Aamsanchar

अत्याधुनिक उपचार सेवा दिँदै बिर्तामोड आँखा अस्पताल

Author Image
बुधवार, चैत ९, २०७३

बिर्तामोड ।

‘दृष्टि बचाऔं र पुनस्र्थापना गरौं’ भन्ने मूल नारालाई आत्मसाथ गरी सात वर्षअघि स्थापित बिर्तामोड आँखा अस्पताल सन् २०२० सम्ममा ‘हटाउन सकिने अन्धोपन’ लाई निर्मूल गर्ने विश्व स्वास्थ्य संगठनको मुख्य कार्यक्रमलाई निजी स्तरबाट टेवा पु¥याउन जुटेको छ ।
वार्षिकोत्सवको पूर्वसन्ध्यामा बिर्तामोड आँखा अस्पताल प्रालिले मंगलबार पत्रकार भेटघाटको आयोजना गरी विश्व स्वास्थ्य संगठनको मुख्य कार्यक्रममा निजी स्तरबाट सहयोग पु¥याउने गरी गुणस्तरीय आँखा उपचारलाई प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ ।
अस्पतालका प्रबन्ध निर्देशक डा. राजेश प्रधानले उच्च गुणस्तरीय आँखा उपचार सेवा छिटो–छरितो रुपमा निजी स्तरबाट प्रदान गर्ने उद्देश्यमा आफूहरु क्रियाशील रहेको बताए । १५ बेडको बिर्तामोड आँखा अस्पताल छिटो–छरितो र कम खर्चमा आँखा उपचार गर्ने भरपर्दो केन्द्र बन्दै गएको अस्पतालका नेत्र अधिकृत विनोद दाहालले बताए ।
यहाँको आँखा अस्पतालहरुमा बढी भारतीय नागरिकको चाप हुने गरे पनि बिर्तामोड आँखा अस्पतालमा भने सेवा लिने नागरिक नेपाली नै बढी भएको पाइएको छ । बितेको एक वर्षमा उक्त अस्पतालले ३२ हजार ३ सय ४५ जनालाई सेवा पु¥याएको छ । जसमा १६ हजार ५ सय २८ महिला छन् । सेवा लिनेमध्ये ६५ प्रतिशत नेपाली रहेको सो अवसरमा जानकारी दिइयो ।
जसमध्ये १ हजार ६ सय ९१ जनाको शल्यक्रिया गरिएको थियो । शल्यक्रिया सेवा लिने भने बढी भारतीय छन् । उक्त अस्पतालबाट शल्यक्रिया सेवा लिनेमध्ये ५२ प्रतिशत भारतीय छन् । मोतीयाविन्दु, ऐंजेरु पलाएको, आँशुनली बन्द भएको, परेलाभित्र फर्कने, तल झर्ने, जलविन्दु, टेढो आँखा सिधा पार्ने, आँखामा चोट लागेको, चिलाउने जस्ता रोगको बिर्तामोड आँखा अस्पतालले सफलतापूर्वक शल्यक्रिया गरेको डा. प्रधानले बताए ।
उक्त अस्पतालमा आउने सेवाग्राहीमध्ये सबैभन्दा बढी दृष्टिदोष सम्बन्धी बिरामी रहेको बताइएको छ । नेत्र अधिकृत दाहालका अनुसार दृष्टिदोषपछि आँखा पाक्ने, चिलाउने, मोतीयाविन्दु, ऐंजेरु पलाएको, चोटपटक लागेको, मधुमेहका कारण आँखामा आउने समस्या जस्ता विरामीको उपचार गर्न आउनेहरु बढी छन् ।
बितेको सात वर्षमा उक्त अस्पतालले ओपीडीतर्फ २ लाख ४८ हजार ६ सय र शल्यक्रियातर्फ ११ हजार ३ सय जनालाई सेवा दिइएको छ । २४सै घण्टा आकस्मिक सेवा सूचारु गर्दै आएको अस्पतालले ओपिडीतर्फ हात तथा कम्प्युटरबाट दृष्टि एवम् चश्मा परीक्षण गर्दै           आएको छ ।
अत्याधुनिक उपकरणबाट आँखाको परीक्षण, आँखाको भिडियो एक्स–रे तथा स्क्यान, मधुमेह, उच्च रक्तचापका विरामीको विकीरण उपचार, जलविन्दुको उपचार, कन्ट्याक्ट लेन्स सेवा, अल्छी तथा टेढो आँखाको पुनस्र्थापना जस्ता सेवा पनि बिर्तामोड आँखा अस्पतालले पु¥याइरहेको अस्पतालका नेत्र अधिकृत भरत सापकोटाले बताए ।
