Aamsanchar

‘अर्जुनधारा जलेश्वर धामको विकासमा जुटौं’-नवीन गट्टानी

Author Image
शनिवार, मंसिर ११, २०७३

navin gattani2
झापाको शनिअर्जुन–२ स्थित पूर्वको पशुपतिनाथले परिचित अर्जुनधारा जलेश्वर धामको संरक्षण र सम्वद्र्धनमा एक दशकभन्दा बढी समय आफूलाई समर्पण गर्ने बुवा स्व. वृजमोहन गट्टानीको पदमार्गलाई सन्तानकोतर्फबाट पनि सक्रियरुपमा निरन्तरता दिने उर्जाशील युवा हुन् नवीन गट्टानी । युवा व्यवसायी एवम् समाजसेवीकारुपमा स्थापित उनको यात्रा धाम व्यवस्थापन समितिमा सदस्य, उपाध्यक्ष हुँदै वर्तमान अध्यक्ष रहेका उनीसँग धाममा ३४औं अनुष्ठान अन्तर्गत हाल सञ्चालन भइरहेको हनुमत् कथा तथा रुद्राभिषेक महायज्ञका विषयमा गरिएको कुराकानी ।
धाममा ३४औं अनुष्ठानको रुपमा हनुमत् कथा र रुद्राभिषेक महायज्ञ सञ्चालन गर्नुको उद्देश्य के हो ?
– पूर्वाञ्चलमै पहिलोपटक एउटा ऐतिहासिक धार्मिक स्थलमा हनुमत् कथा र रुद्राभिषेक महायज्ञ सञ्चालन हुनु हामी सबैको लागि विशेष महत्व रहेको छ । धामको इतिहासलाई फर्केर हेनुपर्दा ३३औं अनुष्ठानसम्म सफलतापूर्वक ल्याउन सफल व्यासाचार्य पुष्पलाल निरौला स्वास्थ्यमा आएको असरका कारण हाल गम्भीर अवस्थामा हुनुहुन्छ । त्यसकारण हाम्रो परिवार, समाज, क्षेत्र र सिंगो राष्ट्रमा देखिएको संकट समाधान होस् भन्नका लागि यसपटक ३४औं अनुष्ठान अन्तर्गत संकटमोचन हनुमत् कथाको आयोजना गरेका हौं । प्रमुख वाचक भारतको अयोध्या धाम निवासी विद्धान नरेन्द्रराम दासजी महाराजको संगीतमय हनुमत् कथा प्रवचनमा क्रमिकरुपमा भक्तजनहरुको संख्यामा पनि उल्लेखनीय वृद्धी हुँदै गएको अवस्था छ ।
प्रमुख वाचक भारतीय र कथा वाचन हिन्दीमा भइरहेको भनेर असन्तुष्टि पनि बढ्दैछ नि ?
– यो विषयमा सिंगो धाम कार्यसमिति र सल्लाहकार समितिको संयुक्त आयोजनामा आयोजित सर्वपक्षीय भेलामा गरेको छलफल पश्चात् हामी सो निर्णयमा पुगेका हौं । धार्मिक कार्यमा भारतीय वा नेपाली, हिन्दी वा नेपाली भाषा भन्नुभन्दा पनि सो भन्दा माथि उठेर हामी सबैले सहयोग गर्नुपर्दछ । कथा प्रवचनको क्रममा गुरुले सबै उमेर समूहका भक्तजनहरुले बुझ्ने किसिमको सरल हिन्दी भाषासँगै नेपाली भाषाको प्रयोग गर्नु आफैंमा यो कथा प्रवचनको सकारात्मक पक्ष भएको हाम्रो बुझाई हो ।
महायज्ञ सम्पन्न गर्न बजेटको व्यवस्थापन कसरी गर्नुभएको छ ?
