Aamsanchar

जन्म तथा मृत्यु संस्कार परिवर्तन जरुरी

Author Image
आइतवार, मंसिर १२, २०७३

                                                       

भरत शिवाकोटीbharat

[हाल प्रवास]

जन्म तथा मृत्यु संस्कार व्याक्तिले मान्ने धर्म-संस्कृति अनुसार फरक-फरक छन र यो परम्परा देखी नै चल्दै आएको छ । काजकिरिया गर्ने दिन र विधि आदि पनि समुदाय अनुसार फरक-फरक किसिमका रहेका छन । कसैको मृत्यु संस्कार छोटो अवधिमा शुद्द्याई गरेर सकिन्छ भने कसैको निक्कै लामो अवधिमा आफ्नै विधि र प्रक्रिया अवलम्बन गरेर सक्ने गरिन्छ । परम्परा देखि चली आएको रहनसहन र संस्कारलाई अहिले सम्म पनि कतिले जस्ताको तस्तै गरि र कतिले केहि परिमार्जन गरि हाम्रो समाजले स्वीकार्दै आएको छ, मान्दै आएको छ ।

                  पछिल्लो समयमा यिनै संस्कार वा प्रचलन वा परम्परा सुधार बारेमा बहस  चलिरहेको छ, बहस चल्न जरुरि पनि छ । सामाजिक तथा धार्मिक कुरामा आएको परिवर्तन सँगै बदलिदो परिस्थितिलाई मध्यनजर गर्दै हिन्दू धर्ममा रहेको १३ दिने मृत्यु संस्कारलाई सुधार गर्न अति आवश्यक महशुस गर्न थालिएको बिसय अब नौलो छैन । यहाँ यो किरिया अवधिका कुरा मात्र होइन समग्र संस्कार सँगै मानिसको मृत्यु भएदेखि किरिया सम्म गरिने विभिन्न अनावश्यक कार्य तथा विभेद, परिवारको सदस्यलाई दाहसंस्कार गरि नसक्दै मलामीलाई विकटका नाममा चिया,बिस्कुट,फलफुल आदि खुवाउनपर्ने, छोरोले नै किरिया गर्नुपर्ने, श्रीमानको निधन हुँदा श्रीमतीले किरिया गर्नुपर्ने तर श्रीमतीको निधन हुँदा श्रीमानले किरिया गर्न नपर्ने, दागबत्ती दिन पुरुष नै चाहिने, लोग्ने मृत्यु भएका महिलाका चुरा,पोते,सिन्दुर,राता वस्त्र आदि सबै त्यहि दिनबाट त्याग्नुपर्ने, मृत्यु भएका व्याक्तिलाई मिठो भोजन गराउँदै स्वर्ग पुर्याउनका निमित्त वा अन्य प्रयोजनका निमित्त दुधमा चामल पकाएर पिण्ड लडाउनुपर्ने, ब्राम्हणलाई लैनो गाई देखि लिएर सके सुत्ने, बस्ने, ओढने, ओछ्याउने, नयाँ कपडा, द्रव्य लगायतका सामानहरु समेत दान दिनुपर्ने त्यतिमात्र होइन ब्राम्हणकी श्रीमतीलाई बेहुली बनाउनपर्ने जस्ता रुढिवादी विश्वासका संस्कारहरु आज पनि हाम्रो समाजमा चलिरहेकै छन ।

                         परम्परादेखि संस्कारको नाममा बाँधिदै लामो समय सम्म लगाएर यस्तै विधिहरुलाई अवलम्बन गर्दै गरिने मृत्यु संस्कार अवधिमा किरियामा बस्ने व्याक्तिको मृत्यु भएका खबरहरु यदाकदा उदाघाटित हुन थालेका छन । स्वस्थ व्याक्तिहरु समेत लामो समय सम्म किरियामा बस्ने संस्कारबाट अस्वस्थ भएका घटनाहरु हाम्रै समाजको वरिपरी हामीले नै बारम्बार देखिरहेका छौं । स्वास्थ्य, खानपान लगायतका दृष्टिकोणबाट पनि त्यो निक्कै कठिन हुन्छ भने विभिन्न समस्याबाट ग्रसित व्याक्तिहरुमा त यो निक्कै जटिल कार्य हुन आउँछ । घटेको घटना र ततपश्चात शोकाकुल परिवारले सामना गर्नुपर्ने समस्याहरु सँगै विश्वमा छरिएर रहेका मानिसहरुको कार्य व्यस्तताले पनि पछिल्ला दिनहरुमा मृत्यु संस्कारलाई परिमार्जन गर्नुपर्छ भनेर बल प्रदान गरेको पाइन्छ । समाजको निक्कै ठुलो समूहले लामो समय अवधिको मृत्यु संस्कार वा किरियाकर्मलाई छोटयाएर ३ देखि ५ वा ७ दिनमा सक्नुपर्ने भन्ने बहस र आवाज यदाकदा उठान गराउने प्रयास गरिरहेका छन । कतिपय अन्धविस्वास र अन्य किसिमका परिवर्तन गर्न सकिने संस्कारिय विधिलाई समयानुकुल परिवर्तन गर्दा वास्तविक रुपमा प्रकट हुने मानवता नै असली कर्म हो भनेर विश्वास गर्नेहरुको साथमा अधिकतम नयाँ पिंढीले यसको पक्षमा वकालत गरेको पाइन्छ । तर आज पनि ठुलो हिस्सा यस्तो किसिमको परिवर्तनको विपक्षमा छ र परिवर्तनको आवाज उठाउनेहरुलाई धर्म नमान्ने वा धर्म मास्ने भनेर आरोपित गर्नेहरु पनि हाम्रो समाजमा प्रशस्त छन । यस्तो विरोध गर्नेहरुमा आफ्नो कमाइ खोसिने डर भएका केहि ब्राम्ह्णहरु अनि परम्परागत सोचका बुढापाका तथा अन्यखालका व्याक्तिहरु देखिन्छन ।

