Aamsanchar

निशब्द मनका सुन्दर आँखा -१

Author Image
सोमवार, वैशाख ११, २०७४

[हेमन्त ‘क्षितिज’]

विराटनगर,

दिनभरी दर्किएको झरीपछि विस्तारै उघ्रँदै थियो गोधुली साँझ । डम्म कालो वादल पन्छाएर पर देखिएको कञ्चनजङ्घा हिमाल । चोइली चोइली परेर हिमालको काखमा छरिएर अटाएका सुन्दर पहाडहरु । इलामसँग कुम मिलाउँदै देवानछापसँग अँगालो मारेर बसेको मेरो इरौँटार । आकाशे झरीले सनक्कै फोहोर पखालेर लगेको भिरालो मेरो सिकुवा र आँगन । टिमाई सुसाएको एक तमासको संगीत झैँ निरन्तर ओझिलो धुन ।

रात छिप्पिँदै थियो अरे, अनि आमामा खटपटी – वि. सं.१९९३ साल । म त हुर्किसकेको रहेँछु आमाको गर्भमा । आमा मलाई जन्माउन खोज्नुहुन्थ्यो अरे – म जन्मिन हतारिँदै । रातभरीको त्यो मेरो हतार अनि आमाको शारीरिक र मानसिक पीडा । जीवन र मृत्युसँगको एकोहोरो लडाइँ – म कल्पना गर्न सक्दिँन । आमाले पनि कहिल्यै सुनाउनु भएन । त्यो पीडाको महशुश गर्न मलाई गाह्रो र कठिन छ । मात्र एउटा कुराको मनमा खटपट मच्चिन्छ – धेरै पटक, पटक पटक । के मैले आमालाई त्यति नै खुशी दिन सकेँ ? जति खुशीले आमाको प्रशव पीडा बिर्साउन सक्थेँ ।

म जन्मेपछि मेरो रुप र स्वास्थ्य देखेर आमालाई रातभरीको प्रशव पीडाको प्रेमिल याद मीठो भएको कुरा। कस्तो मातृत्व ? आमाहरुमा । आँफु मरेर जीवन छुट्याउँदा असीम खुशीहरु । आफ्नै मुटु टुक्रिएर अर्को असल मान्छे बन्दा कति गर्व ? कति प्राकृतिक शक्ति छ आमाहरुमा ? अदृष्य ईश्वरीय शक्ति, दैविक शक्ति- जननी जन्मभूमि जस्तै उर्वर प्रेम र दया, करुणा र मार्ग दर्शन, गुरु अनि संगी पनि मेरी आमा । सबैथोक मेरो लागि मेरी आमा ।

हो म संसार चिहाउँदैथिएँ । गोठका गाइबाच्छाहरु एक तमासले कराएका थिए अरे । पाङ्ग्रे नराम्रो धुन झिकेर रोइरह्यो रे । नजिकैको आँपबगानमा चराचुरुङ्गीको चिरबिर । बास बसेका रुप्पीहरु बाँसझ्याङमा कल्याङ कुलुङ गर्दैथिए अरे चर्को स्वरमा । गोठको पछिल्तिरको गुँडबाट पोथी बास्यो अरे । बुवा डराउनुभएछ- अपशकुन भएर । आमाले दुवै हातले गर्भ छोप्नुभयो रे । सास विस्तारै चल्दैथियो । बालाई आमाको चिन्ता, आमालाई गर्भको । खोपीमा तेल सकिएर धिप्री मधुरो हुँदैथियो ।

यता आमा बेथाले शिथिल । अचानक मेरो आगमन- आमा हलुको हुनुभयो । ‘बा’ ले धिप्री उचालेर मेरा अंगहरु नियाल्नुभयो – छोरो । भविष्य पोखेर मेरै अनुहारभरी सन्तोषको सुस्केरा काढ्नुभयो अरे । लाप्चादाईले बास्ने पोथी मारेर चपाइसकेछ । आमा पछिसम्म भन्नुहुन्थ्यो- पोथी बास्नु शकुन थियो त्यो । तर समाज अपशकुन भन्थ्यो अरे ।  हो म सुन्दर र सलक्क परेको छोरोको रुपमा आमाले काखमा समाउनु भयो अरे । म माइलो छोरोको रुपमा आमाको काखभरी खुत्रुक्क निदाएको थिएँ अरे – न्यानो ममतामा बेरिएर । म माथिका दुई दिदी र दाजुहरु पनि हुनुहुन्थ्यो । छेउमा फुपुले बालेको कराहिको आगो, परालको मुठा ओछ्याएर बनाएको आमाको ओछ्यान ।

