Aamsanchar

सडक निर्माण कछुवा गतिमा, स्थानीयवासी आक्रोशित

Author Image
मङ्गलवार, मंसिर ७, २०७३

इटहरी।

dhankuta-sadak

सम्भवत दुई वर्षअघि नै निर्माण भइसक्नु पर्ने धरान— चतरा सडक निर्माणले कछुवा गति लिँदा धुलो उडेर मानिसको स्वास्थ्यमा ज्यादै प्रतिकूल असर पार्न थालेपछि बराहक्षेत्र गाविसको बयरवनवासी आक्रोशित बनिरहेका छन् ।

सरकारले विसं २०७१ मा बराहक्षेत्रमा लाग्ने दोस्रो महाकुम्भमा आउने भक्तजनका लागि सहज होस् भनेर तत्कालै बजेट निकासा गरेर सडक निर्माणको ठेक्का त्यतिखेरै दिएको थियो । तर समयमा बजेट निकासा नहुनु, सडक विभागका कर्मचारी समयमा सरुवा भएर नआउनु, मधेस आन्दोलन एवम् नाकाबन्दी आदिको कारणले सडक निर्माणमा ढिलाइ भएको ठेकेदार कम्पनीका मानिसले बताउँदै आएका छन् ।

चतरादेखि धरानसम्मको १० किलोमिटर सडक कालोपत्रे गर्नका लागि रु छ करोड ४२ लाख निर्माणको ठेक्का पाएका हजबुल अन्सारीले ठेक्का लिएपछि भएको असहज परिस्थितिकै कारणले सडक निर्माणमा ढिलाइ भएको बताउँदै आउनुभएको छ । धरान—चतराको सडकमा पर्ने पटनाली, बगुवा, सर्दु खोलालगायतले ओगटेको सडक भने कालोपत्रे गर्ने योजनामा नरहेको पनि ठेकेदार अन्सारीले बताउनुभएको छ ।

धरानदेखि चतरासम्मको १७ किलोमिटर सडक पञ्चायतकालीन समयमा नै कालोपत्रे बनिसकेको भनेर राष्ट्रिय योजना आयोगमा उल्लेख भएको तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले धरान—विष्णुपादुका सडक निर्माणको शिलान्यासका क्रममा नै बाहिर आएको थियो ।

त्यसको पनि ठीक १९ वर्षपछि बराहक्षेत्रमा महाकुम्भ धार्मिक मेला लाग्न थालेपछि औपचारिक रुपमा सडक कालोपत्रे योजना बालसन्त मोहनशरण देवाचार्यको दबाबमा सुरु भएपनि अझै त्यो कहिले पूरा होला भन्ने पर्खाइमा चतरावासी रहेका छन् । सडक कालोपत्रे होला र सहजरुपमा धरान—चतराको यात्रा होला भन्ने पर्खाइ धुँवा र धुलो सहेर बसेका चतरावासीले पक्की सडक पाउनै मुस्किल भइसकेको गुनासो गर्दै आएका छन् ।

सडक निर्माणको ठेक्का लिएका ठेकेदार अन्सारीले भने ६० प्रतिशत काम भइसकेको र आगामी फागुन मसान्तसम्ममा निर्माण कार्य पूराहुने भन्दै आउनुभएको छ । तर उहाँले सडक कालोपत्रेका लागि बिच्छ्याएको बिटुमिन अहिले नै सडकबाट उप्किएर सडक धुलाम्मे बनिसकेकाले यो सडकको टिकाउपन झनै शङ्कास्पद बनिरहेको स्थानीयवासीले गुनासो गरिरहेको पाइएको छ ।

धरान—चतरा सडक कालोपत्रे बनेपनि बर्खाको समयमा भने चतरावासीले सर्दु, पटनाली, बगुवा खोलामा बाढी आउँदा धरानसम्मको यात्रा सहजरुपमा गर्न भने नपाउने भएका छन् । खोलाक्षेत्रमा सडक नबनेपछि खहरेमा बाढी आउँदा त्यो सडक सञ्चालनमा आउन सक्दैन । बर्खाको समयमा चतरावासीले इटहरी भएर नै घुमेर धरान जानुपर्ने बाध्यात्मक अवस्था रहने देखिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 121

प्रतिक्रिया (०)

सम्बन्धित खबर