शल्यक्रियातर्फ मोतियाविन्दुको कम्प्युटरद्वारा शल्यक्रिया साथै उच्च गुणस्तरीय लेन्स प्रत्यारोपण सेवा समेत अस्पतालले उपलब्ध गराउँदै आएको छ । मोतीयाविन्दुको शल्यक्रिया गरेको विरामी अब सोही दिन हिंडेरै घर जान सक्ने अवस्था आइसकेको अस्पतालले जनाएको छ ।
अस्पतालले जलविन्दु, आँशुथैली र नली, आँखामा मासु पलाएको बिरामीको शल्यक्रिया तथा प्रत्यारोपण सेवा, टेढो आँखा सिधा पार्ने, मधुमेह तथा उच्च रक्तचापका कारण आँखामा हुने असरको सुईद्वारा उपचार गर्ने सेवा समेत प्रवाह गर्दै आएको छ । स्वास्थ्य शिविरहरुमा निःशुल्क सेवा र शल्यक्रिया गर्दै आएको अस्पतालले रोटरी क्लव अफ मिट टाउनसँग सहकार्य गर्दै आएको छ । क्लवका संस्थापक अध्यक्ष सन्तोष अग्रवालका अनुसार वार्षिक रुपमा निःशुल्क शल्यक्रियाका लागि गरीब बिरामीको उपचारमा क्लवले साझेदारी गरेको हो ।
बिर्तामोड आँखा अस्पतालले सामुदायिक आँखा स्वास्थ्य कार्यक्रम अन्तर्गत कुमरखोदमा दैनिक विरामीको जाँच, आँखा शिविर, विद्यालय आँखा जाँच कार्यक्रम, तालिम जस्ता कार्यक्रम सञ्चालन गर्दै आएको छ । हाल अस्पताल रहेकै छेउमा खरिद गरिएको पाँच कठ्ठा जग्गामा दुईवर्षभित्र अत्याधुनिक सुविधासम्पन्न भवन निर्माण गरी सेवा पु¥याउने लक्ष्य पनि पत्रकार भेटघाटमा सार्वजनिक गरियो ।
अस्पताल ५० बेडको पु¥याउने, विभिन्न विषयमा विशेषज्ञता सेवा प्रदान गर्नुका साथै चश्मा हटाउन सकिने शल्यक्रिया पनि शुरु गरिने जानकारी दिइयो । अस्पतालले सरकारले तोकेको मापदण्ड अनुसार असहाय तथा गरीब परिवारका एक बिरामीको लागि हाल १५ मध्ये एक बेड छुट्याएर सेवा समेत प्रवाह गर्दै आएको जनाइएको छ । उक्त अस्पतालमा दुईजना नेत्ररोग विशेषज्ञसहित ५० जना प्राविधिक तथा कर्मचारी कार्यरत रहेका छन् ।
पत्रकार भेटघाटमा अस्पतालका नेत्र अधिकृत ठुमन राजवंशी, डा. सीमा प्रधान लगायतले समेत अस्पतालको सेवाको बारेमा जानकारी गराएका थिए ।
९६ को निःशुल्क जाँच
वार्षिकोत्सवको अवसरमा अस्पतालले मंगलबार बिर्तामोडस्थित परोपकार वृद्धाश्रममा निःशुल्क आँखा जाँच तथा उपचार गरेको छ । त्यहाँका वृद्धवृद्धा आसपासका बासिन्दा गरी ९६ जनाको आँखा जाँच गरिएकोमा २४ जनामा मोतीयाविन्दु फेला परेको छ । जसमध्ये वृद्धाश्रमका आठ जनाको शल्यक्रिया अस्पतालले निःशुल्क गर्ने भएको छ ।
पत्रकार उपचार
कोषलाई २१ हजार
बिर्तामोड आँखा अस्पतालले आफ्नो वार्षिकोत्सवको अवसर पारी नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको पत्रकार सहारा उपचार कोषका लागि २१ हजार रुपैयाँ सहयोग गरेको छ ।
अस्पतालका प्रबन्ध निर्देशक डा. राजेश प्रधानले महासंघका अध्यक्ष तारामणि सापकोटालाई मंगलबार उक्त रकमको चेक हस्तान्तरण गरे । केही महिनाअघि स्थापित कोषमा १० लाख रुपैयाँ जम्मा भइसकेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 504

प्रतिक्रिया (०)