भान्सा घरको न्यानो कुनो अनि मलाई हल्लाउन बनाएको बोराको सानो झोलुङ्गो । साँगुरो ठाउँमा कसिएर अटाएका, आमा सुनाउनु हुन्थ्यो – छैठौँका दिन नयाँ पाना लेख्ने कलम । संघारमा छिन्किएको खरानी ओछ्याएर डोकोले छोपेर भावी पर्खिएको कुरा । के लेख्ने हो सन्तानको भविष्य र भाग्य ? बुवाले पनि भावी आउने बाटो परैसम्म सफा गर्नुभयो रे । आमालाई धेरै चिन्ता थियो मेरो भाग्यको बारेमा । केहि नराम्रो पो लेख्ने हो कि ? आमाबुबा औधी खुशी देखिनुहुन्थ्यो रे । म सन्तोषी स्वभावको भएकाले आमालाई सजिलो थियो रे ।

तर एकदिन मेरो सन्तोषी स्वभाव म सँगै सुतेकी फुपुकी छोरीको छेउमा अनौठो प्रकारले छताछुल्ल भयो । घाममा सँगै सुताइएका हामी – साना साना आवाजले दिदी झस्कने, बिउँझने, रुने – अनि म निधाइरहने । बुवाको मनमा नराम्रो शंका पसेको थियो रे । तर आमाले शंका गर्नै मान्नु भएनछ । आमाको मनमा पैह्रो गयो, बुवाको मनमा बाढी । तर के गर्नु ? विधिको यस्तै रचना थियो । देवताको यस्तै देन थियो ।

आमाको सपना आँशु भएर सिकुवा भिजाउँदै गोठसम्म पुग्यो – मेरो भाग्य बहिरो भएछ – हो म लाटो रहेछु । आमा बेस्सरी रुनु भयो अरे । बुवाका छातीमा बज्र परे झैँ भयो अरे । दाजु दिदीहरुले राम्ररी बुझेनन् त्यो परिस्थिति । उनीहरु पनि सानै बालकै थिए होलान शायद । म मात्र लाटो भइँन- दु:ख त मलाई अलि बुझ्ने भएपछि मात्र लाग्यो । जब मेरी आमा लाटोकी आमा हुनुभयो । अनि मेरो बुवा लाटोको बाबु । म बोल्न चाहन्थेँ, सुन्न चाहन्थेँ,  चिच्याउँथेँ । तर एकतमासको चिच्याहट आउँथ्यो । शब्दहरु नबुझिने, नछुट्टिने । अनि कसैले नबुझ्ने । मलाई मेरी आमाले भावको इशारा सिकाउनुभयो । फेरिपनि आमासँग कहिल्यै हातको इशारा गर्नुपरेन । मेरो हेराइ र भावना आमा पढ्नुहुन्थ्यो । सजिलै बुझ्नुहुन्थ्यो- दोहोरो कुरा गरेजस्तै – मानौँ हामी बोल्दैछौँ ।

तर बुवाले भने मलाई हातको इशाराले कुरा सिकाउनुहुन्थ्यो । म बढ्दैगएँ, हुर्किँदै गएँ । हुर्किँदै गर्दा मेरा अरु दुइवटा भाइहरु पनि जन्मिसकेका थिए । अनि एउटी बहिनी । दाजु र भाइहरु बोल्न, सुन्नसक्ने थिए । उनीहरु किताव कपी चिन्न थाल्दैथिए । दाई पनि स्कुल जानुहुन्थ्यो । तर मलाई किन हो बुवाले गोठतिर लिएर जानुभयो । मैले बाच्छाका छेउमा छरिएका मसिना झिक्रा पन्छाउन सिकेँ । दुध दुहुने बाल्टी बुवाका छेउमा पुर्‍याइदिन सक्ने भइसकेको थिएँ । भाइहरु दाजुसँगै पढ्न सिक्दैथिए । मेरो गन्तव्य गोठ हुँदैथियो । उनीहरुले क ख चिने, मैले गोधुली, अंगुरी, लालु, तारी, पाडा र बाच्छीहरु चिनिसकेको थिएँ । त्यसैबेलादेखि मेरो र दाजुभाइको बाटोको रेखा, रहनसहनको परिधि, दिनचर्या फरक हुँदैथियो ।

 

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 11

प्रतिक्रिया (०)

सम्बन्धित खबर