

विराटनगर – मोरङको रतुवामाई नगरपालिका–३ स्थित रतुवा पुलमा सोमबार बिहान ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । हुलाकी सडक खण्डमा को १ त १५०९ नम्बरको ट्याक्टर बिहान करिब ९ बजेतिर आफैं अनियन्त्रित भई दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
मोरङका ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर सन्तोष न्यौपानेका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका चालक गौरीगन्ज गाउँपालिका–५ का अन्दाजी ४२ वर्षीय दिलिप महतोलाई स्थानीयको सहयोगमा तत्काल उद्धार गरी रंगेली अस्पताल पुर्याइएको थियो ।
तर, उपचारका लागि पुर्याउनसाथ बिहान करिब १० बजेतिर चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । दुर्घटनापछि ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनाबारे थप अनुसन्धान सुरू गरिएको छ ।

इलाका प्रहरी कार्यालय सिजुवाबाट इन्स्पेक्टर कैलाश लिम्बूको नेतृत्वमा खटिएको प्रहरी टोलीले दुर्घटनाको कारण खुलाउन आवश्यक अनुसन्धान अघि बढाएको छ। प्रारम्भिक अनुसन्धानबाट ट्याक्टरको तीव्र गतिका कारण दुर्घटना भएको पत्ता लागेको छ ।



