Aamsanchar

एभरेष्ट स्मार्ट एजुकेशन एकाडेमी सञ्चालनमा आउदैं

Author Image
बुधवार, चैत ३०, २०७३

बिर्तामोड।

२१औं शताब्दी सुहाउँदो ‘स्मार्ट’ शिक्षा प्रदान गर्न झापाको बिर्तामोडमा शिक्षासेवी हरिकुमार प्रसाईंले एभरेष्ट स्मार्ट एजुकेशन एकाडेमी सञ्चालनमा ल्याएको छ । अन्तर्राष्ट्रिय स्तरको पढाइ हुने उक्त विद्यालय सञ्चालनमा आएपछि अब पढ्नकै लागि विदेश जाने र लाखौं खर्च गर्ने यस क्षेत्रको बाध्यता टरेको सञ्चालक प्रसाईंले बताए ।
बिर्तामोड–६ बुट्टाबारीमा अवस्थित उक्त विद्यालयमा यसै शैक्षिक सत्रबाट पठनपाठन शुरु गरिने बुधबार सो विद्यालयमा आयोजित पत्रकार भेटघाटमा जानकारी दिइयो । साढे चार दशकदेखि शिक्षासेवामा रहेका प्रसाईंले आफ्नो अनुभव र मुलुकलाई सही पद्धतिमा अगाडि बढाउन सक्ने दक्ष जनशक्ति उत्पादनका लागि प्रविधियुक्त आधुनिक शिक्षा दिन एभरेष्ट स्मार्ट स्कूल सञ्चालन ल्याउन लागेको जानकारी दिइयो ।
अंग्रेजी भाषा प्रयोगशाला, इन्टरएक्टिभ शिक्षण वोर्ड, ल्यापटप कम्प्युटर ल्याव, स्तरीय विज्ञान प्रयोगशाला, स्मार्ट एटेनडेन्स पद्धति, आइपी क्यामेरा पद्धति, अनुभवी र निष्ठावान शिक्षक तथा विविध अतिरिक्त क्रियाकलापका माध्यमबाट विद्यार्थीलाई सिकाइने बताइएको छ ।
अतिरिक्त क्रियाकलाप अन्तर्गत योगा, मेडिटेसन, संगीत, वाद्यवादन, मार्सल आर्ट तथा विविध खेलकुद सञ्चालन गरिने विद्यालयका निर्देशक तथा संस्थापक प्रिन्सिपल प्रसाईंले बताए । विद्यार्थीको अतिरिक्त क्रियाकलापप्रतिको चाखलाई अझ बढाउँदै, खेल्दै, रमाउँदै, खादै पढ्ने वातावरणको व्यवस्था एभरेष्ट स्मार्ट स्कूलमा गरिएको विद्यालयकी अध्यक्ष धर्मा पराजुली प्रसाईंले बताइन् ।
बिहान ८ बजेबाट बेलुका ५ बजेसम्मको विद्यालय समयको तालिका पनि सो असरमा सार्वजनिक गरियो । शुरुमा विद्यार्थी पुग्ने बित्तिकै योगा, मेडिटेसन, संगीत र वाद्यवादनमा सरिक गराइने, ९ बजे नास्ता, त्यसपछि ३ः१५ सम्म कक्षा कोठामा आधुनिक प्रविधिबाट पढाई, त्यसबीचमा १२ः४५ बजे खाना, ३ः१५ बजे खाजा, त्यसपछि होमवर्क शिक्षकहरुकै निगरानीमा एकघण्टासम्म गराइने र त्यसपछि एकघण्टा रुची अनुसारको खेलकुदका लागि व्यवस्थापन मिलाइएको बताइएको छ ।


कक्षा १ देखि ८ सम्म यसवर्ष पढाइ हुने सो विद्यालयको हरेक कक्षामा २५ देखि बढीमा ३० जनामात्र विद्यार्थी राखिने निर्देशक प्रसाईंले बताए । तीन विगाह तीन कठ्ठा विद्यालयको क्षेत्रफल रहेको छ । विद्यालयमा एक विद्यार्थी एक ल्यापटपका साथै छ महिनामा अंग्रेजी भाषा सही ढंगले उच्चारण गर्नसक्ने तथा तीन महिनाभित्रै बालबालिकामा परिवर्तन ल्याउने सोचका साथ विद्यालय सञ्चालन गर्न लागिएको पत्रकारहरुलाई जानकारी दिइयो ।
कक्षा कोठामा आफ्ना छोराछोरीले कसरी पढिरहेका छन् तथा शिक्षकले कसरी पढाइरहेका छन् भन्ने प्रत्यक्ष अवलोकन विद्यालयको छुट्टै कोठामा आइपी क्यामेरा पद्धतिमार्फत अवलोकन गर्न सकिने व्यवस्था समेत मिलाइएको बताइएको छ । विद्यार्थी विद्यालयको पुगेको र विद्यालयबाट घर आउनका लागि बस चढेको जनाउ दिन अभिभावकलाई हरेक दिन एसएमएस पठाउने पद्धतिको समेत विकास गरिएको बताइएको छ । विद्यालयका निर्देशक प्रसाईंले आफ्नो सामाजक उत्तरदायित्व अन्तर्गत गरीब तथा जेहेन्दारहरुलाई पाँच प्रतिशत छात्रवृत्तिको व्यवस्था गरिएको र सञ्चारकर्मीका छोराछोरीलाई मासिक शुल्कमा २५ प्रतिशत छुट दिइने घोषणा समेत गरे ।
नयाँ सोच र नयाँ प्रविधिमा शिक्षालाई रुपान्तरण गर्न झापामा शुरु गरिएको एभरेष्ट स्मार्ट स्कूलमार्फत अरु विद्यालयलाई पनि यस्तै प्रविधियुक्त विद्यालय सञ्चालन गर्न प्रेरित गरिने बताइएको छ । प्रसाईंले १४ वर्षदेखि न्यूटन्स एजुकेशन एकाडेमी समेत सञ्चालन गर्दै आएका छन् । १२ सय विद्यालय रहेको सो विद्यालयलाई पनि बिस्तारै प्रविधियुक्त शिक्षालयको रुपमा रुपान्तरण गरिने उनले बताए । थाइल्याण्ड र अमेरिकाको भ्रमणपछि त्यहाँको शिक्षालाई देखेर त्यो स्तरको शिक्षालय आफ्नै ठाउँमा खोल्ने सोच आएको प्रसाईंले सुनाए ।
विद्यालय व्यवस्थापनका सदस्य देवीप्रसाद गिरीले एभरेष्ट स्मार्ट स्कूल नमूना विद्यालयको रुपमा स्थापित हुन लागेकोमा खुशी व्यक्त गरे । अत्याधुनिक प्रविधिसहितको शिक्षा अहिलेको आवश्यकता भएकोमा जोड दिँदै गिरीले त्यसको परिपूर्तिका लागि हरिकुमार प्रसाईंले नेतृत्व गरेकोमा बधाई समेत ज्ञापन गरे । उक्त विद्यालयमा वैशाखको दोस्रो साताबाट पठनपाठन शुरु हुने शिक्षक कुमार कटुवालले जानकारी दिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 242

प्रतिक्रिया (०)