– हामीले महायज्ञको विषयमा छलफल गर्नेक्रममा अनुमानित बजेट नौ लाख रुपैयाँ गरिएकोमा अहिले आएर सो बजेट १२ लाख रुपैयाँभन्दा माथि पुग्नसक्ने अनुमान गरेका छौं । हाम्रो समितिले विगत वर्षमा आवास व्यवस्थापन, बजार व्यवस्थापनलगायत विविध विषयमा सहभागी भक्तजनहरुबाट जुन किसिमको गुनासोहरु राख्नुभएको थियो त्यसलाई उपयुक्त प्रकारले व्यवस्थापन गर्नका लागि सो बराबरको अनुमानित बजेट खर्च हुने भएको हो । त्यसैगरी सो आर्थिक जुटाउन समिति अन्तर्गत रहेको समितिका कोषाध्यक्ष एवम् आर्थिक उपसमिति संयोजक मनोज जोशीमार्फत दाता र भक्तजनहरुसँग समन्वय र संकलनको कार्यलाई तिव्रता पारेका छौं । त्यस्तै विगतको अनुष्ठानहरुमा हुँदै आएको भन्दा बढी बचत गर्ने उद्देश्यका साथ हामी प्रयासरत् छौं ।
यस अनुष्ठानमा हाल सञ्चालन भइरहेको र आगामी दिनमा शुरु गर्नेे थप नया“ कार्य योजना कसरी सम्पादन हु“दैछ ?
– धाम समितिले विगत केही वर्षदेखि सञ्चालन गरेको अन्नदाता अक्षयकोषका लागि तीन हजार एक सय रुपैयाँ संकलन गर्ने कार्य, धामको मुख्य मन्दिरको छानामा ताम्रपत्र लगाउन योजनाका साथ सञ्चालन गरेको पुरानो तामाको संकलन कार्य वा एक केजी तामा बराबरको १५ सय रुपैयाँ लिने कार्यलाई निरन्तरता दिंदै आगामी शिवरात्रीसम्म पूरा गर्ने कार्यसँगै केही नयाँ कार्यको शुरुवात गर्ने जमर्को गरेको छ । जसअनुसार समितिका सल्लाहकार र सदस्य चित्रसेन भण्डारीको संयोजनमा गुरुकुल व्यवस्थापनका लागि अक्षयकोष जसमा १३ जना दाताहरुबाट जनही एक लाख रुपैयाँका दरले प्रदान गर्ने घोषणा भइसकेको छ, साविक शनिश्चरे र अर्जुनधारा गाउँ विकास समितिलाई समेटेर भएको शनिअर्जुन नगरपालिकाको क्षेत्रमा शनि देवताको आवश्यकता सबैको चासोको विषय हुँदा मन्दिर निर्माणका लागि समितिका सल्लाहकार केदारमणी ढकालको संयोजनमा रकम संकलन गर्ने कार्य शुरु भएको छ जसमा दुई लाख ५० हजार रुपैयाँ संकलन भएको छ । त्यसैगरी बाँकी कार्यमा धाम परिसरमा अतिथि सदन निर्माणका लागि नेपाल सरकार र भारतीय राजदुतावाससँग पहल गर्ने कार्य, जलेश्वर बाटीका निर्माण, पुरानो समयको झल्को दिने गुरुकुल आश्रमलगायतका कार्यहरु रहेका छन् ।
अन्त्यमा के भन्न चाहनुहुन्छ ?
– हनुमत् कथा कुनै पुराण वा महापुराण नभई असल समाज निर्माण गर्नका लागि एउटा सचेतनात्मक कार्य भएको हुँदा यसको कथा श्रवण गर्ने कार्यमा सम्पूर्ण भक्तजनहरुलाई सहभागी भई दिनहुन आव्हान गर्दछु । यो धामको विकासमा हामी सबैको साझा जिम्मेवारी भएको हुँदै सबैलाई एकजुट हुन आग्रह गर्दै आगामी १२ गते दिवंगत पितृहरुको स्मृतिमा गरिने द्वीप प्रज्वलन र १३ गते बालाचर्तुदशीका दिन गरिने शतवीज छर्ने कार्यमा सहभागी भई दिनहुन अनुरोध गर्दछु ।
प्रस्तुति ः अमित खम्बू

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 179

प्रतिक्रिया (०)

सम्बन्धित खबर