Aamsanchar

उम्मेदवार पुग्दा झस्कन्छन् चन्द्रलाल

Author Image
सोमवार, असार १२, २०७४

[सुरेन्द्र भण्डारी]
झापा।

दश वर्षे सशस्त्र द्वन्द्वका बेला धेरैले आफ्ना प्राण भन्दा प्यारा लालावाला गुमाए । कति टुहुरा बने । कति यौवनमा नै सिउँदो पुछिएर बाँचेका छन् । ती मध्येका एक पात्र जसले छोराको लालनपालन पाउनुपर्ने उमेरमा पुत्र वियोगको नमीठो सम्झनामा हररात गुजार्नु परिरहेको छ ।
झापाको वाह्रदसी गाउँपालिका–२ राजगढका ७९ वर्षीय बृद्ध चन्द्रलाल रिजालले आफ्नो छोरो युद्धविरामपछि गुमाए । आफ्नै धर्मपत्नीको मृत्युको पीडाले उत्पन्न आँशु नसुक्दै चन्द्रलालले आफ्नो मुटुको टुक्रालाई पनि गुमाउनु प¥यो ।
परिवर्तनको लागि जंगल छिरेको तत्कालीन नेकपा माओवादी युद्धको राप र तापले धेरै नेपाली सेकिए । तिनकै जाँतोमा पिँधिएका प्रतिनिधि पात्र चन्द्रलालले छोरो मात्र गुमाएनन्, समाजमा त्रासको पहाड बोकेर बाँच्नुपरिरहेको छ । छोरोको मृत्युपछि उनीसँग छ त केवल रोग, भोक र शोक मात्र ।
स्थानीय निकायको निर्वाचन संघारमै आइपुग्दा चन्द्रलाल जस्ताहरुलाई चिन्ता छ त केवल आफ्नो भविष्यको । बुढेसकालमा सहारा देला भन्ने छोरो गुमाएपछि चन्द्रलाल अहिले स्थानीय निकायको निर्वाचनका लागि भोट माग्न कोही उम्मेदवार पुग्नासाथ झस्कन्छन् । अनि भक्कानिन्छन् पनि ।
तत्कालीन राजगढ गाविस वार्ड नम्वर–५मा स्थायी घर भएका केशव रिजाल ‘सेवन’ उपनामले परिचित पार्टीको एरिया सेक्रेटरी थिए । उनलाई २०६१ साल कात्तिक ३० गते घैलाडुब्बा गाविसको वार्ड नम्वर ८ स्थित खाडी वस्तीमा मोटरसाइकलमा हिँडिरहेको अवस्थामा नेपाली सेनाले गोली हानी हत्या गरेको थियो । उनीसँगै थिए दिनेश पौडेल । उनको पनि नेपाली सेनाले गोली हानी हत्या गरेको थियो । केशवको हत्यापछि चन्द्रलालको भविष्य अँध्यारो भयो ।
मेची क्याम्पस भद्रपुरमा अध्ययनका लागि पठाएको छोरालाई नेपाली सेनाले माओवादीको एरिया सेक्रेटरी भएको दावी गर्दै गोली हानी हत्या गरेपछि उनको भविष्य अँध्यारो भएको हो । उनी अहिले सहाराविहीन अवस्थामा रोग, भोक र शोकसँगै दिनचर्या गुजार्दैछन् ।

