Aamsanchar

झापाका प्रचलित नाम गुमनाम बन्दै

Author Image
शनिवार, साउन १४, २०७४

[सुरेन्द्र भण्डारी]
बिर्तामोड।

झापामा पटक–पटक बोलिने र प्रचलित धेरै ठाउँका नामहरु यतिबेला गुमनाम झैं बनेका छन् । स्थानीय निकायको पुनर्संरचनापछि १५ वटा स्थानीय तहमा झापा खुम्चिएपछि जिल्लामा प्रचलित धेरै ठाउँका नाम गुमनाम बनेका हुन् ।
ऐतिहासिक, धार्मिक, जातीय, विविध महत्व र पहिचान बोकेका ती नामहरु अहिले अत्यन्त कम्ती मात्र प्रयोग हुने थालेका छन् । बोलिचालीमा पनि ती नाम ओझेलमा पर्दै गएको अनुभूति स्थानीयले गर्न थालेका छन् । राजवंशी भाषामा टाघन शब्दको अर्थ अग्लो घोडा वा स्त्री अथवा टाँगा भन्ने बुझाउँछ । यस अर्थले यस स्थानको त्यसबखत कुनै ठाउँमा अग्ली स्त्री वा घोडा डुबेको ठाउँ रहेको गाउँ टाघनडुब्बा हो । यही शब्दलाई प्रयोग गर्दै टाघनडुब्बा गाविस नामकरण गरिएको थियो । तर, यो नाम यतिबेला गुमनाम झैं बनेको छ ।
टाघनडुब्बा गाविस अहिले झापा गाउँपालिकामा गाभिएको छ । त्यस्तै झापा गाउँपालिकामा कुमरखोद गाविस पनि गाभिएको छ । स्थानीय भाषामा कुमार शब्दको अर्थ कुमाल अर्थात् आफ्नो पेशा अनुसार कुमालहरुले त्यहाँ माटो खनेर आफ्नो पेशामा प्रयोग गरिएको गाउँ कुमारखोद र यसलाई आधारमान्दै कुमरखोद गाविस नामकरण गरिएको थियो । कुमरखोद पनि बोलीचालीबाट हराउँदै गएको छ ।
झापा गाउँपालिकामा शरणामती गाविस पनि गाभिएको छ । बिक्रम सम्वत् १९९०को आसपास यस क्षेत्रका जमिन्दार शरनलाल राजवंशी र उनकी श्रीमती मतीमर्दनी भएकोमा पति–पत्नीका नाम शरणामतीबाट यो ठाउँको नाम शरणामती रही कालान्तरमा शरणामती गाविस रहेको यसको इतिहास हो । शरणामती पनि गुमनाम बन्दै गएको छ । यी तीन वटा गाविस मिलाएर झापा गाउँपालिका बनाइएपछि यी तीनै ठाउँको नाम गुमनाम बनेको हो ।
तत्कालीन झापा झापा जिल्लाको सदरमुकाम हो । पहिला झापा जिल्लाको सम्पूर्ण प्रशासनिक कार्य मोरङ गोश्वाराले हेर्ने गर्दथ्यो । पछि उक्त मोरङ गोश्वारा हालको कुमरखोद गाविस अन्तरगत पर्ने झापा गाउँमा सारियो । जुन गाउँ हाल पनि कुमरखोद गाविसमा रहेको झापा बजार नामले चिनिन्छ । तसर्थ त्यस झापा गाउँको नामबाटै कालान्तरमा यस ठाउँ (जिल्ला)को नाम झापा रहन पुग्यो । झापा जिल्लाका आदिवासी जाति राजवंशीहरूको राजवंशी भाषामा झापाको अर्थ ढकनी वा विर्को भन्ने अर्थ लाग्ने र शताब्दिऔदेखि वन जंगलबाट ढाकिएको वा छोपिएको हुँदा यस ठाउँको नाम झाप बाट झापा रहन गएको भनाइ छ ।
टाघनडुब्बा, शरणामती र कुमरखोद गाविसका स्थानीयबासीले गुमेको आफ्नो ठाउँको नाम फिर्ता पाएकोमा गर्व गरेका छन् । बारम्बार जनजिब्रोमा झुण्डिएको गाविसको नाम बिर्सनु परे पनि उनीहरु खुशी छन् ।
बारम्वार समाचारका डेटलाइन बन्ने यी र यस्तै गाविस तथा नगरपालिकाको इतिहास आ–आफ्नै छ । जनजिब्रोमा झुण्डिएको गाविस र नगरपालिकाको नाम स्थानीय तहको संख्या र नाम परिर्वतनसँगै परिर्वतित भएका छन् । झापा गाउँपालिकाका सर्वसाधारण आफ्नो पुरानो सदरमुकामको नाम फिर्ता भएकोप्रति खुशी छन् भने अन्य स्थानका सर्वसाधारणलाई भने केही खल्लो महशुस भएको बताउँछन् ।
पुरानो सदरमुकामका रुपमा रहेको कुमरखोद झापा गाउँपालिका भएको प्रति साविक टाघनडुब्बा–२ हाल झापा गाउँपालिका–४का मोहितलाल कामती औधी खुशी छन् । उनी भन्छन्– ‘हाम्रो पुरानो सदरमुकाम यही थियो, खोसेर गएको नाम फिर्ता भएको छ, म यसैमा खुशी छु । सदरमुकाम नभए पनि झापा गाउँपालिकामा परिणत हुँदा मलाई मात्र होइन, यहाँका अधिकांश सर्वसाधारण खुशी छन्’– मोहितले भने ।
‘बाह्रदशी गाउँपालिकाको पशुपति माविका खरिदार समेत रहेका उनी नाम परिर्वतनले सरकारी कामकाजका लागि केही समय अल्मल्याउने भए पनि आफूहरु झापा गाउँपालिका हुँदा गौरवान्वित भएका छौं’– कामतीले भने ।यता साविक घेराबारी–३ हाल कचनकवल गाउँपालिका–१का सत्यनारायण यादव भन्छन्– ‘ठाउँको नाम परिवर्तन हुँदा केही अप्ठ्यारो हुँदोरहेछ । ओठे शब्दका रुपमा रहेको आफ्नो ठाउँको नाम परिवर्तन भएर कचनकवल गाउँपालिका हुँदा टाढाको शब्द उच्चारण गरेको महशुस हुन्छ’ –उनले भने ।
उनी साउथ दीप एकेडेमीका प्रिन्सिपल समेत हुन् । सरकारी कामकाजमा केही क्षण नाम परिवर्तनले अल्मल्याउने गरेको उनको भनाइ छ । साविक गोलधाप गाविसका स्थानीयवासी तेजप्रसाद रेग्मी भन्छन्– ‘भनिरहेको गोलधापको नामकरण हल्दिबारी गाउँपालिकाको पछाडि झुण्ड्याउँदा खल्लो महशुस हुँदोरहेछ ।

