Aamsanchar

बिर्तामोडमा अन्तराष्ट्रीय स्तरको विद्यालय

Author Image
बुधवार, चैत ३०, २०७३

बिर्तामोड–६ बुट्टाबारी स्थित संचालनमा आउन लागेको अन्तराष्ट्रीय स्तरको  एभरेष्ट स्मार्ट एजुकेशन एकाडेमीको बारेमा जानकारी दिदै संचालक हरिकुमार प्रसाई । अन्तराष्ट्रीय स्तरको पढाइ हुने उक्त विद्यालय सञ्चालनमा आएपछि अब पढ्नकै लागि विदेश जाने र लाखौं खर्च गर्ने यस क्षेत्रको बालबालिकाहरुको बाध्यता टरेको सञ्चालक प्रसाईंले बताए । फोटो : विनोद पाण्डे(कमल)/आमसंचार

 

आधुनिक प्रविधियुक्त शिक्षा दिन एभरेष्ट स्मार्ट स्कूल सञ्चालनमा

बिर्तामोड ।

२१औं शताब्दी सुहाउँदो ‘स्मार्ट’ शिक्षा प्रदान गर्न झापाको बिर्तामोडमा शिक्षासेवी हरिकुमार प्रसाईंले एभरेष्ट स्मार्ट एजुकेशन एकाडेमी सञ्चालनमा ल्याएको छ । अन्तर्राष्ट्रिय स्तरको पढाइ हुने उक्त विद्यालय सञ्चालनमा आएपछि अब पढनकै लागि विदेश जाने र लाखौं खर्च गर्ने यस क्षेत्रको बाध्यता टरेको सञ्चालक प्रसाईंले बताए ।
बिर्तामोड–६ बुट्टाबारीमा अवस्थित उक्त विद्यालयमा यसै शैक्षिक सत्रबाट पठनपाठन शुरु गरिने बुधबार सो विद्यालयमा आयोजित पत्रकार भेटघाटमा जानकारी दिइयो ।
साढेचार दशकदेखि शिक्षासेवामा रहेका प्रसाईंले आफ्नो अनुभव र मुलुकलाई सही पद्धतिमा अगाडि बढाउन सक्ने दक्ष जनशक्ति उत्पादनका लागि प्रविधियुक्त आधुनिक शिक्षा दिन एभरेष्ट स्मार्ट स्कूल सञ्चालन ल्याउन लागेको जानकारी दिइयो ।
अंग्रेजी भाषा प्रयोगशाला, इन्टरएक्टिभ शिक्षण वोर्ड, ल्यापटप कम्प्युटर ल्याव, स्तरीय विज्ञान प्रयोगशाला, स्मार्ट एटेनडेन्स पद्धति, आइपी क्यामेरा पद्धति, अनुभवी र निष्ठावान शिक्षक तथा विविध अतिरिक्त क्रियाकलापका माध्यमबाट विद्यार्थीलाई सिकाइने बताइएको छ ।
अतिरिक्त क्रियाकलाप अन्तर्गत योगा, मेडिटेसन, संगीत, वाद्यवादन, मार्सल आर्ट तथा विविध खेलकुद सञ्चालन गरिने विद्यालयका निर्देशक तथा संस्थापक प्रिन्सिपल प्रसाईंले बताए । विद्यार्थीको अतिरिक्त क्रियाकलापप्रतिको चाखलाई अझ बढाउँदै, खेल्दै, रमाउँदै, खादै पढ्ने वातावरणको व्यवस्था एभरेष्ट स्मार्ट स्कूलमा गरिएको विद्यालयकी अध्यक्ष धर्मा पराजुली प्रसाईंले बताइन् ।
बिहान ८ बजेबाट बेलुका ५ बजेसम्मको विद्यालय समयको तालिका पनि सो असरमा सार्वजनिक गरियो । शुरुमा विद्यार्थी पुग्ने बित्तिकै योगा, मेडिटेसन, संगीत र वाद्यवादनमा सरिक गराइने, ९ बजे नास्ता, त्यसपछि ३ः१५ सम्म कक्षा कोठामा आधुनिक प्रविधिबाट पढाई, त्यसबीचमा १२ः४५ बजे खाना, ३ः१५ बजे खाजा, त्यसपछि होमवर्क शिक्षकहरुकै निगरानीमा एकघण्टासम्म गराइने र त्यसपछि एकघण्टा रुची अनुसारको खेलकुदका लागि व्यवस्थापन मिलाइएको बताइएको छ ।
