[डा. उमेशकुमार शर्मा]
जब मगन्ते वा माग्ने बानी लाग्छ, अल्छीपन बढ्दै जान्छ र लज्जा घट्दै जान्छ । वीर गोर्खाली, जनकनन्दिनी सीता, अरनिको, भृकुटीको देश र नेपाली जनतालाई डो¥याउने आजका स्वघोषित नेताहरु आम जनताको मनोबललाई गिराउने खेलमा विगुल बजाउँदैं हिंडेको देखिन्छ । कोही उत्तरबाट शक्ति प्रदर्शन गर्न खोज्छन् त कोही दक्षिणबाट रवाफ । कोही पश्चिमबाट दाउ लगाउन खोज्छन् भने कोही पूर्वबाट । बीचमा चेपिएका गरीब नेपालीहरु उछिट्टिएर पुगे कोही कहाँ कोही कता । अनि बिलौना ती वृद्ध–वृद्धा अनि अवला नारीहरुको गाउँ–गाउँमा, कतै कृतिम खुशीका आँशु, कतै बिलौनाका आँशु ।
जापान सरकार ! तिमीले बनाई त दियौ रौनकले भरिपूर्ण वीपी मार्ग केही वर्ष अघिमात्र । अब त भोका पेटको आन्द्रामा परेका अल्सर झै ती बाटाहरुमा पनि ठूला–ठूला खाल्डाहरु पर्दैछन् । महिना–वर्ष बित्दै छन्, एकपछि अर्को खाल्डा पनि थपिँदै छन् अनि दुर्घटना पनि निम्तिदै छ, तिमीहरुले माया गर्न खोजेको ती नेपालीहरुको । केही खाल्डा पुर्न पनि पर्खनु पर्छ आर्थिक वर्षको अन्त्य र केही अर्ध पुरिन्छन् । भदौरे झरीसँगै बग्छन् । ती रोसी खोला र सुनकोशी भेलमा । अनी जस्ताको त्यस्तै । बरु जापान सरकार आउ फेरि वीपी राजमार्ग बनाइदेऊ । गरीबलाई के को लाज र सरम ।
करोडौं खर्च हुन्छन्, जब आउँदा अन्तर्राष्ट्रिय पर्व एवम् सार्कसंगम महिना । त्यसै सन्र्दभमा सम्झना आउँछ केही वर्षअघिको शिखर वर्षको, जव देउवा माननीयको पालामा तिनकुनेमा करोड पर्ने आकाशको तारानै खसेको जस्तो भयो, अप्सरा नै नाच्लान् भने झैं देखियो । तर, उल्का झैं चम्कियो क्षणको लागि अनि भस्म । करोडौंको खेती स्वाहा । बिचरा ती गरिबीले नाङ्गीएका शरीरमा न्यानो वा भोकाएको पेटमा आहार पुग्थे होलान् अथवा औषधि पुग्थे होलान् दुर्गम कन्दरामा । कृतिम हाँसोभन्दा लज्जाबोध राम्रो हो । करोड गरीब नेपालीको हैसियत र अवस्था संसारलाई राम्रो अवगत छ । ढाकछोप गर्नुको औचित्य के ? त्यसैले कृतिम सजावटभन्दा मौलिक सुन्दरताले नै आगन्तुकलाई आकर्षित पार्न सक्छ होला ।
लोकतन्त्र त आयो तर उजाड बनाए ति हराभरा, राजीरोटीको अवसर दिने जनकपुर चुरोट कारखाना, वीरगञ्ज चिनी एवम् कृषि औजार कारखाना, हेटौडाका औद्योगिक क्षेत्र, चोभारको सिमेन्ट उधोग । खोइ क–कसलाई दोष दिनु, मात्र फस्टायो दलगत राजनीतिक उद्योग । वास्तविक नयाँ उद्योग त आशाका फल मात्र । आफूले गरेको गल्ती महशुस कसलाई ? संसार सयर गरिसके सदस्यहरु संविधान सभाको । तर, अझै निद्राबाट ब्युतिन कति गाह्रो… आँखा चिम्लेको हो या निद्रामा मस्त ? कस्तो अफ्ठ्यारो । आन्दोलन, क्रान्ति एकपछि अर्को । तर पुगेन । नेता बन्न थाले अभिनेता । गरीबहरुलाई जम्मा पारेर ताली सुन्न लालायित बन्यो हाम्रो संस्कार । नीति बिनाको हाम्रो राजनीति । वर्षेनि जन्मने टुक्रे दलहरु र त्यसमा अन्त्य नअटाएका नवआगन्तुक एवम् वागीहरु । नयाँ बोतलमा पुरानो रक्सी । कोही हुन्छन् टोपीवाल, कोही गम्छावाल, कोही सुन, हिराले सुसज्जित त कोही मृदुभाषी र केही स्वघोषित बुद्धिजीवि एवम् समाजकर्मी । “छैनन् त मात्र राष्ट्रभक्त नेपाली”। आशा बाँडेर गरीब र अशिक्षितलाई, भइरहेको छ राज्यकोषमा मोज । मै खाऊ मै