अहिले म बसेको ठाउँ हल्दिबारी–१ भएको छ ।’ आफू साविक राजगढ गाविसको सचिव भएको र अहिले राजगढ गाविस बाह्रदशी गाउँपालिकामा समाहित भएसँगै सरकारी कामकागजमा कसैले केही काम लिएर आए ठेगाना सोधे गाउँपालिकाको नाम भन्दा केही समय उक्त ठाउँ पत्ता लगाउन नै समस्या हुन्छ’– उनले भने । केही समयपछि नाम परिवर्तनले खासै असर नपारे पनि तत्कालीन समयमा नाम परिवर्तनको असर हुने गरेको उनको भनाइ छ ।
त्यस्तै कनकाई खोला गहिरिएर सुरुङ जस्तो बाटो बनाई बगेको कारणले यो गाउँको नाम सुरुङ्गा बनेको हो । यही नामबाट सुरुङ्गा गाविसको नामकरण गरिएको थियो । अहिले सुरुङ्गा कनकाई नगरपालिकामा समाहित भएको छ । झापाका १५ वटा स्थानीय तहको नामकरण गर्ने क्रममा नेपाली कांग्रेस झापाका निर्वतमान उपसभापति देउमान थेवेले कनकाई नदीको नामबाट यस नगरपालिकाको नामकरणको प्रस्ताव गरेका थिए । सोही प्रस्ताव पारित भएसँगै कनकाई नगरपालिका नामकरण भएको छ । पूर्वकै प्रमुख तीर्थस्थलका नाममा कनकाई माईलाई पुज्ने गरिएकाले यस ठाउँको नाम सुरुङ्गाबाट कनकाई नगरपालिका बनाइएको हो– थेवेले भने ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 367

प्रतिक्रिया (०)

सम्बन्धित खबर