Aamsanchar

प्रजातन्त्र सेनानी बस्नेतको निधन

Author Image
बिहिवार, चैत १७, २०७३

बिर्तामोड।

प्रजातन्त्र सेनानी लक्ष्मण बस्नेतको १०६ वर्षको उमेरमा निधन भएको छ ।  वि.सं. १९६८ वैशाख ४ गते इलाम साँखेजुङमा धनराज र धनमाया बस्नेतको दोस्रो पुत्रका रुपमा जन्मिएका बस्नेतको चैत १४ गते झापा बिर्तामोडस्थित निवासमा निधन भएको हो ।
गाउँमै प्रारम्भिक अध्ययन गरेका बस्नेतले २००६ सालको राणा विरोधी प्रजातान्त्रिक आन्दोलन हुँदै २०१५ सालको पहिलो आमनिर्वाचन र त्यसपछिका राजनीतिक आन्दोलनहरुमा समेत सक्रिय र प्रभावकारी भूमिका निर्वाह गरेका थिए । राजनीतिक चेतनाले पूर्ण इलाम साँखेजुङका बस्नेत परिवारको त्यसपछिका प्रजातान्त्रिक आन्दोलनहरुमा समेत अग्रणी भूमिका रहेको छ ।
प्रजातान्त्रिक आन्दोलनका शिखर पुरुष वीपी कोइरालाको विचारबाट प्रभावित, निर्देशित बस्नेत केही समय वीपीका साथ संगठन बिस्तारमा समेत क्रियाशील थिए । पछिल्लो समय बिर्तामोडमै बस्दै आएका बस्नेत केही दिनदेखि अस्वस्थ थिए । सात छोरा र सात छोरीका कुशल अभिभावक बस्नेतकी धर्मपत्नी शिवमायाको केही वर्षअघि निधन भइसकेको छ । बस्नेतसँग साहिँला छोरा नरेन्द्र र बुहारी देविका बस्दै थिए । उनका जन्तरे छोरा कुमार बस्नेत मेची बहुमुखी क्याम्पसका पूर्व प्रमुख तथा मनकामना कलेज बिर्तामोडका अध्यक्ष रहेका छन् । बस्नेतका अन्य छोराहरु गणेश, दिलीप, कृष्ण, टंक रहेका छन् भने कान्छा छोरा योगेन्द्रको निधन भइसकेको छ ।
स्व. बस्नेतका सात छोरीहरु दीलखुसा प्रसाईं, तारादेवी निरौला, माया प्रसाई, कमलादेवी पोखरेल, मुना थापा उर्मिला कार्की र कलिकादेवी भक्तराजको निधन भइसकेको छ । उनका नाति–नातिनी, पनाति–पनातिनी र जनाति–जनातिनी गरी एक सयभन्दा बढी सन्तान छन् । स्व. बस्नेत युवा व्यवसायी तथा नेपाल जेसीजका पूर्व राष्ट्रिय उपाध्यक्ष विनोद बस्नेतका हजुरबुबा पनि हुन् ।
बिर्तामोड जगतबस्तीका स्थायी बासिन्दा बस्नेतको जेठा दाजु जगतबहादुर, साहिँला भाइ खम्ब सिंह, काइँला, भाइ रत्नबहादुर स्वर्गीय भइसकेका छन् । खम्बसिंह इलाम जिल्लाबाट रापस समेत भइसकेका थिए । उनका कान्छा भाइ टुंगबहादुर बिर्तासिटी हस्पिटल र वाल्मिकी एजुकेशन फाउण्डेशनका संरक्षक हुन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 59

प्रतिक्रिया (०)