काठमाडौं,
नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको ३५ औं स्मृति दिवस शुक्रबार मनाइँदैछ । नेपाली कांग्रेसका संस्थापक कोइराला २०१५ सालको आमचुनावमा कांग्रेसले दुई तिहाइ बहुमत ल्याएपछि पहिलो जननिर्वाचित प्रधानमन्त्री बन्नुभएको थियो ।
उहाँले नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनीतिक नेतृत्व प्रदान गर्नुभयो । तर दुई वर्ष काम गर्न नपाउँदै तत्कालीन राजा महेन्द्रले जननिर्वाचित संसद अपदस्त गरेपछि उहाँले लामो समय निर्वासन र जेलमा बिताउनुपरेको थियो ।
पछि उहाँ विदेशमा बसेर देशका लागि लड्नुभन्दा देशभित्रकै सबै शक्ति बिचको एकता महत्वपूर्ण हुने भन्दै राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्किनुभएको थियो । उहाँले प्रवर्द्धन गरेको प्रजातान्त्रिक समाजवाद र मेलमिलापको नीति अहिलेपनि सान्दर्भिक मानिन्छ ।
आफ्नो प्रधानमन्त्रीकालमा उहाँले गाउँको विकास, भूमिसुधार र सामन्तवाद अन्त्य गर्न विभिन्न नीतिगत योजना निर्माण र कार्यान्वयन गर्नुभएको थियो । विपी स्मृति दिवसका अवसरमा कांग्रेस, भ्रातृ संस्थाले विभिन्न कार्यक्रम गर्दैछन् । विपी कोइरालाको २०३९ साउन ६ गते निधन भएको थियो ।
उहाँले नेपाली साहित्यका क्षेत्रमा पनि महत्वपूर्ण योगदान पु¥याउनुभएको छ । नेपाली साहित्यमा मनोवैज्ञानिक यथार्थवादी धाराका प्रवर्द्धक कोइरालाका डेढ दर्जन कृति प्रकाशित छन् ।
कोइरालाका ‘तीन घुम्ती’, ‘मोदी आइन’, ‘हिटलर र यहुदी’, ‘सुम्निमा’, ‘नरेन्द्रदाइ’ र ‘बाबु, आमा र छोरा’ गरी ६ वटा उपन्यास प्रकाशित छन् ।
त्यसैगरी दुई कथा सङ्ग्रह ‘श्वेत भैरवी’ र ‘दोषी चश्मा’ प्रकाशित छ । यस्तै सुन्दरीजल बन्दी गृहमा बस्दाको दैनिकीमा आधारित आत्मवृतान्त ‘जेल जर्नल’ प्रकाशित छ ।