन्ज हान्दा बनेजस्ता डाम कसरी बसे,’ ती दलालले भने । जोलीले पनि कुनै सन्दर्भमा जीवनमा पूरै रित्तोपन महसुस हुँदाका दिनमा आफू रक्सी र ड्रग्सको शरणमा परेको र त्यतिबेला आफूले आत्महत्या गर्ने प्रयाससमेत गरेको स्वीकार गरेकी छिन् ।

लिन्ड्से लोहान

अहिले चल्तीमा रहेका हलिउड अभिनेत्रीमध्ये स्क्यान्डलमा बारम्बार मुछिने अभिनेत्रीमा पर्छिन्, लिन्ड्से लोहान ।  बाल्यकालमा उनी ज्यादै भद्र र शालीन थिइन् । ‘ठूली भएपछि यसले राम्रोसँग घर गरिखान्छे,’ उनको भद्रता देख्नेहरू भन्ने गर्थे । त्यही भएर उनलाई ‘द प्यारेन्ट ट्र्याप’ फिल्ममा सोझी बालिकाको अभिनय गर्न दिइएको थियो । यसरी बाल्यकालमै अभिनयमा डेब्यू गरेकी लिन्ड्से लोहान पछि नियमकानुन बारम्बार उल्लंघन गर्ने र हेभी डोज ड्रग लिने अभिनेत्रीका रूपमा बदनाम भइन् । अहिले उनी ड्रग्सको अम्मल छोड्ने अभ्यास गरिरहेकी छिन् । कोकिन र रक्सीकी अम्मली हुन् उनी । नशामा रहेर सवारी साधन कुदाएको र ट्राफिक सिग्नल तोडेको आरोपमा उनलाई पटक–पटक जेल सजाय भइसकेको छ । उनलाई पटक–पटक सुधार गृहमा राखिसकिएको छ । सुधारगृहबाट निस्किएपछि उनले सधँै ‘अब म सुध्रिन्छु’ भन्ने गरेकी छिन् । यसो भनेको केही साताभित्रै आफूलाई पुरानै अवतारमा उतार्ने गरेकी छिन् । पछिल्लोपटक सुधारगृहबाट निस्किएयता उनले अब कहिल्यै लागुऔषध नखाने रटान गरिसकेकी छिन् । हालसालै प्रकाशित एक अन्तर्वार्तामा उनले भनिन्, ‘सुरुमा म रक्सीको अम्मलमा फसँे । त्यसपछि कोकिन र रक्सी एकैसाथ खान थालेँ । यस्ता सबै कुलत अब मैले छोडिसकेँ ।’

 

सञ्जय दत्त

सन् १९९३ मा मुम्बईमा बम विष्फोट भएपछि यसमा बलिउड अभिनेता सञ्जय दत्त मुछिए । त्यसयता यही केसमा उनले पटक–पटक जेल सजाय काटे । अहिले पनि जेल सजाय काटिरहेका उनले त्यसअघि पनि जेलजीवन भोगेका थिए । सन् १९९३ अघि उनी लागुऔषध बोकेको र सेवन गरेको आरोपमा जेल परेका थिए । सन् १९८२ मा ड्रगसम्बन्धी केसमा पक्राउ परेका उनले पाँच महिना जेल सजाय भोगेका थिए । आफू नौ वर्षसम्म लागुऔषधको दुव्र्यसनमा फसेको सञ्जयले बताउने गरेका छन् । ‘नौ वर्षसम्म खानुसम्म लागुऔषध खाइयो । कोकिनदेखि हेरोइनसम्म, जेजे पाइन्छ सबै खाइयो । त्यतिबेलाका दिन सम्झिँदा अहिले पनि आङ सिरिङ्ङ हुन्छ,’ उनी भन्छन् । ड्रगको अम्मल छुटाउन बुबाले उनलाई अमेरिकामा रहेको सुधारगृहमा राखिदिएका थिए । क्यान्सर लागेर आमाको मृत्यु भएपछि आमाको मायाबाट वञ्चित सञ्जयले लागुऔषधबाट त्यसको क्षतिपूर्ति गर्ने प्रयास गरे । ड्रग अम्मलकै कारण ‘हिरो’ फिल्मबाट उनले हात धुनुप¥यो । बक्स अफिसमा ब्लकबस्टर साबित भएको यो फिल्ममा ‘एडिक्ट’ सञ्जयलाई पन्छाएर अभिनेता ज्याकी स्राफलाई लिइयो ।   कसरी ड्रग लिन सुरु गरेँ भन्नेबारे उनले भने, ‘कसैले मलाई ‘ट्राइ गर् न’ भनेर ड्रग दियो । त्यसपछि ड्रगले नौ वर्षसम्म मेरो पिछा छोडेन । कोकिन, हेरोइनदेखि ट्याबलेट सबै मैले खाएँ । नशालु पदार्थ सुँघ्ने काम पनि गरेँ । पछिपछि म सिरिन्ज हान्ने गर्न थालेँ ।’

बब मार्ली

विश्वविख्यात गायक बब मार्लीका अधिकांश फोटोमा उनले धूम्रपान गरिरहेको देख्न पाइन्छ । उनले यसरी उडाउने धुवाँ गाजाको हुन्थ्यो । संगीतपछि उनको अर्को ठूलो अम्मल गाँजा थियो ।   प्रेममा धोका पाएर अथवा कसैले वास्ता नगरेर उनी ड्रगको अम्मलमा परेको बताउने प्रशस्त छन् । तर, बबले यस्ता कारण पेश गरेर आफ्नो गाँजाअम्मललाई ‘जस्टिफाई’ गर्ने प्रयास कहिल्यै गरेनन् । आफूले गाँजा खानुको धार्मिक प्रयोजन भएको उनी बताउने गर्थे । उनले रास्टाफरियन सम्प्रदायले मान्ने धर्म ग्रहण गरेका थिए । यो सम्प्रदायका मानिस गाँजा खाने गर्छन् । गाँजाको नशाको मेडिकल र आध्यात्मिक प्रयोजन हुने यो सम्प्रदायका मानिस बताउँछन् । बब स्वयंले गाँजाले आफ्ना लागि आध्यात्मिक ढोका खोलिदिएको बताएका थिए । ‘कलाकार र कवि बन्न आध्यात्मिक ढोकाबाट पस्नैपर्छ, जसरी म पसेँ,’ उनी भन्ने गर्थे । गाँजा सेवन गर्ने हिन्दू धर्मका भगवान् शिव पनि बबका लागि प्रिय थिए । उनले शिवप्रति समर्पित भजन ‘बम भोलेनाथ बम भोलेनाथ, हे महादेव’ बोलको भजनसमेत गाएका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 149

प्रतिक्रिया (०)