आर्थिक अवस्था अत्यान्त न्यून भएका चन्द्रलालले भएको जायजेथाको आँगन र करेसाको जमिन पनि छोराको स्मृतिमा मन्दिर निर्माणार्थ दान गरेका छन् । सोही जमिनमा उनले अहिले अस्थायी प्रकृतिको मन्दिर निर्माण गरी रात दिन छोराको तस्वीरमा माल्यार्पण गर्दै विभिन्न देवी देवताको पूजाअर्चना गर्दैछन् ।
छाक टार्नपनि धौं–धौं पर्ने चन्द्रलाल अहिले ७९ वर्षको उमेरमा बनीबुतो गर्न विवस छन् । जग्गा बेचेर ८० हजार रुपैयाँसहित पढ्न पठाएको छोरो क्रान्तिकारी विद्यार्थी संगठनमा लागेर माओवादी भएको जतिबेला उनले थाह पाए त्यतिवेला छोरो जीवित थिएन ।
छोराको निधनपछि उनको स्मृतिमा २०६२ सालमा आँगनमा निर्माण गरिएको मन्दिरमा अहिले उनी बिहान, दिउँसो र साँझ तीनपटक धुपबाती गर्छन् । छोराको आत्माले शान्ति पाओस् भन्दै उनी अहिले पनि दिनहुँ मन्दिरमा बाती बाल्ने गर्छन् । जेठो छोरो सँगै रहे पनि माइलो केशव जस्तो बाठो छैन– उनले भने– केशवको मृत्युपछि मेरो हात नै भाँचिएको छ । कान्छो काठमाडौं बस्छ, त्यसको केही सहारा नै छैन । बुढेसकालमा म एक्लै मृत्युसँग संघर्ष गरेर दिन काट्दैछु– चन्द्रलालले भने ।
हुन त चन्द्रलालका तीन छोरा र ३ छोरी हुन् । तीन छोरा मध्ये केशवको हत्यापछि जीवनाथ–कल्पनासँग म बस्छु, कान्छो अम्बिका र बुहारी पविता काठमाडौंमा छन्– उनले भने –‘कान्छी छोरी बाहेक सबैको विवाह भइसक्यो । मेरा छोरीहरु जेठी ठमा, माइली इन्दिराको विवाह भइसकेको छ, कान्छी मन्दिरा हो ।’ ऊ पनि अहिले रोजगारीको सिलसिलामा पश्चिम नेपालमा बस्छे गहभरिको आँशु पुच्छ्दै चन्द्रलालले भने– सरकारले द्वन्द्वपीडितका नाममा एक लाख रुपैयाँ त दियो तर त्यो रकम पनि सबै मेरो हातमा परेन ।’
छोराले विवाह गरेको रहेछ, बुहारीलाई ५० हजार दिनै प¥यो, दुई हजार नेपाल बैंकको खातामा छ, ४८ हजार छोराको नाममा मैले पाएँ तर सद्गति र किरिया खर्च नै पुगेन– उनले भने । आईए पढ्दापढ्दै उसकी आमा मरी– उनले बिगत सुनाउँदै भने– ‘वरखी वार्दा सेता लुगा लगाउँथ्यो, एकपटक घर आएको थियो, माओवादी भएको रहेछ, मलाई थाह नै थिएन, सेनाले गोली हानेर मारेपछि मात्र मैले थाह पाएँ ।’
हुन त चन्द्रलाल समाजका एक उदाहरणका पात्र मात्र हुन् । उनी जस्ता सयौंको पीडा अझै पनि यस्तै छ । स्थानीय निकायको निर्वाचनका लागि प्रत्येक उम्मेदवार द्वन्द्वपीडितका घरमा विकासे नारा लगाएर भोट माग्न पुग्छन् । त्यत्तिबेला उनीहरुको मानसपटलमा पुराना कुरा आउने गरेको बताउँछन्– राजगढका युवा व्यवसायी दीपक श्रेष्ठ ।
उनी भन्छन्– ‘राज्यले जति सहयोग र राहत दिए पनि ज्यान भन्दा ठूलो केही हुँदो रहेनछ ।’ केशव राजगढका नै गहना थिए । उमेरमा म भन्दा अग्रज भएर पनि हामीलाई विकासका कुरा सिकाउँदा सिकाउँदै उनको मृत्यु भयो । उनको मृत्युलाई परिवारले कसरी बिर्सन्छ, हामीले त बिर्सन सकिरहेका छैनौं ?
