Aamsanchar

अन्धुवाले धार परिवर्तन गर्दा खेत बाँझै

Author Image
सोमवार, साउन ९, २०७४

बिर्तामोड।

अन्धुवा खोलाले धार परिवर्तन गरेपछि बाह्रदशी गाउँपालिकाको अधिकांश खेतीयोग्य भूभाग सिञ्चाईको अभावमा बाँझिएको छ । साविक चकचकी–७ बुधवारे नजिकैबाट सञ्चालन हुँदै आएको अन्धुवा खोला सिञ्चाई आयोजना खोलाले धार परिवर्तन गरेपछि पूर्ण रुपमा बन्द भएर बाह्रदशी गाउँपालिकाको अधिकांश खेतीयोग्य जमिन बाँझिएको हो ।

विगत ५ बर्षदेखि पैनी सञ्चालन हुन नसक्दा किसानले पम्पसेट र मोटर प्रयोग गरे खेती गर्दै आएका थिए । तर, यस बर्ष समयमा पानी नपरेका कारण पम्पसेट र मोटरबाट लगाएको पानी समेत क्षणभरमै सुक्न थालेपछि किसानको खेत बाँझिएको बाह्रदशी गाउँपालिका–५का भरत ओलीले बताए । अन्धुवा खोला सिञ्चाई आयोजना सञ्चालन हुँदा बाह्रदशी गाउँपालिकाको अधिकांश भू–भाग सिञ्चित हुन्थ्यो– उनले भने– ५ बर्षयता पानीको अभावमा किसानले समयमा खेती गर्न पाएका छैनन् ।
खोलाको धार परिवर्तन भएसँगै खोला एकातिर, नहर अर्कातिर भएको छ, जसका कारण यहाँका किसानलाई सिञ्चाई गर्न समस्या उत्पन्न भएको छ– स्थानीय केशव उप्रेतीले भने । पटक–पटक सिञ्चाई आयोजनाको नहर मर्मतको माग गर्दै गाविसदेखि जिल्ला विकास समितिसम्म र सिञ्चाई डिभिजन कार्यालय चन्द्रगढीसम्म धाएपनि आफूहरुको माग सुनुवाई नहुँदा आकाशको भर पर्नु परेको उप्रेतीको भनाइ छ ।
अन्धुवा खोला सिञ्चाई आयोजनाबाट बाह्रदशी गाउँपालिकाको साविक चकचकी–७, राजगढ ५, ६ र ८ नम्बर वडामा सिञ्चाई हुँदै आएको थियो । समयमा काम गर्न नसकेर बजेट फ्रिज भएर जान्छ तर सम्बन्धित किसानको आवाज नसुन्दा वास्तविक किसान सँधै मर्कामा पर्दोरहेछ– स्थानीय दिवाकर भट्टराईले भने । आफूले मोटरबाट सिञ्चाई गरेर खेती गरेको दुःखेसो पोख्दै उनले भने– सिञ्चाई गरेको एक घण्टा वित्न नपाउँदै पानी सुक्छ, सिञ्चाई गरेको अर्थै रहँदैन । रातभरि रुँगेर मोटर र पम्पसेटबाट पानी पटाएर खेतमा लगायो, बिहान उठ्दा कमिला कुद्दै हुन्छ– भट्टराईले भने ।
आफ्नो एक विगाहा खेत मोटर लगाएर धान रोपेको बताउँदै भरत ओली भन्छन्– खडेरीका कारण रोपेको गाबो समेत मर्न थाल्यो, पानी आउँदैन, पैनीको पानी लगाउँ भने पैनी सञ्चालन नभएको ५ बर्ष भयो, बनाउनेतर्फ कसैको ध्यान जाँदैन, जसका कारण म मात्र होइन, यस क्षेत्रका सयौं किसान मर्कामा परेका छन् ।
झापामा सिञ्चाई अभावका कारण अझै पनि पूर्ण रुपमा रोपार्इँ हुन सकेको छैन ।

कूल खेती योग्य जमिनको ६५ प्रतिशत मात्र रोपाइँ भएको जिल्ला कृषि विकास कार्यालय झापाको तथ्यांकमा उल्लेख छ । जिल्ला कृषि विकास कार्यालय झापाका प्रमुख प्रकाश डाँगीका अनुसार समयमा बर्षा नभएका कारण साउनको पहिलो सातासम्ममा ६५ प्रतिशत मात्र रोपाइँ भएको छ । आकाशे पानीको भर पर्ने ठाउँमा वीऊ नै सुक्न लागेको बताइन्छ ।
झापामा ३८ हजार ७ सय ४० हेक्टर क्षेत्र सिञ्चित, १२ हजार ८४ हेक्टर अर्ध सिञ्चित र बाँकी आकाशे पानीको भरमा रोपाइँ हुने गरेको छ । धानको पकेट क्षेत्र मानिने झापामा वार्षिक दुई सिजनमा धान रोपाइँ हुन्छ । झापामा विशेषगरी रञ्जित, राधा–१२, सुख्खा १ र ३, मनसुली लगायतका धान रोप्ने गरिएको छ । झापामा करिब आधा दर्जन धान रोप्ने मेसिनबाट धान रोपाइँ भइरहेको जनाइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 211

प्रतिक्रिया (०)

सम्बन्धित खबर