लाऊ………. मरुन दुर्बलहरु । जो जससँग सम्बन्ध राख्छ त्यसका लागि मात्र हो यो टुक्का र कथन । भागवण्डा र सेवासुविधामा सबैको एकमत नै हुने हो । चित्त नबुझ्दा अनि वागी र ठूलो राष्ट्रवादको नारा, क्रान्त्रिकारी चित्कार । भोलिपल्ट आफ्ना सेल्फी पत्रकारबाट पहिलो पृष्ठमा फोटो एवम् प्रशंसाको भेट । के सही ? के गलत ? के बुझुन् ती सिधा–साधा जनताहरु ! राजनीतिक दलका नेता एवम् शक्तिकेन्द्रका आगन भए टाठा–बाठाका तीर्थस्थल र भेटी चढाऊ… अनि तथास्तु । धर्म र संस्कृतिको संस्कार आजका पुस्तालाई मतलब छैन ।
कमजोरी हाम्रो अभिभावकत्व को हो तर स्वीकार गर्न खोज्दैनौ माहुरीहरुले भन्केको जस्तो भयो सभा संविधानको । माकुराको जालो हटाउन ध्यान र फुर्सद छैन कसैको । गल्ती कसको भनौ अब, चाका तयार भयो यी नै नेपालीहरुको रगत र आँशुले । अब त लाग्न थाल्यो यहाँ त रहस्य अर्कै रहेछ, राष्ट्रियताको पटके नारा इशारामा चर्किन्छ कि क्या हो ? अन्धा चमेराहरुका लागि दिउँसोको उज्यालो किन चाहियो । ठूलो भूकम्प आयो, हजारौं परकम्पले घच्घच्याउँदैछ अझै पनि । अर्बौ खर्च पनि भइसके तर पीडितहरुको जीवनी बन्दैछ हेरी घामपानी । धन्यवाद धुर्मुस–सुन्तलीलाई आखिर बनाएर आयौ तिमीहरु गरीबको आशाको बिहानी । के भनौं म पशुपतिनाथ तिमीलाई कहिले खोल्छौ अब तेस्रो आँखालाई । भो भयो धेरै नगर ढिलो अबलाई अन्यथा डर छ टुक्रा–टुक्रा पार्ने पो हो कि तिम्रो वासलाई । गाह्रो र असह्य भइसक्यो तिम्रो श्रद्धालुजनलाई ।
मुटु पोलेर आउँछ जब देखिन्छ दुर्दशा ती गरीब, बेरोजगार ऋणको भारी बोकेर लाइनमा बसेका अन्तर्राष्ट्रिय विमानस्थलमा । विचरा कमजोर ती युवालाई कठिन छ साधारण फारम भर्न र संवाद गर्नसम्म । वेदना जब कतिपय फर्किन्छन् ठगिएर अनि कफिनभित्र र शिर निहुरिन्छ । गौरवशाली नेपालीहरुको जब हरियो पासपोर्टप्रतिको दृष्टिकोण अरु मुलुकको अन्तर्राष्ट्रिय आगमन कक्षमा पुग्दा । कहिलेकाहीँ लाग्दछ किन पो आएछु यस्तो मुलुकमा जहाँ पासपोर्ट एवम् छालाको रंगमा गरिन्छ फरक व्यवहार । अनि तिनीहरुकै चर्का कुराहरु नागरिक एवम् मानवअधिकार कस्तो पाखण्ड…। प्रत्येक नेपालीको अन्तरंगबाट निस्कन्छ एउटै भावना, हाम्रो आत्मसम्मान र स्वाभिमान कसले सुरक्षित गर्ने ? जागरुक हुनुप¥योे प्रत्येक नेपाली, ठगियौं तिमीहरु देशभित्रै अनि बाहिर, झुठा सपना बाड्नेबाट चेतना भया…। शत्रु देशभित्र र हामी माझ नै छन् । विदेशीलाई के को चासो र मात्र ३ करोडको छ परिवार, बनाऊ आफ्नो सपना साकार देशभित्र नै छ यसको आधार चेतनशील प्राणी हौं ।
हामी गरौं आज गहिरिएर विचार अग्रणी स्थानमा छौं हामी विश्वमा । भ्रष्टाचार, दुराचार, फोहोर–प्रदूषण, अव्यवस्थित व्यवस्था एवम् गरिबीका लागि लज्जाबोध छैन रत्तिभर नाईकेहरुलाई । लगाम बिनाका यी देशका परिजीविहरु कहिल्यै हँुदैनन् मित्र कमजोर नागरिकहरुको निम्ति । अब त शिक्षाका मन्दिरदेखि सुरक्षाका केन्द्रसम्म, सानादेखि ठूला पद एक साधारण स्वाभिमान नागरिकको लागि आकाशको फल भइसक्यो । सुनिन्छ, हरेक पदहरुको अक्सन हुनेगर्छ जसको ठूलो बोली उसकै पोल्टामा निर्णय । गिद्धहरुको निम्ति नै बगेछ शहीदका रगतहरु अनि गरिबका आँशु र भनिन्छ यो देश सतिले सरापेको साँच्ची नै हो त ?