कक्षा १ देखि ८ सम्म यसवर्ष पढाइ हुने सो विद्यालयको हरेक कक्षामा २५ देखि बढीमा ३० जनामात्र विद्यार्थी राखिने निर्देशक प्रसाईंले बताए । ३ विगाह ३ कठ्ठा विद्यालयको क्षेत्रफल रहेको छ । विद्यालयमा एक विद्यार्थी एक ल्यापटपका साथै ६ महिनामा अंग्रेजी भाषा सही ढंगले उच्चारण गर्न सक्ने तथा तीन महिनाभित्रै बालबालिकामा परिवर्तन ल्याउने सोचका साथ विद्यालय सञ्चालन गर्न लागिएको पत्रकारहरुलाई जानकारी दिइयो ।
कक्षाकोठामा आफ्ना छोराछोरीले कसरी पढिरहेका छन् तथा शिक्षकले कसरी पढाइरहेका छन् भन्ने प्रत्यक्ष अवलोकन विद्यालयको छुट्टै कोठामा आइपी क्यामेरा पद्धति मार्फत अवलोकन गर्न सकिने व्यवस्था समेत मिलाइएको बताइएको छ । विद्यार्थी विद्यालयको पुगेको र विद्यालयबाट घर आउनका लागि बस चढेको जनाउ दिन अभिभावकलाई हरेक दिन एसएमएस पठाउने पद्धतिको समेत विकास गरिएको बताइएको छ । विद्यालयका निर्देशक प्रसाईंले आफ्नो सामाजक उत्तरदायित्व अन्तर्गत गरिब तथा जेहेन्दारहरुलाई पाँच प्रतिशत छात्रवृत्तिको व्यवस्था गरिएको र सञ्चारकर्मीका छोराछोरीलाई मासिक शुल्कमा २५ प्रतिशत छुट दिइने घोषणा समेत गरे ।
नयाँ सोच र नयाँ प्रविधिमा शिक्षालाई रुपान्तरण गर्न झापामा शुरु गरिएको एभरेष्ट स्मार्ट स्कूलमार्फत अरु विद्यालयलाई पनि यस्तै प्रविधियुक्त विद्यालय सञ्चालन गर्न प्रेरित गरिने बताइएको छ । प्रसाईंले १४ वर्षदेखि न्यूटन्स एजुकेशन एकाडेमी समेत सञ्चालन गर्दै आएका छन् । १२ सय विद्यालय रहेको सो विद्यालयलाई पनि बिस्तारै प्रविधियुक्त शिक्षालयको रुपमा रुपान्तरण गरिने उनले बताए । थाइल्याण्ड र अमेरिकाको भ्रमणपछि त्यहाँको शिक्षालाई देखेर त्यो स्तरको शिक्षालय आफ्नै ठाउँमा खोल्ने सोच आएको प्रसाईंले सुनाए ।
विद्यालय व्यवस्थापनका सदस्य देवीप्रसाद गिरीले एभरेष्ट स्मार्ट स्कूल नमूना विद्यालयको रुपमा स्थापित हुन लागेकोमा खुशी व्यक्त गरे । अत्याधुनिक प्रविधिसहितको शिक्षा अहिलेको आवश्यकता भएकोमा जोड दिँदै गिरीले त्यसको परिपूर्तिका लागि हरिकुमार प्रसाईंले नेतृत्व गरेकोमा बधाई समेत ज्ञापन गरे ।
उक्त विद्यालयमा वैशाखको दोस्रो साताबाट पठनपाठन शुरु हुने शिक्षक कुमार कटुवालले जानकारी दिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 236

प्रतिक्रिया (०)

सम्बन्धित खबर