Aamsanchar

तलबबिना पढाउने शिक्षक प्रमुखका उम्मेदवार

Author Image
मङ्गलवार, असार ६, २०७४

(गोपालप्रसाद पोखरेल)

मोरङ।

कसैले तपाइँलाई बिना तलब काम गर भन्यो भने तपाइँ मान्नुहुन्छ ? शायद तपाइँ मान्नुहुन्न । तर यो मुलुकमा यस्ता पनि मानिस छन् । जो तलबै नलिइकन काम गर्छन् ।

तलबै नलिई विद्यार्थी पढाउने शिक्षासेवीको रुपमा शिक्षक राजकुमार लिम्बूलाई धेरैले चिन्ने गर्छन् र उहाँ बिना तलबै विद्यार्थी पढाउने गर्नुहुन्छ । बेलबारी बहुमुखी क्याम्पसमा उहाँ विसं २०६७ देखि बिना तलब निरन्तररुपमा बिबिएसमा व्यावसायिक अर्थशास्त्र विषय अध्यापन गराइरहनुभएको छ ।

हरेक मानिस आर्थिक उपार्जनको बाटो खोजेर पैसा कमाउने होडमा दौडिरहेका बेला राजकुमार लिम्बू भने “एक्लो बृहस्पति झुठो” बन्नुभयो र कलेजमा प्राध्यापन गरिरहनुभएको छ । कलेजमा प्राध्यापन गर्नु सम्मानित पेसा हो ।

हजारौँ प्राध्यापकले कलेजमा पढाइरहेका बेला उहाँले पढाउनु नौलो कुरा होइन तर पनि बिना तलब विगत आठ वर्षदेखि कलेज पढाउनु पक्कै नौलो कुरा हो । उहाँको पढाउने कला र दक्षताप्रति विद्यार्थी समेत नतमस्तक भएका छन् ।

क्याम्पसमा निःशुल्क पढाउनु चर्चित बन्नका लागि गरिएको नाटक मञ्चन त हैन नि ? भन्ने प्रश्नमा लिम्बूले आफ्नो भविष्यको लक्ष्यसमेत समाजसेवा भएका कारण आफू कहिल्यै त्यसो नगर्ने बताउनुभयो ।

उहाँको यस प्रकारको समाजसेवा हाम्रो समाजमा लोप भइसकेको छ । उहाँको समाजसेवालाई सलाम गर्नेको सङ्ख्या पनि कम छैन । यस प्रकारको समाजसेवाप्रति हामी पनि लाग्न सके समाज र राष्ट्रको समेत हित हुनसक्ने कुराप्रति कुनै दुईमत नहोला ।

दुईवटा विषयमा स्नातकोत्तर गरेका लिम्बूलाई यस क्षेत्रमा राजनीतिक र सामाजिक व्यक्तिका रुपमा नचिन्ने सायदै होलान् । पिता चन्द्रप्रसाद लिम्बू र माता कौशिल्यादेवी लिम्बूको पहिलो सन्तान राजकुमार लिम्बूको जन्म विसं २०२२ कात्तिक ६ गते धनकुटाको मौनाबुधुक गाविसमा तीन पुस्तके भन्ने ठाउँमा भएको थियो ।

उहाँले छ वर्षको उमेरदेखि शैक्षिक यात्रा सुरुवात गर्नुभएको हो । कक्षा ७ सम्म श्री बुधुक निमावि र त्यसपछि एसएलसीसम्म भानु मावि डाँडाबजारमा पढ्नुभयो । रोजगारीको सिलसिलामा करिब १० वर्षको जापान बसाईपछि नेपाल फर्किएर उहाँले सुकुना बहुमुखी क्याम्पसबाट दुईवटा विषयमा स्नाकोत्तर गर्नुभयो ।

बेलबारीको बसाइ सुरु भएपछि यो क्षेत्रमा क्रियाशील रुपमा काँग्रेसको राजनीतिमा होमिनुभयो । २०५७ सालमा नेपाल विद्यार्थी सङ्घको जिल्ला सदस्य बन्नुभयो । राजनीतिमा सक्रिय उहाँ २०५९ सालमा नेवि सङ्घको सहसचिव हुँदै २०६२ सालमा पार्टीको क्रियाशील सदस्य बन्नुभयो । २०६३ सालमा बेलबारी गाउँ कमिटिको सचिव र २०६७ सालदेखि गाउँ पार्टी सभापतिको रुपमा कार्य गर्नुभयो ।

मोरङको ग्रामीण क्षेत्रमा सफल प्राध्यापक र नेताको रुपमा समेत परिचित हुनुहुन्छ । स्थानीय निकायको निर्वाचनको सरगर्मी बढेको छ । पूर्वोत्तर मोरङको बेलबारी नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार हुनुहुन्छ, राजकुमार ।

उहाँले बेलबारीमा रहेको एकमात्र बेलबारी बहुमुखी क्याम्पसको निर्माणमा ठूलो रकम सहयोग गर्नुभएका उहाँ सो क्याम्पस सञ्चालक समितिको सदस्य भएर चार वर्ष अघिदेखि निरन्तर शिक्षा क्षेत्रमा सेवा गरिरहनुभएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 107

प्रतिक्रिया (०)

सम्बन्धित खबर