स्कूलमा पढ्दा पञ्चायत विषयमा पञ्चायती ब्यवस्था आउनुको एउटा प्रमुख कारण बढ्दो दलगत स्वार्थ भनी पढेका थियौं । अहिलेका राजनीतिक दलहरुका क्रियाकलाप हेर्दा ती कुराहरुमा सत्यता रहेछ भन्ने प्रमाणित भएको छ । विश्वविद्यालय, निजामती सेवा, न्यायालय, प्रहरी, कूटनीतिक सेवा जताततै राजनीतिक पहुँच बिना वा पार्टीका कार्यकर्ता वा नेताहरुका स्वार्थपूर्ति गर्ने धनाढ्यले बाहेक सक्षम आम नागरिकको लागि अवसर पाउनु दुर्लभ नै भएको देखिन्छ । प्रजातन्त्र, गणतन्त्र, लोकतन्त्र, राजतन्त्र सबै अफाप भएपछि हाम्रो देश सुहाउदो तन्त्र चाहिँ के रहेछ । जनताहरुको सोचाई मै खोट छ वा चेतनाको कमी कि उही भ्रस्ट नेताहरुलाई नै रोजी–रोजी चुनावमा भोट हाल्ने । अब फेरि १७ सालकै पुनरावृतिको अवस्था आएको हो कि ?
आजको यो अराजक अवस्थाको जिम्मेवारी त कसैले लिनुप¥र्यो । २४० वर्षको इतिहासको दोष, संक्रमणकाल एवम् विदेशी चलखेलको सुगा रटाइले आमजनताको कान भरिसकेको छ । असक्षमले मात्र देश चलाउने भए अझ परिस्थिति गम्भीर हँुदै जाने निश्चित नै छ । दुरदृष्टि नभएकोले आज यो परिस्थिति सृजना भएकोमा दुईमत छैन । सपना त निकै बाँढिए गरीब जनतालाई (एशियाली मापदण्डदेखि सिंगापुर र स्वीजÞरल्याण्डसम्म कार तर लज्जाबोध रतिभर छैन कसैलाई आफ्नो बोलीको । अनेक प्रकारका नेताहरु आज हामी माझ छन् – कोही केही नगरी धेरै गरें भन्छन्– कोही गर्न खोजेको जस्तो गर्छन् । कोही केही पनि नगरी चुपचाप बस्छन् त कोही आफूलाई केही गर्न दिएनन् भनी दोषमात्र लगाउन खोज्छन् । समग्रमा आमजनताको नेता आज कोही हुन सकेनन् ।
गरीब र सर्वसाधारणलाई के नै फरक पर्छ । हिमाल, पहाड वा तराई, पूर्व, मध्य र पश्चिम, हिन्दू, मुस्लीम वा इसाइ, पहाडे, मधेशी वा आदिवासी । जोसुकै होस् टाठा बाठाकै लागि हो शासनको भोक र रस । त्यो खेत र बगरमा पसिना चुहाउनेको कुनै रंग नै छैन । वर्ग एउटै हो ‘गरीब’ । धनी र सम्पन्नका लागि नै वर्ग र द्वन्द्व, समानुपातिक वा भागवण्डा÷खान पुगोस्, लगाउन पुगोस् ! मात्र एक मानवीय आम आकांक्षा ।