स्थानीय निकायको निर्वाचनमा भोट माग्दै द्वन्द्वपीडितको घरमा पुग्दा चन्द्रलालको मात्र होइन धेरैको मन भक्कानिएको मैले देखेको छु– राजगढका अर्का स्थानीयवासी शेखर कोइरालाले भने । परिर्वतनका नाममा हामीले के पायौं त बाबु ? धेरैको एउटै प्रश्न हुन्छ– शेखरले भने ।
चन्द्रलाल पनि हरेक उम्मेदवारलाई यही सोद्छन् र भन्छन् मान्छे मार्नु नै परिवर्तन हो त ? होइन भने मर्ने त मरी गयो वेपत्ता नागरिकलाई राज्यले अझै किन सार्वजनिक गर्दैन ? कि त सास देऊ कि त लास देऊ ? चन्द्रलाल भन्छन्– दुबै दिन नसके मृत घोषणा गरेर वेपत्ता नागरिकलाई मृत्युको सूचीमा राखीदिए भइहाल्छ नि !
द्वन्द्वकालको समयमा २ सय ४८ जना झापामा मारिएका थिए । त्यस्तै १७ जना अझै वेपत्ता छन् । ३६ जना अंगभंग भएको शान्ति समिति झापाको तथ्यांकमा उल्लेख छ । ४८ घर परिवार पूर्ण रुपमा विस्थापित बनेका छन् भने जनयुद्धका समयमा ३० दिनमाथि ३८४ जनाले कैद तथा हिरासतमा बस्न बाध्य भएका छन् ।
विस्तृत शान्ति सम्झौता पछि सरकारले द्वन्द्वकालमा मारिएकाहरुलाई ५ लाख रुपैयाँ तीनपटक गरेर उपलब्ध गराएको छ भने वेपत्ता परिवारलाई पनि तीन किस्तै गरेर रकम उपलब्ध गराएको छ । घाइते तथा अंगभंग बनेकालाई तीन वटा श्रेणीमा वर्गीकृत गर्दै राहत रकम प्रदान गरेको छ । शान्ति समिति झापाका कुमार फुयाँलका अनुसार अंगभंग बनेका मध्ये विशिष्ठ श्रेणी, प्रथम श्रेणी र दोस्रो श्रेणीको ग्रेड छुट्याएर सरकारले राहत उपलब्ध गराएको छ ।
विशिष्ठ श्रेणीका घाइते तथा अंगभंग हुनेले जति प्रतिशत अंगभंग भएको हो, सोको दोब्बर रकम र जीवन निर्वाहका लागि भत्ता स्वरुप मासिक १२ हजार रुपैयाँ प्राप्त गर्दै आएका छन् । यो शरीरको अंगभंग भएको ७५ प्रतिशत भन्दा माथिकाले पाउने रकम हो । फुयाँलले भने प्रथम श्रेणीमा ५१देखि ७५ प्रतिशतसम्मका अंगभंग र घाइतेले जीवन निर्वाह स्वरुप ६ हजार रुपैयाँ र अंगभंग प्रतिशतको दोब्बर रकम राहत स्वरुप पाउने गरेका छन् भने ५० प्रतिशतसम्म अंगभंग भएका जनयुद्धका घाइते तथा अपाङ्गले एकमुष्ठ एक लाख रुपैयाँ क्षतिपूर्ति स्वरुप पाउँदै आएका छन् ।

सशस्त्र द्वन्द्वका समयमा मारिएका केशव र दिनेशको स्मृतिमा झापाको घैलाडुब्बा–८स्थित खाडीवस्तीमा गौरीशंकर खड्काले चौतारो निर्माण गरिदिएका छन् । उनीहरु दुबैले शहादत प्राप्त गरेको स्थानमा स्व. खड्काले उनीहरुको सम्झनामा चौतारो निर्माण गरिदिनु बाहेक अरु केही सहयोग नगरेको चन्द्रलालको आरोप छ । न त पार्टीले ग¥यो, न त सरकारले नै हे¥यो– चन्द्रलालले भने मर्ने त मरिगयो, बाँच्नेलाई पनि मरे तुल्य बनायो यो सरकारले ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 148

प्रतिक्रिया (०)

सम्बन्धित खबर