Aamsanchar

जग्गा प्लटिङ कार्यनीति लागू भएन

Author Image
शनिवार, जेठ ६, २०७४

दमक।

झापाको दमक नगरपालिकाले पहिलो पटक जग्गा प्लटिङलाई ब्यवस्थित गर्नका लागि सम्बन्धी जग्गा प्लटिङ सम्बन्धि कार्यनीति बनाएर लागू गरेको बताए पनि यसको कार्यन्वयन नभएको पाइएको छ । ६ महिना अघिदेखि नै यसलाई लागू गर्ने भनेर कार्यनीति ल्याए पनि अहिलेसम्म एउटा पनि प्लटिङ यसको आधारमा नभएको पाइएको छ ।
जग्गा प्लटिङ गर्ने सम्बन्धित व्यक्ति वा संस्थाले दमक नगरपालिकाको ‘भवन तथा योजना मापदण्ड–२०६९’ र ‘बस्ती विकास, शहरी योजना तथा भवन निर्माण सम्बन्धी मार्गदर्शन–२०७२’ को भावना अनुरुपको प्लटिङ नक्सा प्राविधिकबाट तयार गरी नगरपालिकाले तोकेको निश्चित ढाँचाको फाराम भरी तोकिएको दस्तुर बुझाई पेश गर्नुपर्ने उल्लेख भएपनि अहिलेसम्म कसैले पनि यसका लागि अनुमति नलिएको नगरपालिकाका इञ्जिनियर अनन्त सेनेहाङले बताए ।
जग्गा प्लटिङ गर्दा मुख्य सडकबाट प्लटिङ गरिने जग्गासम्म जोड्ने बाटो अनिवार्य ३० फिट चौडाईको हुनुपर्ने र अन्य सबै बाटोहरु नाला बाहेक अनिवार्य २० फिट चौडाईको हुनुपर्ने उल्लेख भएकाले धेरै जग्गामा यसमा जाने भयले अनुमतिका लागि नआएको हुन सक्ने बताइन्छ । बाटो किनाउने परम्पराको अन्त्य
गर्दै जग्गा खरिद बिक्री गर्दा २० फिट बाटो फायल नक्सा मै कित्ता काट गरी नेपाल सरकारको नाममा चढाउनुपर्ने स्पष्ट रुपमा लेखिएको सेनेहाङको भनाइ रहेको छ ।
जग्गा प्लटिङ गर्दा जोखिम न्यूनीकरण तथा विपद व्यवस्थापन, वातावरण सन्तुलन तथा हरित नगरलाई समेत सम्बोधन गर्नेगरी न्यूनतम १५ प्रतिशत खुल्ला जग्गा राखी उक्त जग्गामा वृक्षरोपण, सार्वजनिक धारा निर्माण, सार्वजनिक शौचालय निर्माण, सार्वजनिक सूचना पाटी निर्माण, सार्वजनिक पुस्तकालय निर्माण, खेल मैदान निर्माण, बाल उद्यान, सार्वजनिक भवन आदि निर्माण गर्नु गराउनुपर्ने भएकाले अहिलेको जस्तो बिपद्मा यो अत्यन्त उपयोगि देखिएको पनि बताइएको छ । अव्यवस्थित प्लटिङका कारण बर्षामा दमकका ५ सयभन्दा बढी घर डुबानमा पर्ने गरेका छन् ।
नगरपालिकाका कार्यकारी अधिकृत युवराज दाहादका अनुसार प्लटिङ इजाजत लिए पश्चात प्रस्तावित स्वीकृत प्लटिङ नक्सा बमोजिम बाटो, ढल, विद्युत् पोल, तार, कल्भर्ट, खुल्ला जग्गा, हरियाली वृक्षरोपणसहितको सम्पूर्ण पूर्वाधार निर्माण कार्यको ५० प्रतिशत काम सम्पन्न भइसके पश्चात नपाको प्राविधिकबाट स्थलगत निरीक्षण गरी प्राप्त प्रतिवेदनको आधारमा नगरपालिकाले जग्गा खरिद बिक्रीको सिफारिस प्रक्रिया अघि बढाउने उक्त नीतिमा उल्लेख भएकाले अब यसलाई कडाइका साथ लागू गराइने छ ।
सार्वजनिक जग्गा एवम् साविकको कुलो, पैनी, खोल्सी, खहरे आदिलाई कित्तामा समावेश गरी प्लटिङ गर्न नपाइने नीतिमा रहेको छ । यो नीति अगाडि नै बनाईएको भए अहिले पैनी खोल्सा मिचेका कारण उत्पन्न डुबान समस्या नहुने दाहालको तर्क रहेको छ । अहिले दमकमा सबैभन्दा ठूलो हैरानी दीपेनी पैनी तथा खोल्सी मिचेर बनाइएको संरचनाले दिएको दाहालले बताए ।
चलिरहेको पैनी, खोल्सी, खहरे खोलाको पुरानो नक्सा बमोजिमको अधिकार क्षेत्र मिची प्लटिङ गर्न नपाइने उल्लेख भए पनि पुरानो के गर्ने भन्नेमा अन्योल रहेको छ । खोला, खहरे, होली आदि भएको ठाउँमा प्लटिङ गर्दा अनिवार्य खोलानालातर्फ नै बाटो बनाई खोलाबाट बस्ती सुरक्षित राख्न वृक्षरोपण गरी ग्रीन बेल्ट बनाउनुपर्ने शर्त नयाँ नीतिमा रहे पनि भइसकेकाको बिषयमा भने केही पनि उल्लेख छैन ।
नगरपालिकाका इञ्जिनियर भीम पौड्यालका अनुसार नगरपालिकाको कमजोरीका कारण नै अहिले दमक डुबानको उच्च जोखिममा रहेको र साना झरि पर्दा पनि पीचमा पानी बग्ने गरेको पाइएको छ । अब बिगतमा भएको कमजोरीबाट पाठ सिक्दै पुरानालाई पनि मापदण्डमा छिराउँदै नयाँलाई पूर्णरुपमा मापदण्डभित्र ल्याउन जरुरी रहेको बताउँछन् । नगरपालिकाले ल्याएको नीति समयानुकुल र व्यवहारिक भएकाले यसलाई लागू गर्नका लागि कुनै पनि हालतमा लाग्नुपर्ने उनको भनाइ छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 186

प्रतिक्रिया (०)

सम्बन्धित खबर