                     हामीभित्र रहेका रुढिवादी मान्यताहरुलाई बदलेर आज हामीद्वारा गरिने मृत्यु संस्कारले असली मानवीय धर्म र समाज परिवर्तनको सकारात्मक सन्देश बोक्न सक्नुपर्छ । मृत्यु भैसकेका मान्छेलाई स्वर्ग पुर्याउने नाममा जीवित मान्छेको हुर्मत लिने काम,परिवारको आर्थिक स्थितिमा खेल्ने काम आदि बन्द गरिनुपर्छ, यो आजको आवश्यकता हो र यसलाई स्थापित गर्न हरेक मान्छेले यस कार्यको शुरुवात गर्ने हिम्मत गर्नुपर्छ । चाहे वैज्ञानिक दृष्टिकोणले होस अथवा स्वास्थ्यका हिसावले होस वा अन्य विभिन्न कारणहरुले होस मृत्यु संस्कार छोटयाउने कार्यलाई टुंगोमा पुर्याउन आज आवश्यक भएको छ सँगै कतिपय परम्परागत मान्यताहरुलाई समेत यो र यस्तै कार्य सँगै बदल्न जरुरि छ, जसले समुन्नत समाजको निर्माण गर्न मदत गरोस ।

                    जन्म,विवाह,मृत्यु आदिमा गरिने कर्मकाण्ड परिस्थिति अनुकुल हुनुपर्दछ नै तर संस्कृतिको जगेर्ना गर्न भने भुल्न हुँदैन । हाम्रा रितिथिती र संस्कारहरु नै हामीहरुका सांस्कृतिक पहिचान हुन र यसलाई जोगाउनु हामीहरुको कर्तव्य पनि हो तर यसैभित्र रहेका कतिपय बेथिति र समयानुकुल सुधार गर्नुपर्ने पक्षहरुलाई हामीले आत्मासाथ गरेर ख्याल गर्नैपर्छ,ध्यान दिनैपर्छ । तथापि परिवर्तन गर्ने नाममा संस्कृति त्याग्ने र विकृति अँगाल्ने कुरामा हरेक तह र तप्का सचेत बन्नैपर्दछ ।

                           जन्म-मृत्यु एउटा निरन्तर चलिरहने शृंखलागत प्रक्रिया हो र मृत्यु चाँहि शास्वत सत्य हो । जसरी दिन पछी रात,शिशिर पछी वसन्त आए जस्तै मानिसहरु द्वारा पृथ्वी छोडेर जाने र यहाँ आउने क्रम चलिरहन्छ । जानेहरुको मायाले भन्दा आउनेहरु र पृथ्वीलोकमा रहनेहरुको मायाले मान्छेलाई बाँधिदिन्छ । पृथ्वीलोकबाट जानेहरुले कस्तो कर्म गरेका छन र उसको सम्झनामा मानिसहरु द्वारा गरिने श्रदान्जली कुन प्रकृतिको छ, त्यसले उसको आत्मालाई शान्ती मिल्नेछ भन्ने आम विश्वास आज बढ्दै गएको पाईन्छ ।

                                   स्वर्ग कहाँ छ….. आज सम्म कल्पनाको बिषय मात्र हो ।  विभिन्न परिस्थितिमा आउने ‘’स्वर्ग’’  भन्ने ठाउँ आजसम्म कसैले देखेको छैन र कोहि त्यहाँ पुगेर आएको पनि छैन । परम्पराका नाममा गलत र रुढिवादिताको चन्ङुलमा डुबेको समाजलाई संस्कार सुधारउन्मुख बनाउँदै असल संस्कारलाई बचाएर मृत आत्माहरुको सम्मानको निमित्त लोकले सम्झिरहने कुनै ठोस काम गरेर सच्चा श्रदान्जली दिएमा त्यो श्रदा स्वर्ग बन्नेछ छोडि जानेहरुको निमित्त ।

