Aamsanchar

पुल निर्माणको काम सुस्त भएको स्थानीयवासीको गुनासो

Author Image
आइतवार, असार ४, २०७४

तेह्रथुम ।

जिल्लाको दक्षिण–पश्चिमी क्षेत्रमा अवस्थित छथर गाउँपालिकालाई सदरमुकाम म्याङ्लुङसँग जोड्ने म्याङ्लुङ–ओख्रे सडकखण्डको लम्बु खोलामा मोटरेवल पुल निर्माणको काम ढिलाइ हुँदा स्थानीयवासीलाई सास्ती भएको छ । एक वर्षअघि नै सक्ने गरी पुल निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीले सुस्त गतिमा मात्रै काम गरिरहेको छ ।

दुई वर्षअघि तत्कालीन जिल्ला विकास समितिले पुल निर्माणको जिम्मा हेटौँडाको सपना निर्माण सेवालाई दिएको थियो । एक वर्षभित्र सक्नेगरी रु पाँच करोड ९८ लाख ४७ हजार २६१मा कामको जिम्मा लिएको कम्पनीले अहिलेसम्म निर्माणको काम सकेको छैन । ठेक्का सम्झौताको म्याद गुज्रिएर दुईपटक म्याद थप गरिसक्दासमेत निर्माण कम्पनीले ६० प्रतिशत काममात्रै गरेको छ ।

निर्माणका लागि चाहिने सामग्री ढुवानी र वर्षाका महिनामा काम रोकिएकाले निर्माणको काम ढिलाइ भएको ठेकेदार कम्पनीले जनाएको छ । पुल निर्माणमा प्राविधिक सहयोग गरिरहेको स्विस सरकार विकास सहयोग एसडिसीअन्तर्गतको स्थानीय सडक पुल विकास कार्यक्रमका प्राविधिक अमरेन्द्र चौधरीले भन्नुभयो – “वर्षाका दिनमा काम रोकिन्छ, सडक क्षतिग्रस्त भएर खुल्न अरु केहिदिन लाग्छ, सामान ढुवानीमा समस्या भएर ढिलाइ भएको हो ।”
ठेकेदार कम्पनीका कारण पुल निर्माणमा ढिलाइ भएको ओख्रेका तुलसी तिगेलाले भन्नुभयो ।

यहाँका बासिन्दा पहिले धनकुटाको सिधुवा पुगेर मात्र कोसी राजमार्गबाट वसन्तपुर हुँदै सदरमुकाम म्याङ्लुङ आउने गरेका छन् । सडक निर्माण भए पनि खोलामा पुल नबन्दा अर्को जिल्ला घुमेर सदरमुकाम जानुपर्ने बाध्यता रहेको स्थानीयवासी गुनासो सुनाउँछन् ।

पुल नहुँदा सदरमुकाममा रहेका सरकारी कार्यालयका सेवा सुविधा लिन बासै बस्ने गरी जानुपर्ने अवस्था रहेको हमरजुङका वमप्रकाश लिम्बूले बताउनुभयो ।

पुल बनेपछि सो सडकखण्डबाट ओख्रे, सुदाप, फाक्चामारा, पञ्चकन्या, हमरजुङ, आङ्दिमलगायत गाउँका बासिन्दा लाभान्वित हुनेछन् । हाल यहाँका बासिन्दा सिधुवा–शुक्रबारे सडक भएर पूर्वी तराई र सदरमुकामतर्फ आवतजावत गर्छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 122

प्रतिक्रिया (०)

सम्बन्धित खबर