भद्रपुर।
बैदेशिक रोजगारीमा जाने झापाका युवा मेनपावर व्यवसायी र एजेन्टबाट ठगिने क्रम अझै नरोकिएको बताइएको छ ।जिल्ला समन्वय समिति बैदेशिक रोजगारी लागि सुरक्षित आप्रावासन (सामी) परियोजना झापाले बुधवार आयोजना गरेको पत्रकारहरुसँगको बार्षिक समीक्षा कार्यक्रममा यस्तो बताइएको हो ।
झापामा १२ वटा मेनपावरले दर्ता प्रक्रियामार्फत व्यवसाय सञ्चालन गरे पनि दर्जनौ मेनपावर र त्यसका एजेण्टबाट युवाले ठगिनु परेको बैदेशिक रोजगारी लागि सुरक्षित आप्रावासन (सामी) परियोजनाका संयोजक हरि मैनाली बताए ।
सरकारले फ्रि भिसा र फ्रि टिकट लागू गरेपछि मेनपावर व्यवसायीले तोेकेको १० हजार लिनुपर्नेमा त्यस रकम भन्दा १० गुणा बढी रकम असुल्दै आएको संयोजक मैनालीले आरोप लगाए । जिल्ला प्रशासन कार्यालयमा स्थापना गरिएको यस परियोजनामा गत आर्थिक बर्ष २०७३÷०७४ मा मेनपावर व्यवसायी र त्यसका एजेन्ट विरुद्ध ९१ वटा उजुरी परेको थियो । उजुरी परेको मध्ये ४१ जनालाई न्याय दिलाउन सफल भएको छ ।
त्यसमध्ये १२ जनालाई पासपोर्ट र १६ जनाको ४२ लाख १२ हजार रकम फिर्ता दिलाउन सफल भएको मैनालीको भनाइ छ । प्रशासन कार्यालयमा पासपोर्ट लिन आएका मध्ये परियोजनाले गत बर्ष २ हजार ८ सय २२ महिला र ५ हजार ६ सय २२ पुरुष गरी ८ हजार ५ सय चार जनालाई सूचना र परामर्श प्रदान गरेको छ ।
त्यस्तै झापा र सुनसरीको बैदेशिक रोजगारी क्षेत्रलाई हेर्ने डीपीसीका कोपिला दाहालले झापा जिल्ला बैदेशिक रोजगारीमा जाने नेपालको दोस्रो जिल्लाको रुपमा रहेको छ । झापाबाट बैदेशिक रोजगारीमा जाने महिलाको संख्या उल्लेख्य रहेको बताउँदै उनले अझै पनि ठगिने र पीडित बन्ने घटना नरोकिएको बताए । बैदेशिक रोजगारी विभाग बाहेक अन्य निकायलाई कार्वाही गर्ने अधिकार नरहेकोले झापाका युवा ठगिँदै आएको उनको भनाइ छ । उनले पीडित बनेका युवालाई न्याय खोज्न महंगो पर्ने गएकोले पनि मेनपावर व्यवसायीले यसको फाइदा उठाइरहेको बताए ।
झापामा मासिक ३ सय ९५ जना महिला बैदेशिक रोजगारीमा जानलाई पासपोर्ट बनाउन आउने गरेको तथ्यांकमा रहे पनि बार्षिक १ हजार १ सय ८७ जनाले श्रम स्वीकृति लिएको देखिन्छ । अन्य महिला कुन बाटो र कहाँबाट विदेश जाने थालेका छन् यसले राज्यलाई चुनौति थपिदिएको उनको भनाइ छ ।
कार्यक्रम नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष तारामणि सापकोटाको प्रमुख आतिथ्य तथा स्थानीय विकास अधिकारी खेमराज ओझाको अध्यक्षतामा भएको थियो ।