                                 तर एकातिर पारिवारिक सदस्यको निधनमा शोकमग्न भएको अवस्था अनि अर्कोतिर उसको दाहसंस्कार गरिनसक्दै पल्लो छेउबाट ओल्लो छेउमा आएर संस्कारका रुपमा वा चलनका रुपमा टन्न खाजा खानपर्ने र हजारौं रुपियाँको भार परिवारलाई थोपरिने कार्य मनन गर्ने हो भने पक्कैपनि शोभनीय होइन,आवश्यकता होइन । दाहसंस्कार पछी खुवाइने मलामी खाजालाई बन्द गर्ने, ब्राम्हणहरुलाई दिइने अनावश्यक जिन्सी तथा नगदलाई कुनै परोपकारी काममा लगाउने, चाहे त्यो वृद्दवृद्दालाई सम्मान होस वा अनाथ बालबालिकाहरुको निमित्त गरिने खर्च होस अथवा जेहेन्दार विधार्थीका निमित्त अक्षयकोष होस वा कुनै सार्वजनिक कामका निमित्त सहयोग होस यस्तै किसिमका वास्तविक मानवीय कार्य गर्न सकिन्छ । आजको परिवर्तित समाजको अपेक्षा अनुकुल अनि माथिका केहि उदाहरण बाहेकका अरु थुप्रै सामाजिक, परोपकारी कार्यमा हामी र हाम्रो समाज अघी बढे सायद मृत्तामालाई हामीले कल्पना गरेको बैकुण्ठको वा स्वर्गको बास र मनैदेखीको असली श्रदाञ्जली अर्पण त हुनेछ नै हामीहरु र हाम्रो समाजको विकास र उन्नति अनि वास्तविक मानवीय धर्म समेत प्रकट भएको मानिनेछ जसलाई भावी सन्ततिले समेत गर्व गर्दै जगेर्ना गर्नेछन ।

                   हाम्रो समाजमा आफुलाई परिवर्तनकारी भन्न रुचाउने तर केवल परिवर्तनको खोल मात्र ओडेका राजनीतिकर्मी वा समाज सुधारक धेरै देख्न पाइन्छ ! जो भन्छन तर आफु गर्दैनन । सँगै विज्ञान र संस्कृतिलाई असल र समयानुकुल बनाउन जतिसुकै सम्झाएर पनि आँखा नखोल्ने अन्धा रुढीबादी सोचका पालकहरु पनि ! जो भनिन्जेल हो भन्छन अथवा परिवर्तनकारी अगाडी पर्दा त्यसको पक्षमा मुन्टो हल्लाउछन । तर प्रश्न उठछ आखिर कहिले सम्म यो पछौटेपन?

                    दिनानुदिन बढदै गएको यो आवाजलाई बेवास्ता गरेर परम्परालाई घिसारेर समाजमा थोपरिरहने अभिस्टता कसैले गर्छ भने अन्तत अब त्यहाँ विद्रोह हुने निश्चित छ तर यो कार्य कुनै आन्दोलनले जस्तो तुरुन्तै फ्याँक्न सक्ने छैन । किनभने हाम्रो सोच र रुढिवादी संस्कारलाई अवलम्बन गर्ने समाजका मान्छे अनी यसका पूजकको विचारमा यती चाँडो परिवर्तन स्विकार्ने हिम्मत छैन । शुरुवात गर्ने साहस आफुबाट थालनि गर्ने व्याक्तिहरुको खाँचो छ हाम्रो समाजमा । क्रमिक रुपमा सफलता हासिल हुनेछ, लक्ष्यमा पुग्नका निमित्त यात्रा शुरु गर्नैपर्दछ जसले त्यो हिम्मत गर्दछ त्यसलाई सुखद मान्नुपर्छ । यो परिवर्तित संस्कार कतै कतै बाट शुरुवात हुन समेत थालिसकेको छ । जोसुकैले जेसुकै धार समाएपनी ढिलोचाँडो संस्कार परिवर्तनको आवाजलाई कसैले रोक्न सक्ने छैन तर यसलाई सिङ्गो समाजले नै स्वीकार गरेर एकै किसिमको संस्कारको अवलम्बन गरे त्यो सबैका निम्ति सरल र स्विकारिय हुनेछ भन्दा अनुपयुक्त नहोला ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
Views: 27

प्रतिक्रिया (०)

सम्बन्धित खबर